विश्व खेलकुदमा राष्ट्रको पहिचान स्थापित गर्ने र मुलुकको छवि उच्च बनाउने मुख्य माध्यम खेलकुद नै हो। स्रोत र साधनको सीमितता, आन्तरिक प्रशासनिक किचलो र दीर्घकालीन रणनीति अभावका बावजुद पनि हाम्रा खेलाडीहरूले वैदेशिक मञ्चमा देखाउने अदम्य साहस र खेलकौशल सधैं प्रशंसनीय रहँदै आएको छ।
एसियाली खेलकुद (एसियाड) को सात दशक लामो इतिहासमा नेपालको सहभागिता निरन्तर रहँदै आएको छ। सन् १९५१ मा भारतको नयाँदिल्लीमा सम्पन्न पहिलो संस्करणदेखि सुरु भएको यो यात्रामा नेपाली खेलाडीहरूले हरेक पटक नयाँ उत्साह, सम्भावना र पदकको आशा बोकेर देशको प्रतिनिधित्व गर्दै आएका छन्। हालसम्मको यात्रामा नेपालले तीन रजत र २३ कास्य गरी कूल २६ पदक आफ्नो नाममा लेखाउन सफल भएको छ। तर, सात दशकभन्दा लामो यो गौरवपूर्ण यात्रामा एउटा ठूलो प्रश्न र अधुरो सपना अझै पनि अनुत्तरित छ– नेपालले एसियाडको मञ्चमा कहिले स्वर्ण पदक जित्दै राष्ट्रिय धुन गुञ्जाउने छ ?
जापानको आइची–नागोयामा शनिबारदेखि सुरु भएको २०औं एसियाली खेलकुदले नेपाली खेलकुदको इतिहासमा यही अधुरो सपना पूरा गर्ने नयाँ आशा र सम्भावनाको दैलो उघारेको छ। यसपटक राष्ट्रिय खेलकुद परिषद्ले केवल सहभागितामा सीमित नरहेर नतिजामुखी बन्ने दिशामा देखाएको तत्परता स्वागतयोग्य छ। पूर्वखेलाडी दीपक विष्टको नेतृत्वमा केही सम्भावित खेलहरूलाई लगातार तीन वर्षसम्म विशेष प्रशिक्षणमा राखिनु र पर्याप्त लगानी गरिनुले यसपटक टोलीको तयारी विगतकोभन्दा भिन्न र परिपक्व रहेको संकेत गर्दछ। २१ खेलका १३५ जना प्रतिभावान खेलाडी (५७ महिला र ७८ पुरुष) आफ्नो सम्पूर्ण सामथ्र्यका साथ नागोयाको मैदानमा उत्रिँदै छन्। टोलीले राखेको ‘दोहोरो अंकको पदकसहित स्वर्ण पदक जित्ने’ लक्ष्य केवल एउटा औपचारिक घोषणामात्र नभई आमनेपाली खेलप्रेमीहरूको साझा अपेक्षा पनि हो।


व्यक्तिगत र टोलीगत दुवै स्पर्धामा यसपटक पदकका बलिया सम्भावनाहरू देखिएका छन्। विगतका संस्करणहरूमा हासिल भएका सफलता र अन्तर्राष्ट्रिय मञ्चको प्रदर्शनलाई हेर्दा मार्सल आर्टस् (खासगरी कराते, बक्सिङ र ताइक्वाण्डो) पुनः नेपालका लागि पदकका मुख्य आधार हुन्। ६८ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गरिरहेकी कराते खेलाडी एरिका गुरुङ र विश्व च्याम्पियनसिपमा ऐतिहासिक कास्य पदक जितेका बक्सर चन्द्रबहादुर थापामगरबाट सिंगो देशले स्वर्ण पदकको ठूलो आशा राखेको छ। त्यसैगरी, विगतमा कास्य पदक जितिसकेको महिला कबड्डी टोली, उच्च मनोबलका साथ मैदानमा उत्रिने पुरुष क्रिकेट टोली र महिला भलिबल टोलीको उपस्थितिमा टोलीगत स्पर्धामा पनि नेपालले नयाँ इतिहास रच्ने सम्भावना प्रबल छ।
विश्व खेलकुदमा राष्ट्रको पहिचान स्थापित गर्ने र मुलुकको छवि उच्च बनाउने मुख्य माध्यम खेलकुद नै हो। स्रोत र साधनको सीमितता, आन्तरिक प्रशासनिक किचलो र दीर्घकालीन रणनीति अभावका बावजुद पनि हाम्रा खेलाडीहरूले वैदेशिक मञ्चमा देखाउने अदम्य साहस र खेलकौशल सधैं प्रशंसनीय रहँदै आएको छ। नागोया एसियाडमा नेपालको उपस्थितिलाई अब केवल औपचारिक सहभागिताको दायराभित्र राखेर हेर्न मिल्दैन; यो त नेपाली खेलकुदको नयाँ युगको सुरुआत र सफलताको नयाँ मानक स्थापना गर्ने अवसर हो।
अनेकौं चुनौतीकाबीच आफ्ना पसिना, मिहेनत र देशप्रतिको समर्पण बोकेर जापानको मैदानमा देशको झण्डा बोकिरहेका सम्पूर्ण १३५ जना खेलाडी, प्रशिक्षक तथा टोलीका सदस्यहरूलाई हार्दिक शुभकामना! मैदानमा देखाइने हरेक खेलकौशल र जितले तीन करोड नेपालीलाई गौरवान्वित बनाउने छ। आशा छ, नागोया एसियाड नेपाली खेलकुदका लागि स्वर्ण इतिहास लेखिने एउटा स्वर्णिम मोड साबित हुने छ। नेपाली खेलाडीहरूलाई सफलताको अग्रिम शुभकामना !