
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६२ हजार ७ सय ४६ जनालाई वैदेशिक रोजगारीका लागि श्रम स्विकृति दिएको जनाएको छ । सोमबार साप्ताहिक रिपोर्ट जारी गर्दै पुनः, नयाँ र वैधानिककरण गरी कोरोना महामारीदेखि २९ माघसम्म ६२ हजार ७ सय ४६ जनाले श्रम स्विकृति लिएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार पुनः श्रम स्विकृतितर्फ सबैभन्दा बढी ३९ हजार ८ सय २४ जनाले श्रम स्विकृति लिएका छन् । पुनः श्रम स्विृकतिपछि २० हजार ६ सय १८ जनाले नयाँ श्रम स्विकृति लिएको मन्त्रालयले रिपोर्टमा उल्लेख गरेको छ ।
त्यस्तै, वैधानिकरणतर्फ २ हजार ३ सय ४ जनाले श्रम स्विकृति लिएका छन् । यसरी पुनः, नयाँ र वैधानिकरण गरी कुल ६२ हजार ७ सय ४६ जनामध्ये कति पुरुष÷महिलाले श्रम स्विकृति लिए भन्ने बारेमा रिपोर्टमा उल्लेख गरिएको छैन ।
यसैगरी ५ सय ४ गैरनेपाली नागरिकलाई नयाँ श्रम स्विकृति दिएको पनि मन्त्रालयले रिपोर्टमा उल्लेख गरेको छ । मन्त्रालयको रिपोर्टअनुसार ५ सय ८३ गैरनेपालीको श्रम स्विकृति नवीरकण पनि गरिएको छ ।
एक हप्तामा १९ हजारभन्दा बढी फर्किए
कोरोनालगायत समस्यामा परेका १९ हजार ५ सय २ नेपालीको एकै हप्तामा उद्धार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको साप्ताहिक रिपोर्टअनुसार २२ माघदेखि २९ माघसम्म उनीहरूको उद्धार गरिएको हो ।
मन्त्रालयका अनुसार कोरोनालगायत समस्यामा परेका २ लाख ७८ हजार ३ सय ५४ जनाको उद्धार गरिएको छ ।
विदेशबाट कोरोना महामारीले रोजगार गुमारएर फर्किदै गर्दा नेपालमा भने बेरोजगारको ग्राफ ह्वात्तै बढेको छ । ७ लाख ४३ हजार १ सय ६२ नेपालीले बेरोजगारको सूचीमा आफ्नो नाम दर्ता गराएको मन्त्रालयले जनाएको छ ।
बेरोजगार दर्ता गराएकामध्ये कतिले रोजगार पाए भन्ने सन्दर्भमा मन्त्रालयले कुनै विवरण समावेश गरेको छैन । त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रअन्तर्गत १६ हजार ५ सय ६२ जनाले रोजगार पाएको मन्त्रालयले जनाएको छ ।