सरकारले शिक्षा ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । संविधान जारी भएको आठ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न भनिएको विधेयकको व्यवस्थामा भने संघीयताविरोधी व्यवस्थालाई यथावत् राख्ने उल्लेख गरिएको छ ।संघीयता लागू भएसँगै हाल देशमा तीन तहको सरकार छ ।
संघीय, प्रदेश र स्थानीय सरकार संविधानले चिनेका सरकार हुन् । तर शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालयलाई ब्युँताउने व्यवस्थासमेत समेटिएको छ । २०७४ मा जिल्ला शिक्षा कार्यालय खारेज गरी शिक्षा विकास तथा समन्वय एकाइ बनाइएको थियो । विधेयकमा शिक्षा विभाग पनि ब्युँताइने प्रास्ताव आएको छ । यसअघि विभागलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइएको थियो । अब फेरि विभाग नै बनाउन लागिएको हो ।
सरकार आफैं संघीयताको मर्मविपरीत यस्तो कार्यमा बारम्बर लाग्नु यो पहिलो घटना हैन । तीन तहको सरकारमात्र चिन्ने संविधान भए पनि जिल्ला प्रशासन कार्यालय यथावत् चलिरहेको छ । प्रदेश संरचनामा जान मुख्य दलहरुले अप्ठेरो मानिरहेकै थियो । दलहरुले पनि जिल्ला कार्यसमितिलाई यथावत् राखिराखेको छ ।
दलहरु र संघीयताको पक्षधरहरुको दोहोरो नीति पनि अचम्मैको छ, यसअघि सरकारले बजेटमै जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालय एकाइको रुपमा राख्नेगरी व्यवस्था ल्याएको थियो । तर संसद्देखि सडकमा यसको चर्को विरोध भयो । जसले गर्दा सरकार नै पछि हट्नप¥यो यो निर्णयबाट । अहिले जिल्ला निर्वाचन कार्यालय यथावत् राखिएका छ ।
सरकार, संघीयता पक्षधर, नीति निर्माण तहमा बस्नेहरुको कानुन निर्माणको यो किसिमको दोधारे नीतिले जनतालाई रणभुल्ल पारेको छ । देशमा संघीयताको विरोधीले टाउको उठ्ने गर्ने कानुन हेरफेर हुनु कदापि राम्रो हैन । संघीयताले परिकल्पना गरेको निकाय राख्ने र बाँकी खारेज गर्ने अधिकार सरकारलाई छ । यसका लागि कानुन बनाउनैपर्ने बाध्यता सांसदहरुको हो । तर सांसदहरु कहिले निजी क्षेत्रका पक्षपोषणमा लाग्ने त कहिले सामुदायिक विद्यालयलाई ध्वस्त बनाउने रणनीतिमा नाच्दा अवस्था अहिलेसम्म फेरिएकौ छैन ।
धमिलो पानीमा माछा मार्ने कानुनविद् र राजनीति नेतृत्वमा रहेर दलाली गर्नेहरुलाई जनताले कदापि छाड्ने छैनन् । त्यसले कानुनले नचिन्ने निकायहरु खारेज गर्दै लानुपर्छ । यस्तो विषयमा सरकार कठोर भएर अघि बढ्नुपर्छ । नभए व्यवस्था जोगाउन चिन्ता भन्दै सुगारटाइ गरेरमात्र संविधान जोगिँदैन । त्यसैले विधेयकमा भएका संविधानविरोधी व्यवस्था सच्याऊ ।