ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाधिवेशन प्रक्रियामा सहभागी भएर एकताको सन्देश दिन आग्रह गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र उनीपक्षका वरिष्ठ नेताहरूलाई यस्तो आग्रह गरेका हुन्।
सभापति थापाले देउवालाई पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिन पनि आग्रह गरे। उनले सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकबद्ध बनाएर राख्ने बताए। पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भएको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने उनको भनाइ छ।
'अड्किएका सबै कुरा सम्बोधन भएका छन्, नेपाली कांग्रेस एउटा परिवार हो, सबैलाई समेटेर जान्छौँ, तोकिएको तिथिमा अधिवेशन गर्नुपर्ने कुरामा हामी बाँधिएका छौँ, हामी सबै एक ठाउँमा उभिएर रहेका छौँ, सँगै बसेर अधिवेशन गर्नु नपर्ने कुनै कुरा छैन, पार्टीलाई एक बनाउने भनेको नेता मात्रै मिलाउने हैन, रिसाएर कांग्रेस छोडेकाहरुलाई जोड्नु आवश्यक छ, यही असोज १६ गते खुला मञ्चमा महाधिवेशन उद्घाटन गर्छौँ,” सभापति थापाले भने।
पार्टीको महाधिवेशन टुङ्ग्याएर जनतासामु जाने उल्लेख गर्दै उनले देशभरका पार्टी कार्यकर्ता तथा नेताहरूलाई एकताबद्ध हुन आग्रह गरे। उनले पार्टीभित्र कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्ने रूपमा नभई सबैले केही न केही लचकता अपनाएर पार्टीको हितमा सहमति गरेको विषयका रूपमा लिन आग्रह गरे।
'मतभिन्नता हुनु स्वाभाविक हो, त्यसलाई व्यक्तिगत विवाद नबनाई संवाद र सहमतिबाट समाधान खोज्नुपर्छ, पार्टीभित्रको एकता केवल नेताहरूबीचको एकतामा सीमित नराखी पार्टीबाट टाढिएका पुराना समर्थक तथा मतदातालाई समेत पुनः जोड्नुपर्छ,' उनले भने।
कांग्रेसभित्र लामो समयदेखि देखिएका मतभेद र महाधिवेशनसम्बन्धी विवाद समाधान गर्न विभिन्न चरणमा निरन्तर संवाद हुँदै आएका थिए। विशेष महाधिवेशनपछि पनि पार्टीभित्र र नेताहरूबीच छलफल जारी रहेको तथा त्यसै क्रममा विभिन्न प्रस्ताव र सुझावका आधारमा सहमतिको वातावरण बनेको सभापति थापाको भनाइ थियो।