काठमाडौं- अङ्कुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धुम्बाराही काठमाडौँको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। धुम्बाराहीमा सम्पन्न साधारण सभाले संस्थाका अध्यक्ष राजन कुमार आचार्यद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गरी पारित गरेको छ। साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक, लाभांश वितरणलगायतका प्रस्तावसमेत सभाबाट पारित भएका छन्।
सभामा प्रस्तुत आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी २ करोड ५८ लाख ३९ हजार ७०० रुपैयाँ पुगेको छ। संस्थाको निक्षेप दायित्व २० करोड ५ लाख २२ हजार ७४९ रुपैयाँ रहेको छ भने कर्जा लगानी २० करोड ९३ लाख ३८ हजार १५८ रुपैयाँ पुगेको छ।
त्यस्तै, संस्थाको जगेडा कोषमा २ करोड ३३ लाख ३८ हजार १८४ रुपैयाँ रहेको छ। असार मसान्तसम्म अङ्कुर सहकारीले २५ करोड ४१ लाख २६ हजार ९२४ रुपैयाँ बराबरको कुल कारोबार गरेको जनाइएको छ।
साधारण सभाको अवसरमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयरधनीका छोराछोरीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा ज्येष्ठ नागरिक, समाजसेवीलगायत विभिन्न व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो। साथै विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो।
सहकारीकर्मी, सहकारी अभियन्ता, समाजसेवी, संस्थासँग आबद्ध कारोबारी, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रममा संस्थाका गतिविधि तथा आगामी योजनाका विषयमा समेत छलफल गरिएको थियो।
विविध कार्यक्रमसहित सम्पन्न साधारण सभाले संस्थाको आगामी कार्यदिशा तथा वित्तीय गतिविधिलाई थप व्यवस्थित बनाउँदै सदस्यकेन्द्रित सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।