काठमाडौं- म्हेपी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नयाँ बजार काठमाडौंको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार नयाँ बजारमा संस्थाका अध्यक्ष रत्नशंकर जोशीको सभापतित्वमा सम्पन्न साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्नुका साथै लाभांश वितरणसम्बन्धी प्रस्तावसमेत अनुमोदन गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, आगामी आर्थिक वर्षको अनुमानित बजेट, नीति तथा कार्यक्रमलगायत विभिन्न प्रस्तावहरू सभाले पारित गरेको छ।
साधारण सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलातअनुसार संस्थाको शेयर पुँजी १ करोड ५८ लाख १३ हजार २०० रुपैयाँ पुगेको छ। निक्षेप दायित्वतर्फ ७ करोड ७१ लाख १३ हजार ६०३ रुपैयाँ रहेको छ भने कर्जा लगानी १० करोड ९३ लाख ३७ हजार ६८९ रुपैयाँ पुगेको जनाइएको छ।
त्यस्तै, संस्थाको जगेडा कोषमा २ करोड ८६ लाख ८० हजार ८७५ रुपैयाँ रहेको छ। विभिन्न कारोबारसहित असार मसान्तसम्म संस्थाको कुल कारोबार १६ करोड ५७ लाख ३३ हजार २९५ रुपैयाँ बराबर पुगेको प्रतिवेदनमा उल्लेख छ। साधारण सभाका अवसरमा ज्येष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, नियमित बचतकर्ता तथा उत्कृष्ट ऋणी सदस्यलगायतलाई सम्मान गरिएको थियो।
सभामा सहकारीको वर्तमान अवस्थाबारे सदस्यहरूलाई जानकारी गराउँदै संस्थाले प्रतिकूल परिस्थितिमा निर्वाह गरेको भूमिका, वित्तीय अनुशासन, सामाजिक उत्तरदायित्व, सदस्य सहभागिता, प्रविधिमैत्री सहकारीको विकास, लगानी जोखिम न्यूनीकरण, वित्तीय शिक्षा तथा पारदर्शितालगायतका विषयमा छलफल तथा जानकारी प्रदान गरिएको थियो।
संस्थाका विभिन्न गतिविधि तथा आगामी कार्यदिशाबारे समेत सदस्यहरूलाई जानकारी गराइएको थियो। विविध कार्यक्रमसहित सम्पन्न साधारण सभामा सदस्यहरूको सहभागिता रहेको थियो।