काठमाडौं- आइसिएफसी फाइनान्स लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष सुशीलकुमार अर्यालको सभापतित्वमा काठमाडौंको बौद्धमा मंगलबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण, लाभांश वितरणलगायतका प्रस्तावसमेत पारित भएका छन्।
कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा फाइनान्सको कुल निक्षेप २२ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.१४ प्रतिशतले वृद्धि हो।
त्यस्तै, कर्जा लगानी १९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.०४ प्रतिशतले बढी हो। समीक्षा अवधिमा संस्थाको कुल वासलातको आकार २६ अर्ब २२ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
समीक्षा आर्थिक वर्षमा कम्पनीले २६ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको सभामा जानकारी गराइएको थियो। कम्पनीका अनुसार उक्त मुनाफा निर्धारित वार्षिक लक्ष्यको १०९.८४ प्रतिशत हो।
यसैगरी, फाइनान्सको चुक्ता सेयर पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँ पुगेको छ। सभाले चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारण सभामा सेयरधनीहरूले फाइनान्सका सम्बन्धमा उठाएका विभिन्न सवालहरूको जवाफ अध्यक्ष सुशीलकुमार अर्याल तथा प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले दिएका थिए।
सभामा फाइनान्ससँग आबद्ध कारोबारी कम्पनीका सञ्चालक, कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। विभिन्न कार्यक्रमसहित कम्पनीको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।