लामखुट्टेको टोकाइबाट सर्ने डेंगी हाल देशभर फैलिएको छ । मुलुकका ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङमा मात्रै भेटिएको छैन डेंगी । डेंगी देशव्यापी फैलिइरहेकै बेला अर्को रोग संक्रमणको जोखिम बढेको पाइएको छ । स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस संक्रमणको जोखिम उच्च रहेको औंल्याएको हो ।
विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले यही भदौ १५ देखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग संक्रमणको जोखिम उच्च रहेको बताएका छन् । उनका अनुसार सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिसको संक्रमण हुन्छ । यो अवधि ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फूल पार्ने समय भएकाले संक्रमणको उच्च जोखिम रहेको उनको भनाइ छ । लामखुट्टेले सुगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्दछन् र संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग लाग्छ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
विभागको तथ्यांकअनुसार गत जनवरीदेखि हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ६८० मध्ये ४२ जनामा यो रोगको संक्रमण पुष्टि भएको छ । कैलाली, चितवन, सर्लाही र सुनसरी जिल्लामा रोग संक्रमणबाट छ जनाको मृत्यु नै भइसकेको छ । त्यसैले यो रोगलाई सामान्यरुपमा लिन नहुने देखिएको छ । यो रोगको लक्षण बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुनेलगायत हुन् । यो रोगको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु अति आवश्यक हुन्छ । यसका लागि झुल टाँगेरमात्रै सुत्ने, हाँस, कुखुरा, सुगुरजस्ता जनावरलाई घरदेखि टाढा राख्ने, घर बाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिनेगरी कपडा लगाउने, घरको झ्याल ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्नुपर्ने हुन्छ । सामान्यतयाः लामखुट्टेले टोकेको छदेखि १६ दिनमा रोगका लक्षण देखापर्ने चिकित्सकहरुको भनाइ छ ।
जापानिज इन्सेफ्लाटिस धेरैजसो १५ वर्ष उमेर समूहभन्दा मुनिका बालबालिकामा हुने गर्छन् । त्यसैले सरकारले सन् २०१६ बाट १२ महिना उमेर पुगेका बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप दिँदै आएको छ । सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिने गरे पनि पछिल्लो समय सबै बालबालिकालाई उक्त खोप दिन सुरु गरिएको हो । १२ महिनामा खोप लगाउन छुटेका बालबालिकालाई पाँच वर्षसम्म खोप दिइने चिकित्सकको भनाइ छ ।
‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ’ भन्ने भनाइ यतिखेर सान्दर्भिक बन्नसक्छ । लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा पहिलो आवश्यकता हो । बालबालिका होस् या युवा या वृद्धवृद्धा, जो कसैलाई पनि लामखुट्टेले छाड्दैन । त्यसैले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक सतर्कता अपनाऔं । लामखुट्टे भगाउने अभियानलाई प्रभावकारी बनाऔं ।