सरकारले ५५ भन्दा बढी देशको लगानीकर्तालाई एकै ठाउँ राखेर तामझामपूर्ण तरिकाले दुई दिने लगानी सम्मेलन सकाएको छ । सरकार पटकपटक फेर्ने, मन्त्री बन्न लुछाचुँडी गर्ने दलका नेताहरुले लगानीमैत्री कानुन बनाउन कहिल्यै ध्यान दिएनन् । जसकारण सम्मेलनकै मुखमा अध्यादेश जारी गरेर जेनतेन लाज ढाकेर कार्यक्रम उद्घाटन भयो ।
अध्यादेशको टालो एकदम कमजोर कानुन हो । यो ६० दिनभित्र संघीय संसद्बाट पारित नभए स्वतः निस्क्रिय हुन्छ । अर्को कुरा संसद् नै छलेर ल्याएको यस्तो कानुनमा विदेशी लगानीकर्ता त्यति विश्वस्त हुन सक्दैनन् । लगानी सम्मेलनजस्तो महत्वपूर्ण कार्यक्रममा सरकारले यस्तो कच्चा काम गरेको छ कि जसकारण लगानीकर्ता प्रभावित हुनै सकेनन् । यसको मुख्य उदाहरण हो, लगानीका सोकेसमा राखिएका १५० परियोजनामा मुस्किलले केहीमा मात्र सम्झौता भयो ।
ती सम्झौता पनि ‘ह्याण्ड क्यास’, हैन उधारोमा । यसरी दुई प्रतिशत पनि सम्झौता नहुँदा पनि अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलन सफल भएको भन्दै डंक पिटेका छन् । देशमा बूढीगण्डकी परियोजना अघि बढाउने सपना धेरै अघिबाट हो । यस विषयमा लगानी सम्मेलनमा केही हुन सकेको छैन । चीनले दिने भनिएको बिआरआई परियोजनामा केही प्रस्ताव सरकारले अघि बढाउन सकेको छैन ।
काठमाडौं सहरको प्यास मेटाउने मेलम्चीको पानी पथान्तरण गर्न एसियाली विकास बैंकले लगानी गर्न चाहेकोमा सरकारले यसबारे केही निर्णय दिन सकेको छैन । कञ्चन बागमती बनाउने उद्देश्यसहित नागमती ड्याम बनाउने विषयमा एसियाली विकास बैंकको प्रस्तावमा सरकार कान थुनेर बसेको छ ।विद्युतीकरणमा समस्या देखिन थालेको बेला बंगलादेशदेखि भारतलाई बिजुली बेच्ने सपना सरकारले बाँडेको छ ।
यसपटकको लगानी सम्मेलनमा अधिकांश वक्ता नेपाली थिए र तिनको रटान थियो– लगानीका लागि नेपालमा राम्रो वातावरण छ । भारत तथा चीनबाट आएकाहरु अधिकांश नेपाली मुलकै प्रतिनिधि राखिएका थिए । वास्तावमा भन्नुपर्दा जायन्ट लगानीकर्ता थिएनन् । कार्यक्रममै उपस्थित भएकाहरुले देशमा स्थिर सरकार नभएको, कानुनमाथि विश्वास गर्न नसकिने खालका आशंका व्यक्त गरेका थिए ।
यस्तो अविश्वासको घेरामा राखेर गरिएको लगानी सम्मेलनको सार भनेको औचित्यविहीन भेला हो । पाहुनालाई गरिनुपर्ने न्यूनतम वातावरण पनि सरकारले सोल्टी होटलमा बनाइदिन सकेन । वास्तवमा भन्ने हो भने यो लगानी सम्मेलन मञ्च पाइनेबित्तिकै बोलीहाल्ने बानी लागेका सीमित नेपाली लगानीकर्ता र मन्त्री नेताका लागि ‘रिहर्सल’ गर्ने थलो बन्यो । अपेक्षित उपलब्धि सम्मेलनले दिन नसकेको प्रस्ट देखियो ।