
काठमाडौं– वैदेशिक रोजगार कार्यालय, ताहचलले सोमबारदेखि श्रम स्विकृति दिने जनाएको छ । केही दिनअघि कार्यालयका एक कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएपछि बन्द रहेको सेवा सोमबारदेखि पुनः सुचारु हुने ताहाचल कार्यालयले जनाएको छ ।
कार्यालयबाट दिइने सेवा भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तब्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीहरूको समस्यालाई मध्यनजर राखी १९ गते सोमबारबाट सावधानीपूर्वक सिमित सेवा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
ताहाचल कार्यालयले जनाएअनुसार तत्काल रोजगारीमा जानु नपर्नेहरूलाई अबको दुई हप्तासम्म श्रम स्विकृतिका लागि आवेदन दिइने छैन ।
कार्यालयमा एक कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएपछि सबै कर्मचारीको पिसिआर परीक्षण गरिएको र कर्मचारीको रिपोर्ट आउँन बाँकी रहेको कार्यालय जनाएको छ । हाललाई अत्याश्यक भएकालाई मध्यनजर गर्दै प्राथमिकता दिने गरी सिमित सेवा दिन लागिएको कार्यालयले जनाएको छ ।
साथै, कर्मचारीहरूको पिसिआर रिपोर्ट आएपछि थप के गर्ने भन्ने विषयमा निर्णय हुने पनि कार्यालयले जनाएको छ । साथै, कार्यालय सुचारु भएसँगै आउने सेवाग्राहीहरूले सामाजिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धि सुरक्षाका अन्य मापदण्डको पालना अनिवार्य रूपमा गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।
कार्यालयका अनुसार सामाजिक दूरी कायम गर्न कार्यालय परिसरमा लगाइएको गोलो चिह्नमा रहेर मात्र सेवा लिनुपर्ने छ । यसका साथै, सोपूर्व साबुन पानीले हात धुन अनिवार्य गरिएको कार्यालयले जनाएको छ ।