
काठमाडौं– पछिल्लो समय ‘भिजिट भिसा’का नाममा गैरकानुनी ढंगले विदेश काम गर्न पठाइएको प्रमाणहरू फेला परेपछि अध्यागमन विभागले ०६५ को अध्यागमन कार्यविधि संशोधन गर्न गृह मन्त्रालयलाई प्रस्ताव गरेको छ । म्यानपावर, ट्राभल एजेन्सी र शैक्षिक परामर्शदाताले भिजिट भिसाका नाममा विदेशमा काम गर्न पठाएको प्रमाण पाइएपछि कार्यविधि संशोधन गर्न भनि मन्त्रालयलाई प्रस्ताव पठाएको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।
उनले प्रभाव दैनिकसँग भने, ‘कोरोनाको समयमा यस्ता विकृति खुबै देखिए । कोरोना महामारीकै समयमा हामीले धेरैलाई विमानस्थलबाटै फर्कायौँ पनि । यसकारण कानुनविपरीत भिजिट भिसामा खाडी मुलुक गएको देखिएकाले त्यस्तो प्रवृत्ति रोक्न हामीले कार्यविधि संशोधनको प्रस्ताव मन्त्रालयलाई पठाएका हौँ ।’
विशेषगरी भिजिट भिसामार्फत नेपाली महिला खाडी मुलुकमा जाने गरेको र जोखिममा परेको निष्कर्ष निकाल्दै भिजिट भिसामा कडाइ गर्न लागिएको उनले बताएका छन् । उनका अनुसार विभागले गृह मन्त्रालयमा कार्यविधि संशोधनको प्रस्ताव पठाएको छ र मन्त्रालयले स्विकृति गर्न पत्र दिएको खण्डमा तत्काल नियम लागू गरिनेछ ।
कार्यविधि संशोधनमा के छ ?
म्यानपावर, ट्राभल एजेन्सी र शैक्षिक परामर्शदाताको पन्जामा परेर भिजिट भिसामार्फत काम गर्न नेपाली महिलाहरू जाँदा जोखिमै जोखिमै देखिएपछि भिजिट भिसासम्बन्धिको अध्यागमनको कार्यविधि संशोधन गर्न लागिएको हो । मन्त्रालयलाई पठाइएको संशोधन प्रस्तावमा एक्लै विदेश जानुपरेको अवस्थामा ४० वर्षभन्दा मुनिका महिलाको हकमा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने उल्लेख छ ।
विभागका महानिर्देशक केसीका अनुसार प्रस्तावमा विदेश जानेहरूको हकमा १५ लाखको बिमा र एक हजार डलर अनिवार्य लिएर जानु पर्ने प्रस्ताव गरिएको छ । विदेश जाने महिलाहरू जोखिममा नपरुन भन्ने उद्धेश्यले नयाँ नियम ल्याउन एक साता अघि २०६५ को भिजिट भिसासम्बन्धि व्यवस्थालाई संशोधन गर्न मन्त्रालयलाई विभागले प्रस्ताव पठाएको उनले बताए ।