कान्लेको उकालोबाट एक हुल मानिसहरु माथितिर उक्लँदै छन् । कसैले नेपालको झण्डा बोकेका छन् । कसैले कुन्नि केको झण्डा बोकेर अगाडि बढिरहेका छन् । वर्षौं भइसकेको थियो कान्लेको उकालोबाट मानिसहरु हिँड्न छाडेको !
टारहुँदै ज्यामिरेको खोल्साबाट डाँडाघरसम्म मोटरबाटो बनेकै ३० वर्ष नाघिसकेको छ । त्यसैले पनि कान्लेको ठाडो बाटो उही खेतमा भारी बोकेर आउजाउ गर्नेहरु मात्र सिजनमा फाट्टफुट्ट देखिन्छन् । त्यसमाथि पनि अहिले त डोलदेखि फाँटसम्म सबै जग्गा कारोबारीले घडेरीका लागि प्लटिङ गरिसके ।
पहिले–पहिले पो सबै खेती गर्थे । गोठमा गाईभैँसी हुन्थ्यो । बूढापाका गोठाला जान्थे । केटाकेटी पनि बाख्रा चराउन पुग्थे । समयले कोल्टे यसरी फेर्यो कि, ३०-३५ वर्षमा नै ती सबै चिज हराए ।
गाउँका रैथाने चीजमात्र हराएन । गएको ३० वर्षका गाउँ नै हराएको जस्तो देखिएको छ । विद्यालयबाट विद्यार्थीहरु हराए । युवाहरु पूरै खाली भए । बूढा बा आमाले गाउँको सुरक्षा गरेको जस्तो देखिन्छ । बाआमाको सुरक्षा गर्नुपर्ने बेलामा बाआमाले गाउँको सुरक्षा दिनुपरेको छ ।
सायद फेरि लाहुर पसेकाहरुलाई फागुन १५ देखि महाकुम्भ सुरु हुन्छ होला । रात्रिबसबाट सहर पसेकाहरु फेरि आउँछन् । केही दिन थापाकाजीको पसलमा चहलपहल पनि होला ? बरु विचरा खानेकुरा पो कसरी पुर्याउँछन् !
चुनाउका दशौं थरीका मानिसहरु गाउँ छिरेका छन् । घरदैलो गर्दै उम्मेदवारले खुट्टै समाउन थालेका छन् । अहिले चुनाउका लागि खुट्टा समाउनेहरु भोलि जितेर गएपछि बोली पनि फर्काउँदैनन् । ३६ सालको जनमत संग्रहदेखि ७९ सालसम्मको चुनाउमा भोट खसालेका हिरालाल काका यसपालि चुनाउमा भोट खसाल्दिन भन्दै छन् ।
तुलसाको मठ छेउको डिलमा बसेका हिरालाल काकालाई भोट माग्न आउनेहरुले सोध्दै छन्, ‘अनि काका, अब त चुनाउ पनि आयो, भोट के मा त ?’ ‘मेरो भोट मेरो मर्जी ! जे सुकैमा हालौं तिमीलाई के भन्ने हो ?,’ काका अलि रिसाएर उत्तर दिए ।
सायद भोट माग्नेहरुले थाहा पाइसके कि हिरालाल काका रिसाए । भोट माग्न गएका हुन्, किन रिसाउँथे र ! रिसाउनै परे चुनाउ जितेर गएपछि रिसाउँलान् । पारिघरे बालकृष्णले सोधे, ‘त्यसो होइन नि काका, आफ्नो काका भएर पो सोधेको नि भोट केमा हाल्ने भनेर,’ उसले फकाउने पारामा भन्यो ।
काकाले फेरि दोहो¥याए, ‘मैले भने त मेरो भोट मेरो मर्जी, जे सुकैमा हालौं तिमीहरुलाई केको खसखस ? जाओ तिमरु ।’ बालकृष्णले फेरि प्रयत्न गरे, ‘जानी काका, कत्ति भोे काकाकोमा नआएको । यही चुनाउको मौकामा काकाको घर आइया छ, काकासँग दुई–चार गफ गरेर जाउँ भनेर नि !’ उसले काकाको मन पगाल्ने प्रयास गरिनै रह्यो ।
‘भयो–भयो । कोही आएर केही पनि हुन्न । तिमरु आए पनि के नआए पनि के ! उही चुनाउमा आउने, भोट हाल्न लगाउने, अनि जितेपछि फर्केर पनि नआउने ! तिमीहरु जस्तालाई किन हाल्नु भोट ?’ हिरालाल काकाले भोट हाल्न नजाने संकेत गरेपछि बालकृष्णले सम्झाउने प्रयास गर्दै भने, ‘त्यस्तो होइन नि काका । मत भनेको आफ्नो अधिकार हो । त्यही भएर भोट हाल्न त जानैप¥यो नि !’
‘अधिकार न सधिकार’ भोट हालेर अधिकार पाउने भए मैले अहिलेसम्म यस्तो अन्याय खेपेर बस्नु पर्दथ्यो र ? यो सब तिमरुका नेताहरुलाई खरिखाने भाँडो भयो । मुसा बनेर सिंहदरबार छिर्न अनि निस्कने बेलामा हात्ती भएर निस्कने । त्यही भएर पनि म भोट हाल्दिनँ ।
‘काकाजत्तिको मान्छेले पनि भोट नहाल्ने भनेर हुन्छ ? ल भन्नुस् त,’ सँगै रहेका दिवाकरले भने ।‘हुन्छ नि ? किन हुँदैन । सिंहदबार जलाउन उक्साउने, सिंहदबार जलाउने, भ्रष्टाचार गर्ने र गराउने । ३०औं वर्षसम्म देशलाई कंगाल बनाउने तिमीहरु । अनि तिमीहरुकै सिको गरेर नयाँ बोटलमा पुरानो रक्सी भनेजस्तै गरी ठाउँ-ठाउँ चाहर्दै हिँड्नेहरुलाई किन दिने भोट ? भोट माग्न आउनेहरुले त देशलाई सफल बनाउने योजना देखाऊ । देशबाट विदेश पलाउन भएका युवाहरुलाई गाउँ फर्काऊ । चोरै चोरका अनुहार परेकालाई किन दिने भोट ?’
दिवाकरले फेरि थप्यो, ‘अब चोरलाई नदिने काका !’ ‘कसलाई दिने त ? सञ्जनले टिकटै पाएको छैन । पुरानादेखि नयाँसम्मले चोरै चोरलाई पठाएपछि किन दिने ? सुन चोर पनि चोर, लसुन चोर्ने पनि चोर । त्यही भएर म भोट दिन्न,’ काकाले अडान लिए, ‘नयाँ पनि चोर, पुराना पनि चोर । कोही देश बेच्ने चोर, कोही देश जलाउने चोर ।’
दिवाकरले सम्झाउने प्रयास गरिरहँदा काका अझ आक्रोशित बन्दै थिए । तर पनि मत माग्न गएका हुन् । मन पगाल्ने प्रयास त किन नगर्नु ? बालकृष्णले फेरि भने, ‘ल काका तपाईं देशमा प्रजातन्त्र ल्याउनका लागि त्यत्रो खटिनुभएको मान्छे अनि भोट दिन्न भनेर हुन्छ त ?’
‘कुरो तिमीले मनासिबै गरेउ बालकृष्ण, तर प्रजातन्त्र ल्याउनका लागि लडेको म । किन भोट हाल्दिनँ भनेर भनिरको छु ?,’ काकाले उल्टै सम्झाउन थाले, ‘प्रजातन्त्र ल्याएको यही भ्रष्टाचार गर्न, बेथिति बनाउन, विदेशीले देश रणभूमि बनाउन हो ? अनि नेताका गुलाम बनेर हसप्रसाद बन्न हो ? होइन बाबु होइन । स्वतन्त्रताका लागि हामीले ऊ बेला जेलनेल गरेका हौं ।’
बालकृष्णले थपे, ‘त्यही भएर त भनेको नि काका, एक जुगमा एक दिन एक पटक आउँछ भनेर ।’ ‘ल भैगो, ३६ सालको गीत गाएर ८२ सालसम्म भोट माग्ने काम नगर । म भोट दिन जाने होइन । मलाई कोही पनि मन परेन, ‘म भोट दिन्न’ भन्नेमा छाप हान्न पाएमात्र जाने हो । पुराना चोर भन्दा भन्दै नयाँ ठग र डाँका भए पनि म जस्ता मान्छेले किन दिने भोट ?’
‘सरकारी पदमा बसेर लुट्नेलाई नेता बनाउने ? सुरक्षा निकायमा बसेर देश जोगाउन नसक्नेलाई नेता बनाउने ? स्वास्नी, छोरा, फरिया साइनोमात्र चाहिनेलाई नेता बनाउने ? देशका लागि भन्दा विदेशीका लागि काम गर्नेलाई नेता मान्नुपर्ने ? भयो बाबु भयो, तिमी आफ्नो बाटो लाग, म भोट दिन्न । बरु गएर तिम्रा नेताहरुलाई भन, मतपत्रमै ‘म भोट दिन्न’मा छाप लगाउने व्यवस्था गर । त्यत्ति भए म मतदान केन्द्रसम्म पुगेर भए पनि त्यही म भोट दिन्नमा भोट दिएर आउँछु । जाऊ, तिमी मेरो दैलोमा फर्केर पनि नआऊ ।
हिरालाल काकाको कुरा सुनेर भोट माग्न आउने हेरेको हेर्यै !