
दोहा– ओमानले १ अक्टोबर अर्थात १५ असोजदेखि नेपालीसहित विदेशी आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने भएको छ । ओमानस्थित नेपाली दूताबासका अनुसार ओमानको कोभिड–१९ सम्बन्धी सर्वोच्च समितिको २२ सेप्टेम्बरको निर्णयअनुसार अक्टोबरबाट लागू हुने गरी नेपाललगायत विदेशबाट ओमान फर्किन सक्ने भएका हुन् ।
दूताबासका अनुसार ओमान फर्किन चाहने कामदारहरूले साबिकमा लिनुपर्ने परराष्ट्र मन्त्रालयबाट जारी हुने एप्रुभल लेटर लिन नपर्ने जनाएको छ । ६ महिना (१८० दिन) भन्दा बढी अवधि ओमानबाहिर रहनेहरूको हकमा कम्पनीले आउन अनुमति दिएको कागजात नो अब्जेक्सन लेटर लिएर मात्र ओमान प्रवेश गर्न पाइने दूताबासले जनाएको छ ।
ओमान सरकारको यो निर्णयसँगै अब विभिन्न समयमा बिदामा नेपाल गएका तथा कोरोनाका कारण प्रतिबन्ध लगाएपछि रोकिएर बसेका नेपाली कामदारहरू ओमान फर्किन पाउने भएका छन् । अहिले ओमानबाट भिसा सकिएका र विभिन्न कारणले रोजगारी गुमाएका नेपालीहरू चार्टर्ड उडानमार्फत स्वदेश फर्किरहेका छन् । यो समाचार तयार पर्दासम्म १ हजार ४ नेपाली स्वदेश फर्किसकेको दूताबासले जनाएको छ ।