- ‘वी आर द स्टेट’ भन्दै वालेन सरकार हुकुमी शासन चलाउन उद्धत भएको दाबी
- देशलाई ‘पुलिस स्टेट’ बनाउन खोजिएको आरोप
- न्यायपालिकाको निष्पक्षतामाथि गम्भीर प्रश्नः इनम सापकोटा प्रकरणले कांग्रेसलाई चिन्तित बनाएको भनाइ
- सरकारलाई आर्थिक सुधारमा केन्द्रित हुन थापाको सुझाव
- ‘लाइक’ र ‘कमेन्ट’को राजनीतिमा रमाइरहेको भन्दै प्रधानमन्त्री शाहमाथि थापाको तीखो व्यंग्य
काठमाडौं– फागुन २१ को निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार स्वेच्छचारी ढंगले अघि बढिरहेको छ । सुशासनको नारा उछालेर सत्तामा पुगेको दलको सत्ताले कहिले सञ्चारमाध्यमका अगाडि बेबारिसे सवारीसाधन रोकेर त्रास फैलाउने त कहिले समाचारकक्षमै प्रवेश गरेर सञ्चारकर्मीमाथि धरपकड गर्ने ।
यस्तो अवस्थामा जनताबाट चुनिएका प्रधानमन्त्री र सरकारलाई प्रश्न गर्ने र अडिट गर्ने ठाउँ हो, प्रतिनिधिसभा । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा सरकारको कदमको कडारुपमा प्रतिवाद गर्न सकेन । जसकारण धेरैले कांग्रेसमाथि लगाउने आरोप हो– रास्वपाकै पछि लाग्यो प्रतिपक्षी ।
संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता हुन्, भीष्मराज आङ्देम्बे । बेलाबेला आङ्देम्बेले गरेका सम्बोधनहरु चर्चामा आए पनि प्रतिपक्षी दलहरुले सदनमा प्रतिवाद गर्ने जनमुखी विषयमा आवाज उठाउन चुकिरह्यो । पछिल्ला दिनमा त संसद् छलेर अध्यादेश ल्याउनेदेखि प्रशासन र प्रहरी तर्साउने काममा सरकार उद्धत छ नै । सामाजिक सञ्जालमा फट्टफुट्ट विरोध हुँदासमेत प्रतिपक्षी मौन देखिएको थियो ।
बलियो प्रतिपक्षीको अभाव खट्किरहेको बेला कांग्रेस सभापति गगन थापा प्रतिपक्ष अवतारमा प्रस्तुत भएका छन् । आइतबार दिउँसो सानेपामा सरकारले पत्रकार थुनेको विषयबाट सुरु गरेका थापाले राज्यले स्वेच्छाचारिताको सीमा नाघेको बताए । ‘प्रतिपक्षको निगरानी’ ब्यानर टाँगेर उनले प्रधानमन्त्री वालेन्द्र शाहले हुकुमी शासन सुरु गरेको आरोप लगाए । ‘अब एउटा सानो समूह छ, जसले ‘वी आर द स्टेट’ अर्थात् राज्य हामी नै हौं भन्न थालेको छ । हामीले बोलेको कुरा वक्तव्य होइन, हुकुम हो भन्ने ठान्न थालेको छ । राज्यका जति पनि निकाय छन्, संस्थाहरू छन्, अड्डा, अदालत र प्रहरी छन्, यी सबै हाम्रा निजी आदेश पालना गर्ने कार्यालय हुन् भन्ने सोच देखिन थालेको छ,’ थापाले भने, ‘यो भनेको के हो ? यो भनेको शक्तिको स्वेच्छाचारी प्रयोग हो । यो प्रवृत्तिले अब हद नाघेको छ । इट् क्रस द लिमिट । यसले हद नाघ्यो ।’

यसअघिका दिनमा कांग्रेसले रास्वपालाई साथ दिएको उल्लेख गर्दै उनले अबका दिनमा चुप नबस्ने चेतावनीसमेत दिए । ‘जहाँ साथ दिनुपर्ने दिन्छौं, जहाँ सहयोग गर्नुपर्ने गर्छौं । तर जहाँ डेमोक्रेसीको कुरा हुन्छ, लोकतन्त्रको कुरा हुन्छ, नागरिकको अधिकारको कुरा हुन्छ, जनताको मौलिक हकको कुरा हुन्छ र यी विषयहरुका सन्दर्भमा भने सरकारले सीमा नाघ्छ भने त्यो बेलामा फेरि हामी चुप बस्दैनौं । हामी आवश्यकता प¥यो भने प्रतिवाद र प्रतिरोध पनि गर्छौं । आज त्यस्तै परिस्थिति आएको छ,’ सभापति थापाले भने ।
पत्रकार पक्राउको प्रकरणसँग थापाले सिँचाइ विभागका महानिर्देशक र सुनकोसी–मरिण डाइभर्सन आयोजनाका कर्मचारीलाई प्रहरीले धरपकड गरेको विषयसमेत सम्बोधन गरे । प्रहरीले कर्मचारी र व्यवसायीलाई मनलाग्दी तरिकाले धरपकड गर्न लागेको उल्लेख गर्दै सभापति थापाले ‘पुलिस स्टेट’ बनाउन खोजिएको विषयलाई सामान्य रुपमा लिन नहुने बताए । ‘उठाऊ, उठाऊ केटो हो, बाटोबाटै उठाऊ भन्ने कुरा के हो ? यो कसरी भइरहेको छ ? किन भइरहेको छ ? हामीले पुलिस स्टेट बनायौं भने यसले हामीलाई कहाँ पु¥याउँछ ? यो विषयलाई सामान्य रूपमा लिनु हुँदैन भन्ने नेपाली कांग्रेस स्पष्ट पार्न चाहन्छ,’ सभापति थापाले भने ।
थापाले फिक्सरका रुपमा प्रचार गरिएका इनम सापकोटाले सर्वोच्च अदालतमा गरेको आर्थिक लेनदेनले कांग्रेसलाई चिन्तित तुल्याएको बताए । केही दिनयता थुनामा रहेका सापकोटाको कनेक्सन प्रधानन्यायाधीश डा. मनोज शर्मादेखि अन्य न्यायाधीशसम्मै रहेको गोप्य ह्वाट्सएप कुराकानी बाहिरिएसँगै यसको निष्पक्षतामाथि प्रश्न उठेको थापाको भनाइ थियो ।
‘प्रधानमन्त्री कार्यालयको हवाला दिएर अदालतमा चलिरहेको मुद्दाका सन्दर्भमा प्रधानमन्त्री वा कार्यपालिकाको चाहना यस्तो छ भनेर बिचौलियाले भनेको भन्ने विवरण बाहिर आएको छ । यस्ता कुरा भइरहेका छन् भने अदालत स्वतन्त्र छ त ? निष्पक्ष छ त ? निर्भीक छ त ? कतिपय आर्थिक लेनदेनका कुरा पनि बाहिर आएका छन् । यी विषय अत्यन्त गम्भीर छन् र यसले नेपाली कांग्रेसलाई चिन्तित बनाएको छ,’ थापाले भने ।
अर्थतन्त्र बलियो बनाउनेतिर सरकारको ध्यान जनुपर्नेमा जोड
सभापति थापाले देशको अर्थतन्त्र कमजोर भएको बेला यसलाई उकास्नतिर लाग्न सरकारलाई सुझाए । अहिले बैंकमा पैसा थुप्रिएको र अर्थतन्त्र टक्सिएको उल्लेख गर्दै थापाले यो अर्थतन्त्र सुधार्ने बेला भएको बताए । यस्तो बेला व्यवसायी वा पत्रकार उठाउनेभन्दा पनि अर्थतन्त्रलाई सुधार गर्नतिर सरकार लाग्नुपर्ने उनको भनाइ थियो । ‘बैंकमा पैसा थुप्रिएको छ । कर्जा परिचालन हुँदैन । विश्व बैंककै प्रतिवेदनअनुसार बैंकिङ प्रणाली दबाबमा छ । बैंकको पैसा उठेको छैन । साना उद्यमीले किस्ता तिर्न सकेका छैनन् । मूल्यवृद्धि अकासिएको छ । यस्तो बेलामा अर्थतन्त्रतर्फ फोकस्ड हुनुपर्ने हो । तर, यहाँ उहाँहरू कसलाई कहिले उठाउने भन्ने कुरामा केन्द्रित हुनुहुन्छ,’ थापाले भने ।
उनले सरकारले सबै क्षेत्रलाई तर्साएर शासन गर्न खोजेको भन्दै विश्वासको सबैभन्दा ठूलो समस्या देखिएको बताए । ‘कर्मचारी, व्यवसायी थुरथुर छन् । नेपाल प्रहरीमा त्यही समस्या छ । अदालतको हालत त्यस्तै छ । यसरी तर्साएर शिथिल भएको अर्थतन्त्रलाई अगाडि बढाउन सकिँदैन । अहिले डर होइन, विश्वास र भरोसा चाहिएको हो,’ उनले भने ।
सभापति थापाले अनुमान नै गर्न नसकिने अवस्थामा लगानी आउन नसक्ने र पछिल्लो समय एक रुपैयाँ पनि लगानी विदेशबाट नआएको भन्दै सुशासन र आर्थिक सुधारका लागि कांग्रेस २४सै घण्टा सरकारसँग मिलेर काम गर्न तयार रहेकोसमेत बताए । थापाले पक्राउ गर्दा र छाड्दा ‘लाइक’ र ‘कमेन्ट’ आएकोमा नै सरकार रमाइरहेको र आर्थिक सुधारका मुद्दामा ध्यानै नदिएको आरोप लगाए ।
‘समातेको मान्छे छाड्दा भरर लाइक आएकोमा लाइक र कमेन्टमा सरकार रमाइरहेको छ,’ उनले प्रधानमन्त्री शाहलाई व्यंग्य गर्दै भने ।