वायु प्रदूषण केवल वातावरणीय समस्यामात्र होइन, जीवनरक्षासँग सम्बन्धित राष्ट्रिय प्राथमिकता बन्न पुगेको छ । यस क्षेत्रमा यदि आजै प्रभावकारी कदम चालिएन भने आगामी दिनहरूमा स्वास्थ्य संकट, आर्थिक क्षति र सामाजिक समस्या गहिरिँदै जाने छ । तत्कालीन कदम तत्काल लागू गरेर र दीर्घकालीन कदम नीतिगत सुधारमार्फत यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ । तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक र सञ्चार क्षेत्रको सामूहिक भूमिकाले मात्र स्वच्छ हावा र सुरक्षित भविष्य सुनिश्चित हुनसक्छ ।
नेपाल हाल विश्वका ती देशहरूमध्ये पर्दछ, जहाँ वायु प्रदूषण तीव्रगतिमा बढ्ने क्रममा छ । काठमाडौं उपत्यकादेखि तराई, पहाड हुँदै हिमाली क्षेत्रसम्म प्रदूषणको प्रत्यक्ष असर देखिन थालेको छ । त्यसो त हरेक पल फेर्ने श्वासप्रश्वासदेखि पिउने पानीसम्मलाई प्रदूषणले प्रभाव पारिरहेको छ । यसको असरबाट नयाँ प्रकारका रोगहरू देखिने क्रममा छन् । अझ पछिल्लो दशक संसारमा नसर्ने रोगहरूको महामारी फैलनुमा पनि प्रदूषणको प्रभाव हो भन्ने कुरालाई प्रतिष्ठित अनुसन्धानमा संलग्न संस्था र व्यक्तिहरूले प्रमाणित गरेका छन् । हरेक सालझैँ यस साल पनि काठमाडौंमा वायु प्रदूषणको मात्रा बढ्न थालेको समाचारहरू आएका छन् । साधारणरूपमा हामीलाई हिँडडुल गर्दा पनि आँखा पिरो हुने, नाक पोल्ने, वाकवाकी लाग्ने, रिँगटा लागेजस्तो हुने, श्वासप्रश्वासमा असहजता हुनेजस्ता लक्षणहरू भोग्दै आएका छौं ।
संसारभर प्रदूषण बढ्नु हरेक देशका आ-आफ्ना प्रमुख कारणहरू छन् तर पनि मुख्य कारण भने १८औं शताब्दीमा भएको औद्योगिक क्रान्तिलाई मानिन्छ । एकपछि अर्को उद्योग स्थापना हुँदै जाने क्रममा त्यस्ता उद्योगले गर्ने प्रदूषण नियन्त्रणमा कसैले ध्यान दिएनन् । आर्थिक विकास गर्ने होडमा शक्तिशाली देशहरूले जनमानसको स्वास्थ्यमा पर्ने असरप्रति ध्यान दिएनन् । त्यसैगरी जनसंख्या वृद्धि, तीव्र सहरीकरण, सवारीसाधनको अनियन्त्रित विस्तार र प्रभावकारी नीतिको अभावले प्रदूषणको समस्या झन् पछि झन् जटिल बन्दै गयो । यसले क्रमशः बहुआयामिक प्रभाव पार्दै गयो । फलस्वरूप पर्यावरण, अर्थतन्त्र, पर्यटन, कृषि तथा समग्र जीवनयापनमै गम्भीर असर पार्न थाल्यो । त्यस्ता असरबाट नेपाल र मुख्यगरी यसको राजधानी काठमाडौं अछुतो रहने कुरै भएन ।

काठमाडौंमा वायु प्रदूषण
कचौराजस्तो भौगोलिक भू-बनोटले गर्दा काठमाडौं उपत्यकाभित्र जम्मा भएका वायु प्रदूषणलाई हावाले सजिलै बाहिर लान सक्दैन । अझ जाडोयाममा राति र बिहानीपख उपत्यकाको सतह नजिक चिसो हावाको एक तह बन्छ जसलाई तातो हावाको अर्को तहले ढकनीले जस्तै छोपेर राखेको हुन्छ; यसलाई वैज्ञानिक भाषामा इन्भर्सन भनिन्छ । यसले गर्दा जाडोयाममा प्रदूषण जमिनको सतह नजिक नै बसिरहन्छन् र वायु प्रदूषण अत्यधिक मात्रामा बढ्न जान्छ । वायु प्रदूषण बढी हुनुको अर्को कारण यहाँको उचाइ पनि हो । १३ सयदेखि १३ सय ५० मिटरसम्मको उचाइमा अवस्थित काठमाडौं उपत्यकामा गाडीले अन्य कम उचाइ भएका ठाउँभन्दा साधारणतया बढी धुवाँ फाल्ने गर्दछ । त्यस्तै अन्य निम्न कारणले पनि काठमाडौंमा वायु प्रदूषण बढ्ने गरेको छः
सवारीसाधनद्वारा अत्यधिक धुँवा उत्सर्जन
यसै त काठमाडौं उपत्यकाको भू-बनोट कचौरा आकारको छ । जसले गर्दा प्रदूषित हावा तल्लो तहमा थिग्रिएर बस्न पुग्छ । त्यही हावा श्वासप्रश्वासका माध्यमबाट मानिसको फोक्सोमा पुगेर संक्रमण गर्दछ । पुराना र मापदण्डविहीन सवारीसाधन, गुणस्तरहीन इन्धन, भिडभाडयुक्त तथा कच्ची सडक र ट्राफिक व्यवस्थापनको कमजोरीले उपत्यकाको प्रदूषणमा करिब ५० प्रतिशतसम्म योगदान गरेको देखिन्छ । सहरी क्षेत्रमा सवारीसाधन सञ्चालनको मापदण्डलाई कडाइ नगर्ने हो भने यसको हिस्सा बढ्दै जाने कुरामा कसैको दुई मत नहोला ।
सिमेन्ट र इँटा उद्योग
बढ्दो सहरीकरणसँगै उत्पादन बढाउँदै गएन भने देशको अर्थतन्त्र क्रमशः ऋणात्मक हुँदै जाने गर्दछ । तसर्थ, औद्योगिकीकरण कुनै पनि देशको प्रगतिको पहिलो मानक हो । तर त्यसता उद्योग बस्तीहरूबाट निश्चित दूरीमा हुनु आवश्यक छ । अझ धुलो र धुँवा उत्सर्जन गर्ने सिमेन्ट, इँटाजस्ता उद्योगहरूलाई त बस्तीभन्दा निकै टाढा राख्नुपर्ने हुन्छ । हामीकहाँ भने नियमनविना सञ्चालन हुने त्यस्ता उद्योगहरूले वातावरणमा धुलो, कार्बन-मोनोअक्साइड, सल्फरडाईअक्साइड जस्ता प्रदूषक तत्वहरू छरिरहेका हुन्छन् ।
निर्माण कार्यबाट उड्ने धुलो
हाम्रो जस्तो भौतिक विकासमा पछि रहेका देशहरूमा आधुनिक समयसँगै विभिन्न भौतिक संरचनाहरूको निर्माण कार्य तीव्र गतिमा हुँदै गरेका छन् । अझ पछिल्लो समय विकास भनेकै भौतिक निर्माण हो भन्ने भाष्य विकास हुँदै गएको छ । सडक विस्तार, घर निर्माण र सार्वजनिक संरचनाहरूको निर्माणस्थलहरूमा सुरक्षा मापदण्ड नअपनाइँदा जथाभावी धुलो उड्ने गरेको देखिन्छ । त्यो धुलोले मानव स्वास्थ्यमा पार्ने प्रभावका विषयमा सम्बन्धित पक्षहरू संवेदनशील नभइदिँदा प्रदूषण घट्नुको साटो झन् बढ्दो क्रममा रहेको छ ।
फोहोर दहन र डम्पिङ साइट
सामान्यतः घर वरपर, खेतबारीमा रहेका प्लास्टिक, सिमेन्टको बोरा, चाउचाउका खोल, गुट्खाका खोल, कागज, ढोड, पराल, छवाली, झिक्राझिक्रीहरूलाई हामी खुलारूपमा जलाउने प्रवृत्ति रहेको छ । त्यस्ता वस्तु जलाउँदा विषालु ग्यास उत्पन्न भई वातावरणमा मिसिन जान्छ । यसले गर्दा हामीले फेर्ने श्वासमा प्रदूषण मिसिन पुग्छ । त्यस्तो प्रदूषित हावा लिएर हाम्रो फोक्सो के स्वस्थ रहन्छ र !
प्राकृतिक तथा मौसमी कारणहरू
त्यसो त प्रदूषित वातावरणको कारण पृथ्वीको बढ्दो तापक्रम, हावाको कम गति, डढेलो र खाद्यबालीका अवशेषहरूलाई जलाउने गर्दा पनि वायु गुणस्तरलाई निरन्तर रूपमा बिगारी रहेका छन् ।
वायु प्रदूषणका प्रभावहरू
स्वास्थ्यमा प्रभावः वायु प्रदूषणको प्रमुख असर भनेको यसले मानिसको स्वास्थ्यमा एकपछि अर्को असर गर्दै जानु हो । यसले श्वासप्रश्वाससम्बन्धी रोग (दम, एलर्जी, सिओपिडी), फोक्सो क्यान्सर, मुटु तथा रक्तसञ्चार प्रणाली र प्रजनन स्वास्थ्यसम्बन्धी रोगहरू लाग्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यसो त यसले बालबालिका, वृद्धवृद्धा र गर्भवतीलाई उच्च जोखिममा पार्दछ ।
अर्थतन्त्रमा प्रभावः कुनै पनि अर्थतन्त्रको प्रमुख मेरुदण्ड भनेको जनशक्ति नै हो । प्रदूषणले मानव स्वास्थ्यमा प्रहार गर्न थालेपश्चात् जनशक्तिको उत्पादन क्षमता पनि हस आउन थाल्दछ । यसका कारण उत्पादन एवं सेवा क्षेत्रमा गम्भीर असर पर्न जान्छ । बिरामी जनशक्तिले न त उत्पादन गर्न सक्छ न त उपभोग नै गर्नसक्छ । त्यसैगरी प्रदूषणले स्वास्थ्य उपचार खर्च बढ्ने र पर्यटन क्षेत्रमा पनि नकारात्मक प्रभाव पारी समग्र आर्थिक चक्रलाई नै क्षति पु¥याई समग्र अर्थतन्त्रलाई शिथिलतातर्फ लाने सम्भावना रहन्छ ।
पर्यावरणीय प्रणालीमा प्रभावः प्रदूषणले पृथ्वीको तापक्रम बढाउँदा समग्र जीवहरूको पुनरुत्पादन प्रक्रियामा गम्भीर असर परिरहेको हुन्छ । त्यसरी प्रदूषण र तापमान बढ्दा हरियो वनस्पति कमजोर बन्ने, जैविक विविधतामा असर पर्ने, वर्षा ढाँचामा परिवर्तन हुनेजस्ता असर देखिँदै जाने छन् । यसले समग्र जीवको प्रणालीमै असर गरी नयाँ संकट बढाउने जोखिम दिनानुदिन बढ्दै गएको पाइन्छ ।
पर्यावरणीय प्रणालीमा रहेका समस्याहरुको तत्कालीन समाधानका विभिन्न उपायहरू हुन सक्छन् । धुलो नियन्त्रण अभियान कडाइका साथ सञ्चालन गर्न सकिन्छ । सडकलगायतका भौतिक संरचना निर्माणस्थलमा नियमितरूपमा पानी छर्कने र जिओ-टेक्सटाइल लेयर उपयोग गर्न सकिन्छ । पुराना सवारीसाधनहरू चरणबद्ध रूपमा हटाउने र विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्छ । सार्वजनिक यातायातलाई भरपर्दो र व्यवस्थित पार्दै निजी सवारीसाधनको प्रयोगलाई निरुत्साहित र इन्धन गुणस्तर नियमित अनुगमन एवं परीक्षणमा कडाइ गर्न सकिन्छ ।
त्यस्तै जथाभावी फोहोर जलाउने कार्यलाई पूर्णप्रतिबन्ध लगाउन आवश्यक छ । घरवर, खेतबारीमा रहेका फोहोरहरूलाई खुलारूपमा जलाउने कार्यलाई प्रतिबन्ध लगाउनुपर्छ । त्यस्ता कार्यलाई स्थानीय तहमार्फत नियमित निरीक्षण, दण्ड जरिवाना प्रणाली लागू गरिनुपर्छ । राष्ट्रिय तथा स्थानीयस्तरमा वायु गुणस्तर सूचकांक मापन र तत्क्षणिक सूचना प्रवाह गर्ने प्रणालीको विकास गरी त्यसलाई कडाइका साथ लागू गरिनुपर्छ । खुलारूपमा निर्माण सामग्रीको ढुवानी गर्ने कार्य रोक्न भौतिक निर्माणमा आवश्यक ढुंगा, बालुवालगायतका सामग्रीलाई ढाकेरमात्र ढुवानी गर्ने व्यवस्था गर्नुपर्छ ।
दीर्घकालीन समाधानका उपायहरूमा विद्युतीय सवारीसाधनको प्रयोगलाई रणनीतिकरूपमा प्रोत्साहित गर्दै ट्राफिक व्यवस्थापन सुधारमा गर्दै एमआरटी, बिआरटीजस्ता आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्नुपर्दछ । दैनिक जीवनमा नवीकरणीय ऊर्जा खपतलाई प्रोत्साहित गराउन आवश्यक छ । सबैभन्दा बढी प्रदूषण गर्ने सिमेन्ट र इँटा उद्योगमा आधुनिक प्रविधिको जडान गरी प्रदूषण कम गर्न सकिन्छ । त्यसका लागि ‘जिगज्याग’ प्रविधिलाई अनिवार्य गर्दै शून्य उत्सर्जन उद्योगको अवधारणामा रूपान्तरण गर्नुपर्दछ । त्यसैगरी त्यस्ता उद्योगलाई सहर बाहिर सर्नका लागि प्रोत्साहन गर्नुपर्दछ । सहरी क्षेत्रमा बढ्दो कंक्रिटका संरचनाले तापक्रम र प्रदूषण बढाउन मुख्य भूमिका खेलिरहेको वर्तमान परिप्रेक्ष्यमा स्थानीय सरकारले ‘ग्रिनबेल्ट’ क्षेत्रहरूको विकास गर्दै पार्कहरूको निर्माणमा जोड दिनुपर्ने छ । वृक्षरोपण अभियानलाई तीव्रता दिँदै जमिन उपभोगको नीतिमा निर्मम बन्नुपर्दछ ।
त्यसैगरी बढ्दो प्रदूषणलाई कम गर्नका लागि वातावरण संरक्षण वातावरण संरक्षण ऐनको पूर्णकार्यान्वयनमा ध्यान दिनुपर्ने छ । स्थानीय तहलाई वातावरणीय निगरानी अधिकार विस्तार गर्दै वातावरण प्रभाव मूल्यांकन (इआइए) र प्रारम्भिक वातावरणीय परीक्षण (आइई) को प्रावधानलाई प्रभावकारी बनाउनुपर्ने हुन्छ । विद्यालयदेखि समुदायस्तरसम्म वातावरण शिक्षालाई अनिवार्यरूपमा लागू गरिनुपर्छ । हरेक घर-परिवारमा धुलो नियन्त्रण, मास्क प्रयोग, हरियाली अभियान र खुला फोहोर दहन बन्द गर्ने विषयलाई प्रभावकारीरूपमा चलाउनुपर्छ ।
निष्कर्ष
प्राकृतिक र मानवीय कारणले गर्दा काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभाव अन्य सहरभन्दा बढी हुने गर्छ । हरेक वर्षको हिउँद र प्रि-मनसुन समय फागुनदेखि वैशाखसम्म उपत्यकामा वायु प्रदूषण बढ्ने गर्छ । वातावरण विभागको प्रतिवेदनमा काठमाडौं उपत्यकामा प्रदूषणको मुख्य स्रोत १० लाखभन्दा बढी सवारीसाधन नै हुन् । नेपालमा सन् २०३० सम्ममा वायु प्रदूषणको वित्तीय भार २५६ मिलियन अमेरिकी डलर (करिब तीन खर्ब) पुग्ने विश्व बंैकको अनुमान छ । वनजंगलमा लाग्ने डढेलो, किसानले खेतबारीमा जलाउने कसिंगर, धुलो, धँुवा र पश्चिमी तथा पूर्वीय वायु सक्रिय हुन नसक्दा काठमाडौंमा प्रदूषण बढ्दै गइरहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बताएको छ । यसरी बढ्दै गएको वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा पर्ने असर तथा सेवा प्रभावित हुँदा आर्थिक क्षति पनि बढ्ने गरेको छ ।
वायु प्रदूषण केवल वातावरणीय समस्यामात्र होइन, जीवनरक्षासँग सम्बन्धित राष्ट्रिय प्राथमिकता बन्न पुगेको छ । यस क्षेत्रमा यदि आजै प्रभावकारी कदम चालिएन भने आगामी दिनहरूमा स्वास्थ्य संकट, आर्थिक क्षति र सामाजिक समस्या गहिरिँदै जाने छ । तत्कालीन कदम तत्काल लागू गरेर र दीर्घकालीन कदम नीतिगत सुधारमार्फत यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ । तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक र सञ्चार क्षेत्रको सामूहिक भूमिकाले मात्र स्वच्छ हावा र सुरक्षित भविष्य सुनिश्चित हुनसक्छ ।