ललितपुर- क्यारिना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुलचोक ललितपुरको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। धोबीघाट, ललितपुरमा संस्थाका अध्यक्ष चेतबहादुर बिष्टको सभापतित्वमा सम्पन्न साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष बिष्टद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण तथा लेखा समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेटसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायत विभिन्न प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिएको छ।
साधारण सभामा सञ्चालक समितिद्वारा प्रस्तुत वासलातअनुसार संस्थाको शेयर पुँजी ५ करोड ४९ लाख ३० हजार रुपैयाँ पुगेको छ। निक्षेप दायित्वतर्फ ५३ करोड ५१ लाख ८३ हजार ७३१ रुपैयाँ रहेको छ भने कर्जा लगानी ४८ करोड ६५ लाख ९५९ रुपैयाँ पुगेको जनाइएको छ।
त्यस्तै, संस्थाको जगेडा कोषमा ५ करोड ३८ लाख ३९ हजार ६१५ रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म विभिन्न कारोबार गरी संस्थाले ६८ करोड ४ लाख ६९ हजार १९२ रुपैयाँ बराबरको कुल कारोबार गरेको सभामा जानकारी गराइएको थियो।
सभामा आगामी दिनमा संस्थाले नीतिगत कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्दै सदस्यहरूको सक्रिय सहभागिता र संस्थाप्रतिको अपनत्व बढाउने, ऋण लगानी तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने र सदस्य केन्द्रित सेवा विस्तार गर्ने जनाएको छ।
संस्थाले नयाँ सदस्य थप गर्दै शेयर पुँजी वृद्धि, सदस्य सुविधा विस्तार, कर्जा व्यवस्थापन तथा ऋण असुलीमा प्रभावकारिता, प्रविधिमैत्री सदस्य सेवा, व्यवसाय विविधीकरण तथा पर्याप्त तरलता व्यवस्थापनलाई प्राथमिकतामा राख्ने जनाएको छ। यी नीतिका माध्यमबाट संस्थाको कारोबार विस्तार गर्दै आगामी दिनमा कुल कारोबार ७० करोड रुपैयाँभन्दा माथि पुर्याउने लक्ष्य लिइएको सभामा जानकारी दिइयो।
साधारण सभामा सहकारीकर्मी तथा अभियन्ता, आर्थिक विज्ञ, डाक्टर, प्राध्यापक, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, संस्थामा आबद्ध सदस्य, कारोबारी तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो। विभिन्न विषयमा छलफल तथा शुभकामना आदानप्रदानसहित साधारण सभा सम्पन्न भएको थियो।