काठमाडौं- सानीमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार नक्सालस्थित भाटभटेनीमा बैंकका अध्यक्ष टुकप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को नाफा-नोक्सान विवरण तथा नगद प्रवाह विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत अनुमोदन गरेको छ। साथै, बैंकको नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पनि सभाबाट पारित भएको छ।
बैंकका अनुसार समीक्षा वर्षको असार मसान्तसम्म बैंकको निक्षेप गत आर्थिक वर्षको तुलनामा १०.८४ प्रतिशतले वृद्धि भई २ खर्ब ४९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा लगानी ११.१९ प्रतिशतले वृद्धि भई खुद कर्जा लगानी २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
बैंकले वितरणयोग्य मुनाफाबाट साधारण सेयरको चुक्तापुँजीमा २०.८६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहे पनि दोहोरो अंकको लाभांश वितरण गर्ने उद्देश्यले १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ। कर्जा असुलीलाई उच्च प्राथमिकतामा राखिएका कारण बैंकको खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।
यसैगरी, हालै आएको बाढीबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ जम्मा गरेको जानकारी पनि साधारण सभामा गराइएको थियो। सभामा उपस्थित सेयरधनीहरूले बैंकको वित्तीय अवस्था, आगामी योजना तथा अन्य विषयमा राखेका जिज्ञासाको अध्यक्ष पौडेल, प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्य तथा बैंकका अन्य पदाधिकारीहरूले जवाफ दिएका थिए।
साधारण सभामा सञ्चालक समितिका पदाधिकारी, बैंकका कर्मचारी, सेयरधनी तथा कारोबारीलगायतको उपस्थिति रहेको थियो। शुभकामना आदान-प्रदानसहित सभा सम्पन्न भएको बैंकले जनाएको छ।