बागमती- बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उहाँले योगको प्रबद्र्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए।
योग र ध्यानका माध्यमबाट नसर्ने रोगबाट ग्रसित वर्तमान समाजलाई मुक्त गराउन सहयोग पुग्ने बताउँदै उनले चिकित्सकका अनुसार नसा, थाइराइड, सुगर, प्रेसरबाट बच्नका लागि योगको महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर।
मुख्यमन्त्री थापा मगरले बिहानको समयमा मोबाइल हेर्नभन्दा कम्तीमा एक घण्टा योग साधनामा समय दिन सबै नागरिकलाई आग्रह गरे।
कात्तिक १३ गतेदेखि आजसम्म सञ्चालन भएको बृहत् योग विज्ञान शिविरमा दुई हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित बनेको पतञ्जली योग समिति, मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए।
पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र प्रमुख प्रशिक्षकका रुपमा रहेका शिविरमा योगाभ्यास, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।
हेटौँडा-७ स्थित नवज्योति माध्यमिक विद्यालयको फुटबल मैदानमा प्रत्येक दिन बिहान ५ः०० बजेदेखि ७ः०० बजेसम्म योग शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।