- एकजुट भएर लड्ने व्यवसायीहरुको प्रतिबद्धता
काठमाडौं- वैदेशिक रोजगार व्यवसायीहरुले एकाधिकार (सिण्डिकेट)को अभ्यास गर्नेहरुलाई कारबाहीको दायरामा नल्याएसम्म व्यवसायीले सुख नपाउने बताएका छन् । मंगलबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आयोजना गरेको सिण्डिकेटविरुद्धको खबरदारी भेला एवं हस्ताक्षर संकलन कार्यक्रममा सहभागी व्यवसायीहरुले आपसमा एकताबद्ध हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले केही दिनपछि आन्दोलन साम्य हुन्छ र चलखेल गर्न पाइन्छ भन्ने सपना नदेख्न सिण्डिकेट पक्षधरलाई चेतावनी दिए । मलेसियाको एफडब्ल्युसिएमएस प्रणालीभित्र परेका २५ म्यानपावर व्यवसायीले केही दिनपछि हामी गरिखान्छौं भन्ने सपना देखेको भए त्यो त्याग्न गुरुङले आग्रह गरे । त्यस्तै, एकाधिकार ल्याउन खोज्नेहरुले अन्य २५० व्यवसायीको पनि नाम राख्दै सूची तयार गरेर व्यवसायीहरुको एकता भाँड्ने असफल प्रयास गरेको उनको भनाइ छ ।
‘हामी मर्न तयार छौं । मर्न लागेको व्यक्तिले के-के गर्छ भनेर तपाईंहरु नै बुझ्नुहोस्,’ उनले भने, ‘२५० जनाको संख्यामा २४४ औं नम्बरमा मेरो संस्थाको नाम पनि राखेको रहेछ । उनीहरु यति बाठो कि उनीहरुको विरोध गर्ने सबैको नाम हालेर सीधासाधा व्यवसायीहरुलाई कन्फ्युज्ड बनाउने काममा लागिरहेका छन् ।’ एफडब्ल्युसिएमएसमा सूचीकृत संस्थाहरुले अन्य व्यवसायीलाई एजेन्ट बनाउन लागिरहेकाले कसैको एजेन्ट नबन्नसमेत गुरुङले आग्रह गरे ।
लोकतान्त्रिक एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरेले एउटा श्रमिकले केही रुपैयाँ बढी लियो भन्ने उजुरी दिँदा व्यवसायीको एलटी बन्द गर्ने सरकारले व्यवसायलाई संकटग्रस्त बनाउने गतिविधि भइरहँदा पनि निर्णायक कदम चाल्न नसकेको भन्दै आलोचना गरे । ‘एउटा श्रमिकले ५० रुपैयाँ बढी लियो भनेर उजुरी गर्दा हाम्रो एलटी बन्द हुन्छ । तर यत्रो संकटको घडीमा सरकारले आजसम्म निर्णायक कदम चाल्न सकेको छैन । यसले व्यवसायीमा थप आशंका पैदा गरेको छ,’ गैरेले भने ।
त्यस्तै, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावलले आफूले मञ्चभित्र रहेका सिण्डिकेटधारीलाई निष्कासन गरेको जानकारी दिँदै लोकतान्त्रिक एसोसिएसनलाई पनि संस्थाको शुद्धीकरण गर्न सुझाव दिए । ‘हामीले सिण्डिकेटधारीलाई डाँडा नकटाउँदासम्म सुख पाउने छैनौं । मैले सफाइ कार्यक्रम सुरु गरेँ,’ रावलले भने, ‘लोकतान्त्रिक एसोसिएसनभित्र पनि अपराधीहरु छन् भने राखेर मलजल नगर्नुहोस् । अहिले बढार्ने बेला आएको छ ।’
व्यवसायीहरु विभाजित भए व्यवसाय गर्न सक्ने अवस्था नभएकाले एकताबद्ध भएर बेथितिविरुद्ध लाग्न रावलले जोड दिए । सरकारले समयमै निर्णय गर्न नसके ठूलो संकट निम्तने उनको भनाइ थियो । वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डेले मलेसिया रोजगारीमा एकाधिकार भित्रिए भोलि अन्य मुलुकको रोजगारीमा पनि यस्तै अवस्था निम्तने हुँदा चुप लागेर बस्ने अवस्था नरहेको बताए । एकाधिकार ल्याउन खोज्नेहरुलाई छ महिनासम्म काम गर्न नसक्ने बनाउनपर्ने उनको भनाइ छ ।
‘थाहै नपाइकन नाम आउने २५ जना व्यवसायी कति भाग्यमानी ? ती २५ व्यवसायीको छ महिना एलटी बन्द गर्नुपर्छ । उनीहरुका चलअचल सम्पत्तिलाई सम्पत्ति शुद्धीकरण, अख्तियारलगायतका निकायमा पठाउनुपर्छ,’ पाण्डेले भने । एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले सिण्डिकेटधारीहरु नेताहरुकहाँ धाइरहेको जानकारी पाएको बताए । अहिलेको सरकारबाट यस्ता क्रियाकलाप गर्नेहरु बच्न नसक्ने भन्दै आफ्ना गतिविधि सच्याउन सचेत गराए । ‘तपाईंहरुको आफ्नै घरमा सुरक्षित हुनुहुन्न । तपाईंहरु अझै नेताहरुकोमा धाउनुहुँदै छ भन्ने सुनेको छ । त्यसले केही हुँदैन,’ उनले भने, ‘मलाई पूर्णविश्वास छ, यो सरकारले सिण्डिकेट ल्याउनेलाई कुनै हालमा समर्थन गर्ने छैन ।’
कार्यक्रममा एकाधिकारविरुद्ध दबाब दिन व्यवसायीहरुको हस्ताक्षर संकलन गरिएको थियो । संकलित हस्ताक्षरलाई संघमार्फत सरकारलाई बुझाउने एसोसिएसनका महासचिव सुमनराज पाण्डेले बताए ।