- संवादबाट समस्याको निकास निकल्ने सरकारको जवाफ
काठमाडौं- नीतिगत सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका वैदेशिक रोजगारी व्यवसायीहरुले आजदेखि सबै काम कारबाही बन्द गर्ने भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरका इजाजतपत्र प्राप्त संस्था (म्यानपावर)को सबै काम कारबाही बन्द हुने जानकारी दिएको हो ।
व्यवसायीहरुकोोतर्फबाट दिइएको १५ बुँदे माग सम्बोधनका लागि सरकारले ठोस कदम नचालेकाले पूर्वघोषित कार्यक्रमअनुसार आजदेखि सबै काम ठप्प पार्ने संघको भनाइ । संघले सरकारलाई नीतिगत सुधारका लागि दबाब दिने उद्देश्यले साउन २२ गते राति १२ बजेदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि श्रम स्वीकृति लिने काम बन्द गरेको थियो । यसबीचमा वैदेशिक रोजगार विभागमा धर्ना दिने, कालोपट्टी बाँधेर काम गर्नेलगायतका शान्तिपूर्ण कार्यक्रम आयोजना गरेर सरकारलाई दबाब दिने काम संघले गरेको थियो । तर सरकारले आफूहरुको मागको कुनै सुनुवाइ नगरेपछि थप संघर्षमा उत्रन बाध्य भएको संघका प्रथम उपाध्यक्ष एवं संघर्ष समितिका संयोजक महेशकुमार बस्नेतले बताए । सरकारकोतर्फबाट निकास नआउँदासम्म आन्दोलन नरोकिने उनको भनाइ छ ।

आइतबार राति १२ बजेदेखि कुनै पनि उडान नगर्ने भनेर यसअघि नै सबै व्यवसायीलाई भनिसकेका छौं । आजदेखि सबै कार्यालय बन्द गरेर काम कारबाही, उडान सबै रोकिन्छ ।
महेशकुमार बस्नेत
संयोजक, संघर्ष समिति
‘आइतबार राति १२ बजेदेखि कुनै पनि उडान नगर्ने भनेर यसअघि नै सबै व्यवसायीलाई भनिसकेका छौं । आजदेखि सबै कार्यालय बन्द गरेर काम कारबाही, उडान सबै रोकिन्छ,’ उनले भने, ‘यसबीचमा सरकारसँग सामान्य समन्वय भएको छ । तर ठोस निर्णय नआउञ्जेल हाम्रो आन्दोलन रोक्दैनौं ।’
संघले गत साउन ७ गते आयोजना गरेको व्यवसायी भेलामा सहभागीहरुले यस्तो प्रतिकूल अवस्थामा व्यवसाय सञ्चालन गर्न नसकिने बताएका थिए । व्यवसाय बन्द गरेर सरकारलाई आफ्ना माग राख्न व्यवसायीहरुको माग थियो । भेलाको म्याण्डेटबमोजिम संघले अन्तिम प्रक्रियामा रहेका श्रमिकमात्र पठाउन व्यवसायीलाई आह्वान गर्दै सरकारलाई आफ्ना माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम दिएको थियो । विशेषगरी वैदेशिक रोजगार विभागको कारबाहीले आक्रान्त भएको व्यवसायीले बताएका थिए । तर त्यहीबीचमा विभागले थप ३९ र १२४ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेपछि व्यवसायीहरु थप रुष्ट भएका थिए । सोही सन्दर्भमा संघले पत्रकार सम्मेलन गरेर भदौ १ गतेदेखि वैदेशिक रोजगारसम्बन्धी कुनै पनि काम नगर्ने घोषणा गरेको थियो ।

शुक्रबार व्यवसायीहरुसँगको कुराकानी सकारात्मक भएको छ । सोमबार ११ बजे पनि छलफलमा बोलाएका छौं । यही छलफलबाट समस्या टुंग्याउने प्रयास गर्छौं ।
पिताम्बर घिमिरे
प्रवक्ता, श्रम मन्त्रालय
यद्यपि, केही व्यवसायीहरुले भने संघको आह्वानविपरीत विज्ञापन प्रकाशन गर्ने, अन्तर्वार्ता सञ्चालन गर्ने पाइएको थियो । संघले काम गर्दा उत्पन्न हुने अवस्थाको जिम्मेवारी सम्बन्धित व्यवसायीले लिनुपर्ने बताउँदै आएको छ । अन्दोलनलाई थप सशक्त बनाउन तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलको संयोजकत्वमा १० वटा उपसमिति पनि गठन गरिएको संघले जनाएको छ । संघमा आबद्ध घटक, जातीय तथा क्षेत्रीय संघसंस्थाका १०१ जना व्यवसायी राखेर अनुगमन समिति गठन गरिएको संघर्ष समितिका संयोजक बस्नेतले बताए । आजदेखि अनुगमनलाई तीव्र पारिने र संघको निर्णय विपरीतका गतिविधि गरे कारबाही गरिने उनको भनाइ छ ।
संघको आन्दोलनमा नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ, वैदेशिक रोजगार व्यवसायी संघ रूपन्देही, जनकपुर र कास्की, वैदेशिक रोजगार इथिकल ओरियन्टेसन राष्ट्रिय संघलगायत विभिन्न संस्थाले ऐक्यबद्धता जनाएका छन् ।
‘व्यवसायीहरुसँग संवादमै छौं, चाँडै निकास निकाल्उँछौं’
म्यानपावर नै बन्द गरेर वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि सरकारले व्यवसायीसँग संवाद थालेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले व्यवसायीसँग निरन्तर संवादमै रहेको र चाँडै समाधान निकालिने बताए ।
‘शुक्रबार उहाँहरुसँगको कुराकानी सकारात्मक भएको छ । सोमबार ११ बजे पनि छलफलमा बोलाएका छौं,’ घिमिरेले भने, ‘यही छलफलबाट यो टुंग्याउने प्रयास गर्छौं । बेलुकीसम्म एउटा समाधानमा पुग्छौं ।’ व्यवसायीका माग धेरै रहेकाले चारबद्धरुपमा कार्यान्वयन गर्दै जाने उनको भनाइ छ । ‘उहाँहरुका धेरै माग छन् । ती मागहरु कार्यान्वयन हुने चरणमै छ भनेर उहाँहरु जानकार हुनुहुन्छ । जायज माग सम्बोधन हुनुपर्छ भन्ने हामीले पनि चाहेको हो । दुई-चार दिन ढिलोचाँडो हुनसक्छ,’ प्रवक्ता घिमिरेले भने ।
व्यवसायीहरुले राख्दै आएको कारबाही फिर्ताको विषय कानुनी पाटो भएकाले व्यवसायीले बुझ्नपर्ने उनको भनाइ छ । सेवा शुल्क निर्धारण गर्नेसम्बन्धी प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको पनि प्रवक्ता घिमिरेले जानकारी दिए ।