नेपाली समाजमा संस्कृत ब्रह्माण्डको ज्ञान दिने भाषा हो भनेर संस्कृतका विद्वानहरुले बुझाउन सकेनन् । संस्कृत नभए पहिचान समाप्त हुन्छ भनेर कसैले पनि बुझ्न सकेन । बरु संस्कृतलाई कर्मकाण्डी भाषामात्र हो भन्ने भाष्य तयार गरियो । बाहुनहरुको ठगी खाने भाषा भनेर विरोध गर्न सिकाइयो । त्यहीबाट आमनेपालीलाई खगोलशास्त्र, गणित, ज्योतिषशास्त्र आदिको ज्ञानबाट वञ्चित गरियो । विज्ञान अब हाम्रो सभ्यताको नभई विदेशीहरुको भन्ने आधार तयार गरियो । संसारको ज्ञान प्राप्त गर्न युरोपियनहरु संस्कृत पढ्दै छन् तर हामी संस्कृत भाषा बिर्संदै छौं र ज्ञानविहीन बन्दै छौं ।
तीन त्रिलोक १४ भुवनको रहस्य पस्कन सक्ने प्राचीन तर प्रभावशाली भाषाको नाम संस्कृत भाषा हो । अन्तरिक्षमा प्रयोगका लागि अन्य चर्चित भाषाहरु विफल बनिरहँदा सफल बनिरहेको भाषा संस्कृत भाषा हो । त्यतिमात्रै होइन, कतिपय उपचार पद्धतिमा पनि यो भाषा प्रयोग भइरहेको छ । संस्कृत भाषा आफैंमा कुनै प्रत्यक्ष औषधि होइन तर ध्वनिमा आधारित मनोशारीरिक उपचार प्रणालीमा यसको प्रयोग हुने गरेको छ । संसारको ज्ञान हासिल गर्न संस्कृत भाषाको ज्ञान हासिल गरेरमात्र सम्भव छ । विश्व ब्रह्माण्डको वास्तविकतालाई संस्कृतको ज्ञानलेमात्र पूर्ण गर्न सक्दछ ।
संस्कृत एउटा भाषामात्र नभएर अन्य थुप्रै भाषाहरुको जननी पनि हो । नेपाली, हिन्दी, मैथिलीजस्ता सशक्त भाषाहरु यस भाषाबाट नै विकसित भएका हुन् । हाल यो भाषा बेलायतका चारवटा, अमेरिकाका तीनवटा, जर्मनीका १४ वटा र भारतका १८ वटा विश्वविद्यालयमा पढाइ भइरहेको छ । यसरी हेर्दा संस्कृत भाषा विश्वभरि नै पढाइ भइरहेको छ । नेपालमा पनि संस्कृत भाषा अध्ययन अध्यापनका लागि भनेर वि.सं. २०४३ सालमा संस्कृत विश्वविद्यालय स्थापना भएको छ । देवभूमि नेपालका धर्म, संस्कृति, परम्परा र इतिहासको ज्ञान संस्कृतको ज्ञानविना असम्भव छ । अझ भनौ ग्रह, नक्षत्र, तारा, समुद्र, पहाड पर्वतको पूर्णज्ञान संस्कृत नजानिकन सम्भव छैन । एकपटक प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्सटाइनले संस्कृत भाषाको संरचना र व्याकरणको स्पष्टतालाई तारिफ गरेका थिए । उनले भनेका थिए, ‘यदि तपाईंको भाषा स्पष्ट र सटिक छ भने तपाईंको विचार पनि सटिक र स्पष्ट हुने छ । यसका लागि संस्कृत उत्कृष्ट माध्यम हो ।’

अमेरिकाका भूतपूर्व राष्ट्रपति थियोडोर रुजवेल्टले भनेका थिए, ‘संस्कृत भाषा मानव सभ्यताको वैदिक ज्ञानको मूल स्रोत हो । यसको अध्ययनले तार्किक शाक्ति र बुद्धिको विकास गर्छ ।’ संस्कृत भाषाको महŒव पश्चिमाहरुले दिनप्रतिदिन धेरैभन्दा धेरै बुझिरहेका छन् । द्वन्द्वात्मक भौतिकवादका प्रणेता कार्ल माक्र्सले पनि एकपटक संस्कृत भाषाको अध्ययन आवश्यक छ भनेका थिए । यसरी विदेशीहरुले संस्कृति भाषाको महत्व र आवश्यकतालाई विश्लेषण गरिरहँदा हामीकहाँ भने संस्कृत भाषा उपेक्षामा पर्ने गरेको छ । बाहिरी दुनियाँले संस्कृत भाषाको अध्ययनलाई थप जोड दिइरहँदा हामी भने संस्कृत भाषा र यसको महŒवलाई बिर्संदै गएका छौं । कसरी हुन्छ संस्कृत भाषालाई पन्छाइरहेका छौं ।
वि.सं. २०२८ सालमा राष्ट्रिय शिक्षा योजना पद्धतिको कार्यान्वयनपश्चात् संस्कृत शिक्षा ओझेलमा पर्न सुरु भएको हो । यो भन्दा अघि संस्कृत शिक्षा नेपालको मूलधारको शिक्षा थियो तर यो योजना पद्धतिमार्फत यसलाई वैकल्पिक धारको बनाइयो । त्यसैले योगी नरहरीनाथले यसको धेरै नै विरोध गरेका थिए । यसको कार्यान्वयन नगराउन उनले राजा वीरेन्द्रलाई समेत अनुरोध गरेका थिए । तर, उनी सफल भएनन् । अनि विस्तारै संस्कृत शिक्षकहरुको दरबन्दी कटौती गरियो । संस्कृत पढाइ हुने विद्यालयहरुलाई विभिन्न बहानामा मर्ज गर्ने, अन्यत्र कतै सार्ने वा हटाउने कार्यको थालनी भयो । अनि बिस्तारै संस्कृत शिक्षा कमजोर भयो ।
वि.सं. २०२८ सालअघि करिब २०० को हाराहारीमा रहेका संस्कृत पाठशालाहरु हाल २०८२ सकिनै लाग्दा अनुमानित १७० को संख्यामामात्रै छन् । संस्कृत पढाइ हुने विद्यालय, पाठशाला, क्याम्पसहरुको संख्या बढ्नुपर्नेमा घटेको देखिन्छ । वि.सं. २०२८ सालभन्दा अगाडि संस्कृत शिक्षकहरुको दरबन्दी एक हजार २०० देखि एक हजार ५०० (अनुमानित) रहेकामा हाल घटेर ३०० देखि ५०० (अनुमानित) मात्र रहेको छ । अहिले मुलुकमा नेपाली माटो, जंगल, धर्म र संस्कृतिलाई चिनाउने शिक्षाभन्दा पनि युरोपियन मोडलको शिक्षाको हालीमुहाली रहेको छ । त्यसैले यो उपेक्षा युरोपियनहरुको प्रभावमा गरिएको प्रस्ट हुन्छ । संस्कृत शिक्षामा भएको उपेक्षाका पछाडि राज्यको नीति नै मूलरुपमा दोषी देखिन्छ । संस्कृत शिक्षालाई व्यावसायिक नभएको, रुढीवादी र परम्परावादी भएको आरोप लगाउँदै युरोपियन मोडलको शिक्षा सुरु गरिएको थियो ।
नेपालमा संस्कृत शिक्षा कमजोर हुनुका पछाडि १० वर्ष चलेको माओवादी द्वन्द्वको हात पनि कम छैन । किनकि, यही समयमा संस्कृत शिक्षालाई ठगी खाने शिक्षा भन्दै पाठ्यपुस्तकहरु जलाइयो । संस्कृत विद्यालय, पाठशाला, कलेजहरु खरानी बनाइए । संस्कृत शिक्षकहरु काटिए, कुटिए, पिटिए अनि मारिए । वाचन शिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको हत्या गरियो । मन्दिरहरु भत्काइए तर अंग्रेजी शिक्षा चलाइएन । सुरक्षित राखियो । सरकारले संस्कृत शिक्षाको महŒव बुझ्न चाहेन वा बुझ्ने ल्याकत राखेन । यसका पछाडि पनि विभिन्न आइएनजिओ र वैदेशिक शक्तिहरुको प्रभाव रहेको सहजै अनुमान गर्न सकिन्छ । यसको स्वीकारोक्ति त अमेरिकामा डोनाल्ड ट्रम्पको सरकार आउनेबित्तिकै युएसएआईडीको कोष बन्द गरिएबाटै थाहा हुन्छ । यहाँ भित्रकै पदाधिकारीहरुले यो कुरा स्वीकार गरिसकेका छन् ।
नेपाली समाजमा संस्कृत ब्रह्माण्डको ज्ञान दिने भाषा हो भनेर संस्कृतका विद्वानहरुले बुझाउन सकेनन् । संस्कृत नभए पहिचान समाप्त हुन्छ भनेर कसैले पनि बुझ्न सकेन । बरु संस्कृतलाई कर्मकाण्डी भाषामात्र हो भन्ने भाष्य तयार गरियो । बाहुनहरुको ठगी खाने भाषा भनेर विरोध गर्न सिकाइयो । त्यहीबाट आमनेपालीलाई खगोलशास्त्र, गणित, ज्योतिषशास्त्र आदिको ज्ञानबाट वञ्चित गरियो । विज्ञान अब हाम्रो सभ्यताको नभई विदेशीहरुको भन्ने आधार तयार गरियो । संसारको ज्ञान प्राप्त गर्न युरोपियनहरु संस्कृत पढ्दै छन् तर हामी संस्कृत भाषा बिर्संदै छौं र ज्ञानविहीन बन्दै छौं ।
संस्कृत भाषाबारे वास्तविकता बाहिर ल्याउन नसक्दा हामी संस्कृत शिक्षा पढ्ने अवसरबाट वञ्चित छौं । नेपाली समाजमा नैतिकता, एकता र सहिष्णुताको खडेरी पर्दै जानुको पछाडि यही नै मुख्य कारण हो । समाज विभाजनको बीउ यहीबाट रोप्न सुरु भएको हो ।
संस्कृत शिक्षा र संस्कृत भाषाप्रति गरिएको उपेक्षा हामी सबैका लागि घातक सिद्ध हुनेमा दुईमत छैन । हामीले किराँत सभ्यता पढ्नुपर्छ, बौद्ध सभ्यता पढ्नुपर्छ अनि बागमती र कोशी सभ्यता पनि पढ्नुपर्छ । संस्कृत नजानिकन यी सभ्यताहरुको चुरो कुरो बुझ्न सकिन्न । नेपाली भाषा र नेपाली सभ्यतालाई अजर र अमर बनाउने हो भने संस्कृत चाहिन्छ । सुखी नेपाली र समृद्ध नेपालको गन्तव्यमा यही बाटोबाट मात्र पुग्न सकिन्छ ।