सजगता कुनै नयाँ फेसन वा केवल उपचार विधि होइन । यो हजारौं वर्षदेखि विकसित भएको चेतनाको अनुशासन हो । यसले मानिसलाई प्रतिक्रियात्मक जीवनबाट उत्तरदायी र सचेत जीवनतर्फ डोर्याउँछ । आधुनिक विज्ञानले यसको उपयोगितालाई प्रमाणित गरेको छ, तर यसको पूर्ण अर्थ तबमात्र प्रकट हुन्छ जब यसलाई नैतिकता, विवेक र आत्मबोधसँग जोडेर बुझिन्छ । यसैले सजगता भनेको पूर्वीय दर्शन र आधुनिक विज्ञानबीचको एक सशक्त सेतु हो, यसले मानिसलाई बाह्य प्रगति र आन्तरिक परिपक्वताको सन्तुलन कायम राख्ने मार्गमा डोर्याउँछ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सन् २०२१ मा प्रकाशित तथ्यांकअनुसार विश्वमा एक अर्बभन्दा बढी मानिस पागलपन, डिपे्रसन, चिन्ता, वाइपोलार डिसअर्डर, हाइपर एक्टिभिटीजस्ता कुनै न कुनै मानसिक समस्याका साथ गुज्रिरहेका छन् । यो संख्या विश्वको कूल १४ प्रतिशत हुन आउँछ । यसमा पनि पुरुष (पुरुष १३ प्रतिशत) भन्दा महिलाको संख्या (१४.८ प्रतिशतं बढी रहेको देखिन्छ । यस्तो समस्या नेपालमा पनि डरलाग्दो तरिकाले बढ्दै गएको देखिन्छ । डब्लुएचओले नेपालमा करिब २२ लाख व्यक्ति विभिन्न मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको प्रक्षेपण गरेको छ । संगठनका अनुसार चारमध्ये एक युवा र पाँचमध्ये एक बालबालिका कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् ।
मानव समाजमा रहेको तीव्र अस्वस्थ्य प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैली, आर्थिक, सामाजिक असुरक्षा, सामाजिक दबाब तथा व्यक्तिगत सम्बन्धहरूमा देखिने असहमतिजस्ता समस्याका कारण समाज हरेक खालका मानसिक समस्याले ग्रसित छ । मानिसमा अनावश्यक महत्वाकांक्षा, आधुनिकीकरणको सामाजिक प्रभाव, आर्थिक लाभका लागि मानिसले अपनाउने उपायहरु, लागुऔषध दुव्र्यसनी, यौन हिंसा, सामाजिक हिंसा, विभेदजस्ता सामाजिक हितविरुद्धका कार्यले मानव समाजलाई नकारात्मक बाटोतर्फ डोर्याउँदै लगेको पाइन्छ । परिणामस्वरुप मानिसहरूमा दिन प्रतिदिन मानसिक तनाव, चिन्ता, अवसादजस्ता मानसिक समस्या तीव्ररूपमा बढिरहेका छन् ।

डब्लुएचओका अनुसार मानसिक स्वास्थ्य आजको प्रमुख चुनौतीको रूपमा देखापरेको छ । यस्तो मानसिक स्वास्थ्यको चुनौतीलाई न्यूनीकरण गर्न र मानव समाजलाई सकारात्मक दिसातर्फ अगाडि बढाउन पूर्वीय दर्शन विशेषगरी बौद्ध दर्शनले प्रस्तुत गर्ने मनको सजगताको अवधारणाले प्रभावकारी मार्ग प्रस्तुत गर्दछ । बौद्ध सजगताका सिद्धान्तहरूले आधुनिक संसारमा कसरी प्रभावकारीरूपमा तनाव कम गर्न र समग्र कल्याणलाई बढावा दिन सक्छन् भन्ने बताउँछ । बौद्ध शिक्षाहरूमा आधारित सचेतना अभ्यास आधुनिक समाजमा परेको प्रभावलाई परीक्षण गर्दै, तनाव व्यवस्थापन, भावनात्मक नियमन र सामान्य स्वास्थ्यका लागि प्रभावकारी काम गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ । बौद्ध दर्शनमा प्रस्तुत मनको सजगताले प्राचीन पूर्वीय ज्ञान र आधुनिक पश्चिमी विज्ञानको मिलनले आधुनिक जीवनको व्यस्तता र मानसिक तनाव व्यवस्थापनमा एक शक्तिशाली आधार प्रदान गरेको छ ।
बौद्ध दर्शनमा मनको सर्वोच्च स्थान
बौद्ध दर्शनमा मन सजगताको दृष्टिकोणबाट आधुनिक मनोवैज्ञानिक तनावको समाधानलाई बुझ्न सकिन्छ । बौद्ध दर्शनमा मन अथवा चित्तको विशेष महत्व छ । बुद्ध स्वयंले भनेका छन् ‘संसार त्यो हो जो हामीले आफ्नो मनमा देख्ने गर्छौं ।’ धम्मपदको प्रथम पदमा लेखिएको छ, ‘सबै कुराभन्दा अघि मन हुन्छ, सबै कुरालाई मनले डोर्याएर लान्छ, सबै कुरालाई मनले बनाउने गर्छ ।’
बौद्ध धर्ममा मनलाई सबै कुरा बुझ्ने र अनुभव गर्ने मुख्य आधार मानिन्छ । आजको आधुनिक समाजमा मानिसहरूको जीवनशैली अत्यन्त व्यस्त र प्रतिस्पर्धात्मक बनेको छ । अहिलेको यो प्रतिस्पर्धात्मक समाजमा मानिसहरू धेरै तनाव, चिन्ता र मानसिक दबाबमा जीवन व्यतीत गरिहेका छन् । कामको दबाब, आर्थिक चिन्ता, सामाजिक अपेक्षा र व्यक्तिगत समस्याहरूका कारण धेरै मानिसहरू मानसिक तनाव, चिन्ता र अवसाद (डिप्रेसन)जस्ता समस्याबाट जुधिरहेका छन् ।
मानिसको जीवन अहिले यति धेरै व्यस्ततामा बितेको छ कि समय निकालेर एकछिन पनि आफ्नो समाज, परिवार र सन्ततिका विषयमा सोच्ने फुर्सद पनि हुँदैन । अनि ऊ समाज, परिवार, आफन्त र सन्ततिबाट विस्तारै टाढिँदै गएको पत्तै पाउँदैन । जतिबेला उसले यस विषयको महसुस गर्छ परिस्थिति धेरै फरक भइसकेको हुन्छ । अनि उसमा तनाव, चिन्ताको अवस्था बढ्दै मानसिक समस्यामा पुग्दछ । र, मानिसमा एञ्जाइटी, डिप्रेसनलगायतका अनेकन मानसिक समस्या उत्पन्न हुन्छ ।
आधुनिक समाजमा तनावको प्रमुख कारण मानिसमा भविष्यको चिन्ता र विगतमा गरिएका क्रियाकलाप या विगतमा गर्न नसकेका काममा अनावश्यक पछुतो हो । मानिसले विगतमा गरेका क्रियाकलाप न त पछुतो मानेर सुधार्न सक्छ न विगतमा गर्न नसकेका कामलाई पूरा गर्न सक्छ । तर, मानिसहरू प्रायः वर्तमान जीवनलाई कसरी सकारात्मक र सुन्दर बनाउने नभई या त विगतका घटनामा अल्झिएका हुन्छन् वा भविष्यको अनिश्चितताबारे चिन्तित हुन्छन् ।
आधुनिक समाजमा तनावपूर्ण जीवन व्यतीत गरिरहेका मानिसलाई सजगताका माध्यमबाट तनाव, चिन्ता र मानसिक दबाबबाट मुक्त हुने सजगताको अभ्यास उत्तम रहेको कुरा बौद्ध दर्शनमा उल्लेख छ । सजगताको अभ्यासले मानिसलाई वर्तमान क्षणमा केन्द्रित गराउँछ, जसले अनावश्यक चिन्ता र तनाव कम गर्न मद्दत गर्दछ । यस्तो अभ्यासले जीवनलाई कसरी सकारात्मक र सुन्दर बनाउने भन्ने मार्गनिर्देश गर्दछ ।
सजगता कुनै नयाँ फेसन वा केवल उपचार विधि होइन । यो हजारौं वर्षदेखि विकसित भएको चेतनाको अनुशासन हो । यसले मानिसलाई प्रतिक्रियात्मक जीवनबाट उत्तरदायी र सचेत जीवनतर्फ डोर्याउँछ । आधुनिक विज्ञानले यसको उपयोगितालाई प्रमाणित गरेको छ, तर यसको पूर्ण अर्थ तबमात्र प्रकट हुन्छ जब यसलाई नैतिकता, विवेक र आत्मबोधसँग जोडेर बुझिन्छ । यसैले सजगता भनेको पूर्वीय दर्शन र आधुनिक विज्ञानबीचको एक सशक्त सेतु हो, यसले मानिसलाई बाह्य प्रगति र आन्तरिक परिपक्वताको सन्तुलन कायम राख्ने मार्गमा डोर्याउँछ ।
सजगता वा सम्यक् स्मृति
बौद्ध दर्शनका अनुसार सजगता भनेको वर्तमान क्षणमा विनाकुनै निर्णय आफ्नो विचार, भावना, शारीरिक संवेदना र वरपरको वातावरणप्रति पूर्ण सचेतता राख्नु हो । यो केवल ध्यानको एक प्रकारमात्र नभएर बरु जीवन जिउने एउटा उत्तम तरिका हो । बुद्ध दर्शनमा सजगता आर्य अष्टांगिक मार्गको एक आधारस्तम्भ हो, जसलाई सम्यक् स्मृति भनिन्छ । सतिपट्ठान सुत्तमा सजगताका चार आधार तय गरिएको छ । यसलाई विपश्यनाका आधार पनि मान्न सकिन्छ । यिनको सजगतापूर्वक अवलोकन नै दुःख निवृत्तिको प्रत्यक्ष मार्गका रूपमा वर्णन गरिएको छ । बौद्ध दर्शनमा सजगतालाई चार प्रमुख प्रकारका रुपमा उल्लेख गरिएको छ ।
१) कायानुपस्सनाः आफ्नो शरीरलाई बुझ्ने । आफ्नो शरीरका हरेक क्रियाकलापहरू (जस्तैः श्वासप्रश्वास, हिँडडुल, बसाइ, उठाइ) प्रति पूर्णरूपमा सजग रहनु नै कायानुपस्सना हो ।
२) वेदनानुपस्सनाः यसले वेदना अर्थात् शरीर र मनमा उत्पन्न हुने सुखद्, दुःखद् वा उदासीन वेदनाहरूमा आशक्ति नराखी तटस्थ भएर नियाल्नुपर्ने कुराको वकालत गर्दछ ।
३) चित्तानुपस्सनाः मनको अवस्थालाई संकेत गर्दछ । आफ्नो मनको वर्तमान अवस्था कस्तो छ (जस्तैः मनमा क्रोध छ कि शान्ति, चञ्चलता छ कि एकाग्रता) भनी स्पष्टरूपमा चिन्नु र होस राख्नु नै चित्तानुपस्सना हो ।
४) धम्मानुपस्सनाः यसअन्तर्गत धम्म तत्व निरीक्षण पर्दछन् । मनमा आउने विचारहरू, पञ्च विकार र चार आर्य सत्यजस्ता आध्यात्मिक सत्यहरूलाई प्रज्ञा र विवेकका साथ बुझ्नु नै धम्मानुपस्सना हो ।
पूर्वीय दर्शनमा मनको सजगताको लक्ष्य मुक्ति र आत्मबोध हो, जबकि आधुनिक विज्ञानमा यसको लक्ष्य प्रायः कल्याण, उत्पादकत्व र मानसिक स्वास्थ्यमा सीमित देखिन्छ तर दुवै दृष्टिकोणबीच गहिरो समानता पनि छ । यस सदर्भमा बुद्ध दर्शनले दुःखको मूल कारण अविद्या र तृष्णा ठान्छ, त्यहाँ आधुनिक मनोविज्ञानले दुःखको कारण स्वचालित नकारात्मक सोच र अनियन्त्रित भावनात्मक प्रतिक्रिया ठान्छ । यसर्थ, आधुनिक विज्ञान मनसजगताको प्रभाव पुष्टि गर्ने साधन हो भने परम्परागत दर्शन यसको अन्तिम उद्देश्य स्पष्ट गर्ने आधार हो ।
आधुनिक विज्ञानले माइण्डफुलनेसलाई मुख्यतः स्नायुविज्ञान र मनोविज्ञानको दृष्टिकोणबाट अध्ययन गरेको छ । जोन कबाट जिनजस्ता विद्धानले विकास गरेको सचेतनतामा आधारित तनाव न्यूनीकरण वा मनोयोगमा आधारित तनाव व्यवस्थापन कार्यक्रमपछि यस क्षेत्रमा वैज्ञानिक अनुसन्धान तीव्र भएको देखिन्छ ।
परम्परागत सजगता र आधुनिक मनोविज्ञान
बौद्ध दर्शनमा सजगताको दृष्टिकोण र आधुनिक मनोवैज्ञानिक तनाव व्यवस्थापनको समाधान खोज्दा केही गम्भीर समस्या र चुनौतीहरू पनि देखापरेका छन् । आधुनिक मनोविज्ञानले सजगतालाई यसको मूल नैतिक र दार्शनिक आधारबाट अलग गरेर केवल एउटा प्रविधिको रूपमामात्र प्रयोग गरिरहेको छ । बौद्ध दर्शनमा सजगता अर्थात् सम्यक् स्मृतिलाई अष्टांगिक मार्गको एक हिस्साको रुपमा प्रस्तुत गर्दछ । बौद्ध दर्शनको दृष्टिकोणमा यसलाई शील (नैतिकता) र प्रज्ञा (ज्ञान) सँग जोडिएको हुन्छ ।
आधुनिक समाजमा सजगतालाई विज्ञानका रुपमा प्रयोगमा ल्याउन खोज्दा अनेक चुनौती देखापरेका छन् । सजगतालाई बौद्ध दर्शनबाट अलग गर्ने प्रक्रिया विज्ञान र धर्मबीचको संवादबाट उत्पन्न भएको हो । ती चुनौतीलाई सहजरुपले अन्त्य गर्न आधुनिक विज्ञान र बौद्ध दर्शनलाई जोडेर लैजान सके सकारात्मक परिणाम निकाल्न सकिन्छ ।
आधुनिक मनोविज्ञानले तत्काल राहत दिन्छ तर गहिराई पुग्दैन र बौद्ध दर्शनले पूर्ण समाधान दिन्छ तर यो बुझ्न र अभ्यास गर्न कठिन छ । बौद्ध दर्शनका दृष्टिकोणमा आधुनिक समाजमा कतिपयले विशुद्ध धार्मिक मानेर पन्छाउँदा वैज्ञानिक दृष्टिकोणबाट फाइदा लिन सकिँदैन । आधुनिक मनोवैज्ञानिक दृष्टिकोणमा समस्यालाई सतही रुपले समाधानको विधि अवलम्बन गर्ने प्रयास हुने गर्दछन् ।
सजगता प्रक्रियालाई आधुनिक समाजमा व्यापारीकरण अर्थात् एउटा ‘प्रोडक्ट’ वा ‘लाइफ-ह्याक’ को रूपमा व्यापारीकण गर्ने गरिएको छ । अर्थात् बजारमा बिक्रीका लागि राखिएको वस्तुजस्तै बनाइएको छ, जसकारण यसको वास्तविक गहिराइ र नैतिक मूल्यहरू क्रमशः हराउँदै गएर क्षणिक शान्तिको साधनमात्र बनेको छ । आधुनिक समाजमा सजगतालाई बजारमा एउटा उत्पादित वस्तुजस्तै बनाएर बजारमा बिक्री गर्ने साधन वा तनाव विषयलाई सामाजिक र आर्थिक कारणलाई सम्बोधन गर्नुको साटो व्यक्तिलाई मात्र सञ्चो बनाउने कर्पोरेट स्वार्थ पूरा गर्ने व्यवसायीकरण माध्यम भइरहेको छ ।
सजगता प्रक्रियालाई धेरैले बौद्ध दर्शनको निस्क्रियता वा संसारबाट भाग्ने माध्यमका रूपमा बुझ्छन् तर यसले वर्तमानमा सचेत भएर जिम्मेवारी पूरा गर्न सिकाउँछ । अभ्यासकर्ताले तुरुन्तै ‘निर्वाण’ वा पूर्ण शान्ति पाउने ठूलो अपेक्षा राख्दा, तनाव कम हुनुको साटो झन् मानसिक दबाब बढ्ने गरेको पाइन्छ ।दैनिक जीवनमा गरिने ‘आनापानसती’ (श्वासप्रश्वासको सजगता) अभ्यासले कार्यस्थलमा हुने मानसिक तनाव कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । बौद्ध सजगता अभ्यासले व्यक्तिमा ‘करुणा’ र ‘उपेक्षा’ को विकास गराई आधुनिक मानसिक चिन्तालाई सकारात्मक मार्गमा रूपान्तरण गर्छ । यसका परम्परागत विधिहरूलाई आधुनिक ‘डिजिटल तनाव’ व्यवस्थापनमा अनुकूलन गर्न सकिन्छ । बौद्ध धर्मको ‘अनित्य’को बोधले आधुनिक समाजमा हुने ‘भविष्यको डर’ र तनावलाई कम गर्न मद्दत पुर्याउँछ ।
न्युरो-वैज्ञानिक दृष्टिकोणअनुसार आधुनिक साहित्यले सजगता अभ्यास र मस्तिष्कको संरचनामा आउने परिवर्तन ‘न्युरोप्लास्टिसिटी’ बीचको सम्बन्धलाई जोड दिन्छ । नियमित सजगता अभ्यासले ‘मस्तिष्कको पूर्वनिर्धारित अवस्थाको सञ्जाल’ वा ‘निस्क्रिय अवस्थाको मानसिक नेटवर्क’ को सक्रियता घटाउँछ, जसले गर्दा अनावश्यक सोच्ने र चिन्ता गर्ने प्रवृत्ति कम हुन्छ । बुद्धले सिकाएको ‘सम्यक् स्मृति’ लाई आजका मनोवैज्ञानिकहरूले ‘सचेतनामा आधारित तनाव न्यूनीकरण’ अर्थात् ‘मनोयोगमा आधारित तनाव व्यवस्थापन’ र ‘सचेतनतामा आधारित संज्ञानात्मक उपचार पद्धति’ जस्ता विधि मानसिक स्वास्थ्यका लागि प्रभावकारी मानिएका छन् ।
बौद्ध दर्शन र आधुनिक मनोविज्ञान दुवैको लक्ष्य दुःख कम अर्थात् मनमा स्थिरता कायम राख्नु र कल्याण बढाउनु हो । यद्यपि, बौद्ध दर्शन र आधुनिक मनोविज्ञानबीच केही आधारभूत भिन्नताहरू पनि रहेका छन् । बौद्ध दर्शनमा सजगता ‘निर्वाण’ वा पूर्ण मुक्ति प्राप्त गर्ने एउटा बृहत् नैतिक मार्गको हिस्सा मानिन्छ तर आधुनिक मनोविज्ञानमा यसको प्रयोग मुख्यतया तनाव कम गर्ने, एकाग्रता बढाउने र भावनात्मक नियन्त्रणका लागि गरिन्छ भन्ने मान्यता राख्दछ ।
सजगताको अभ्यासलाई दैनिक जीवनमा समावेश गरेर मानिसहरूले शान्त, स्वस्थ र सन्तुलित जीवनयापन गर्न सक्छन् । बौद्ध धर्मको यो दृष्टिकोण केवल धार्मिकमात्र नभई वैज्ञानिक र व्यावहारिकरूपमा पनि अत्यन्त उपयोगी बन्दै गएको छ । यसर्थ, आधुनिक विज्ञान सजगताको प्रभाव पुष्टि गर्ने प्रमुख साधन बनेको छ, जबकि परम्परागत दर्शन यसको अन्तिम उद्देश्य स्पष्ट गर्ने आधार हो । सजगता हजारौं वर्षदेखि विकसित भएको चेतनाको अनुशासन हो ।
आधुनिक विज्ञानले यसको उपयोगितालाई प्रमाणित गरेको छ, तर यसको पूर्ण अर्थ तबमात्र प्रकट हुन्छ जब यसलाई नैतिकता, विवेक र आत्मबोधसँग जोडेर बुझिन्छ । सजगता अभ्यासले तनाव कम गर्ने, ध्यान सुधार गर्ने, भावनात्मक नियमन गर्ने र समग्रमा मानसिक स्वास्थ्यलाई बलियो बनाउने क्षमता राख्छ । यसले मानिसको मस्तिष्कलाई लचिलो र अनुकूलनीय बनाउँदै, अझ राम्रो जीवन जिउनका लागि सशक्त बनाउँछ । त्यसैले, केही मिनेटमात्र भए पनि हरेक दिन ‘माइण्डफुलनेस’ अभ्यास गरेर हामी आफ्नो मस्तिष्कलाई अझ स्वस्थ र आफ्नो जीवनलाई अझ शान्त बनाउन सक्छौं ।