काठमाडौं- मणिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बत्तीसपुतली काठमाडौंको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। पुरानो बानेश्वरमा शुक्रबार सम्पन्न साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष बिमलकुमार निरौलाले गरेका थिए भने वरिष्ठ सल्लाहकार बालकृष्ण राई प्रमुख अतिथिका रूपमा सहभागी थिए।
साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष निरौलाद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। सभाले लेखा समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसमेत अनुमोदन गरेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, आगामी बजेटलगायत विभिन्न प्रस्तावहरू पनि सभाबाट पारित भएका छन्।
आर्थिक वर्ष २०८३ असार मसान्तसम्मको वासलातअनुसार संस्थाको शेयर पुँजी १ करोड ७९ लाख ९२ हजार २०० रुपैयाँ पुगेको छ। संस्थाको बचत तथा निक्षेप दायित्व २० करोड २ लाख ४१ हजार ५५८ रुपैयाँ रहेको छ भने ऋण लगानी २० करोड ८६ लाख ३९ हजार ९८० रुपैयाँ पुगेको छ।
संस्थाको जगेडा कोषमा १ करोड १० लाख २६ हजार २३५ रुपैयाँ रहेको छ। सो अवधिसम्म सहकारीले २३ करोड ४२ लाख ८६ हजार ९०२ रुपैयाँको कुल कारोबार गर्न सफल भएको जनाएको छ।

साधारण सभाले विभिन्न कालखण्डमा सञ्चालक समितिमा रिक्त रहेका पदहरूमा पदपूर्तिसमेत गरेको छ। कार्यक्रममा ज्येष्ठ सदस्य गुरुप्रसाद ढुङ्गाना र गीतादेवी रेग्मीलाई सम्मान गरिएको थियो।
त्यसैगरी उत्कृष्ट बचत कारोबारतर्फ समीर खड्का र रविना राई, उत्कृष्ट कर्जा कारोबारतर्फ आशिष रिमाल र बिमला कार्की तथा उत्कृष्ट कर्मचारी वर्ष २०८२/८३ बाट दावा तामाङलाई सम्मान गरिएको थियो।
सहकारीले नियमित बचत तथा ऋण सेवा विस्तार, वित्तीय परामर्श, सदस्य शिक्षा, वित्तीय साक्षरता तथा सदस्य भेटघाटलगायतका कार्यक्रमलाई प्राथमिकतामा राख्दै सदस्य सेवा र हित संरक्षणमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
हाल संस्थामा ९५५ पुरुष र १ हजार १४ महिला गरी कुल १ हजार ९६९ सदस्य आबद्ध रहेका छन्। साधारण सभामा सहकारीकर्मी, सहकारी अभियन्ता, समाजसेवी तथा संस्थासँग आबद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो।
विभिन्न कार्यक्रमसहित सम्पन्न साधारण सभाले आगामी दिनमा संस्थाको वित्तीय सेवा थप प्रभावकारी बनाउँदै सदस्यकेन्द्रित गतिविधिलाई निरन्तरता दिने जनाएको छ।