काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस र आफूलाई जोडेर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र आरोपहरू निराधार तथा कपोलकल्पित भएको बताएका छन्।
सभापति थापाको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र असफलताबाट ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलमाथि सुनियोजितरूपमा यस्ता भ्रम फैलाइएको दाबी गरेको छ।
विज्ञप्तिमा नेपाली कांग्रेसले पार्टीको विधान, प्रचलित कानुन, निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतको आदेशअनुसार नै महाधिवेशन सम्पन्न गरी अगाडि बढेको उल्लेख छ। जब-जब सरकार लोकतन्त्र र नागरिक स्वतन्त्रताको खिलाफमा जान्छ, तब-तब कांग्रेसविरुद्ध षड्यन्त्र बुनेर भ्रम सिर्जना गर्ने प्रवृत्ति विगतदेखि नै दोहोरिँदै आएको विज्ञप्तिमा भनिएको छ।
सचिवालयले बिचौलियासँग सम्बन्धित विषय र अन्य सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने र दोषी जो-कोही भए पनि कानुनी कारबाही गरिनुपर्ने कुरामा सरकारलाई पूर्ण साथ रहने स्पष्ट पारेको छ।
तर अनुसन्धानको पारदर्शीतामाथि प्रश्न उठाउँदै विज्ञप्तिमा भनिएको छ, "नेपाल प्रहरीको छापसहित अनुसन्धानका तथ्य र कथित बयानहरू चयनात्मक ढंगले बाहिर ल्याइनुले प्रमाण लुकाउने वा अनुसन्धान नै प्रभावित गर्ने आशंका उत्पन्न भएको छ।"
कांग्रेसले कुनै पनि निष्पक्ष अनुसन्धानबाट पछि नहट्ने तर अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा गरिने षड्यन्त्र स्वीकार्य नहुने चेतावनी दिएको छ। यस विषयमा पार्टीको संसदीय दललेसमेत निष्पक्ष छानबिनका लागि निर्णय गरिसकेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा प्रमाण र तथ्यका आधारमामात्रै जिम्मेवार ढंगले विषय प्रस्तुत गर्न सञ्चारमाध्यमलाई अनुरोध गर्दै अपुष्ट सूचनाको भ्रममा नपर्न आम नागरिकलाई आग्रह गरिएको छ।