
काठमाडौं– वैदेशिक रोजगारीमा गई फर्केर स्वदेशमा उद्यमै गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि आवेदन दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माग गरेको छ । ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, ०७६’ बमोजिम योग्यता पुगेकाहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि आवेदन दिन मन्त्रालयले सोमबार माग गरेको हो ।
मन्त्रालयका अनुसार विदेशबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेकाहरूलाई योगदानको कदर स्वरूप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको हो ।
मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, ०७६’ को अनुसूची–२ अनुसारको आवेदन फारम भरी खामबन्दी गरेर पठाउन सकिन्छ ।’ आवेदन आउ“दो १९ माघभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा स्क्यान गरी मन्त्रालयको इमेल ठेगानामा पठाउनुपर्ने जनाइएको छ ।
आवेदनका लागि आवश्यक योग्यता
मन्त्रालयका अनुसार श्रमिक भिसामा विदेश गई कम्तिमा पनि एक वर्ष काम गरी फर्किएका र विगत ५ वर्षभित्र मन्त्रालयबाट उक्त प्रकारको पुरस्कार प्राप्त नगरेकाले सम्मान तथा पुरस्कारका लागि आवेदन दिन सक्नेछन् । तर, विदेशमा कम्तिमा पनि एक वर्ष काम नगरी फर्किएका र विगत ५ वर्षभित्र मन्त्रालयबाट यस प्रकारको पुरस्कार प्राप्त गरेकाहरूले भने आवेदन दिन नसक्ने जनाइएको छ ।
योग्यता पुगेका आवेदकले आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्विकृतिको प्रतिलिपि, भिसासहितको राहदानीको प्रतिलिपि पेस गर्नुपर्नेछ सूचनामा उल्लेख छ । यस्तै व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ.व. ०७६÷७७ को करचुक्ता प्रमाणपत्रका प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणासहित आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।
आवेदनका फाराम भर्नका लागि मन्त्रालयको वेबसाइटबाट फाराम भर्न सकिने मन्त्रालयले जनाएको छ । साथै, आवेदनमा कुनै समस्यामा भएमा थप जानकारीका लागि सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।