काठमाडौं– विनापुर्जी पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी परिचालन गर्ने घटनाको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह र उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले व्यंग्य र चेतावनीपूर्ण अभिव्यक्ति दिन थालेका छन् ।
प्रधानमन्त्री कार्यालयले २८ जना पत्रकार पक्राउ गर्न खोजेको भन्ने समाचार आइतबार प्रकाशित भएपछि बेनले केही पत्रकारलाई ‘मेन्सन’ गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘यो २८ जना पत्रकारमा को–को प¥योे हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो ।’
बेनको स्टाटसमा प्रधानमन्त्री शाहले पनि ठट्याउली शैलीमै प्रतिक्रिया दिए । उनले लेखे, ‘कुपोण्डोल जानेमात्रै पत्रकार ? अरू कलाकार ?’
त्यसको केही घण्टापछि प्रधानमन्त्री शाहले स्टाटस लेख्दै चेतावनी दिए । उनले लेखे, ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’
प्रधानमन्त्रीको उक्त स्टाटसमा सल्लाहकार बेनले नै टिप्पणी गर्दै ‘सही समय कहिले आउँछ ? शनिबार कि आइतबार ?’ लेखेका छन् ।
यसरी सामाजिक सञ्जालमा प्रधानमन्त्री र उनका प्रमुख राजनीति सल्लाहकारले गम्भीर विषयलाई सामान्य व्यक्तिले जसरी ख्यालठट्टाको विषय बनाइएकोप्रति सरोकारवालाले गम्भीर आपत्ति जनाएका छन् । प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई दुई कोणबाट विश्लेषण गरिएको छ । पहिलो, यसअघि पक्राउ गर्न खोजिए पनि फेला नपरेका पत्रकारलाई पक्राउ गर्ने । दोस्रो, पत्रकार पक्राउको विरोध गर्नेहरू पनि उम्किँदैन ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले उनीहरूको अभिव्यक्तिले प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय कानुन, संविधान र स्थापित मान्यताकै उपहास गरेको बताएका छन् । दाहालले प्रभावसँग भने, ‘यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान, हाम्रा कानुनहरू र स्थापित मान्यताहरूकै हाँसीमजाक गरेका हुन् ।’
फ्रिडम फोरमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले प्रधानमन्त्री शाह र उनका सल्लाहकार बेनको स्टाटस पत्रकार पक्राउको घटनाबाट उठेको आलोचना विषयान्तर गर्ने प्रयासका रूपमा टिप्पणी गरेका छन् । ‘पत्रकारलाई समाचार लेखेकै आधारमा विनापुर्जी पक्राउ गरिएको घटनाको चौतर्फी आलोचना भएपछि ध्यान अन्तै मोड्न खेलिएको खेल हो यो,’ उनले भने ।
दाहालले प्रधानमन्त्री र उनका प्रमुख राजनीतिक सल्लाहकारका स्टाटस टिप्पणी गर्नलायकसमेत नरहेको बताए । उनले भने, ‘प्रधानमन्त्री र उनका प्रमुख राजनीतिक सल्लाहकारका स्टाटस टिप्पणीलायक छैनन् । यस्ता हावादारी स्टाटस ।’
गत शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका सम्पादक शोभराज बराल र डिएनए खबरका प्रधानसम्पादक धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई समाचारसँग सम्बन्धित विषयमा सोधपुछ गर्न भन्दै अपराध अनुसन्धान कार्यालय टेकु लगिएको थियो ।
त्यस्तै, नयाँ पत्रिका दैनिकका सुरक्षा संवाददाता नवराज मैनालीलाई पक्राउ गर्न प्रहरी टोली समाचारकक्षभित्रै पुगेको थियो । पक्राउ पुर्जी र कानुनी आधार मागेपछि प्रहरी उनलाई लिएर जान सकेन । सोही दिन अनामनगरस्थित दियो पोस्टको कार्यालयमासमेत प्रहरी पुगेको थियो ।
नेपाल प्रेसले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाउने तयारी भइरहेको समाचार प्रकाशित गरेको थियो । नयाँ पत्रिकाले सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल र बिचौलिया इनम सापकोटाबीचको ह्वाट्सएप संवाद सार्वजनिक गरेको थियो । त्यस्तै, दियोपोस्टले प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीश फुयाल र रास्वपा सांसद विश्वराज पोखरेलको नाम जोडिएको ह््वाट्सएप संवाद सार्वजनिक गरेको थियो ।
लगत्तै प्रधानमन्त्रीको सचिवालयले प्रहरीलाई ती सञ्चारगृहका पत्रकारहरूलाई पक्राउ गर्न पटक–पटक दबाब दिएको विवरण सार्वजनिक भएको थियो । तर, प्रधानमन्त्रीको सचिवालयले भने सुरुमा पत्रकार पक्राउको घटनाबारे अनभिज्ञता प्रकट गर्दै प्रधानमन्त्री कार्यालयको निर्देशन र संलग्नता नभएको दाबी गरेको थियो ।
यो घटनाको नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, नेपाल बार एसोसिएसन, राजनीतिक दल तथा नागरिक समाजले विरोध गरेका छन् । व्यापक विरोधपछि नियन्त्रणमा लिइएका पत्रकारलाई शुक्रबार साँझ रिहा गरिएको थियो । तर, पक्राउको कानुनी आधार र अदालतको अनुमति अझै पनि सार्वजनिक भएको छैन ।