काठमाडौं- ताम्सालिङ संयुक्त संघर्ष समितिको संयोजकमा मिङमार तामाङ चयन भएका छन्। शनिबार यहाँ आयोजित समितिको प्रतिनिधि भेलाले तामाङलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो।
मोहन गोलेको संयोजकत्वमा गठित नेतृत्व तथा संरचना प्रस्ताव समितिबाट अघि बढाइएको प्रक्रियाअन्तर्गत नयाँ नेतृत्व अनुमोदन गरिएको हो। जिम्मेवारी स्वीकार गर्दै संयोजक तामाङले निवर्तमान नेतृत्वकर्ता डा. गणेश योञ्जन तामाङ, नेपाल तामाङ घेदुङ, सहभागी संघसंस्था तथा राजनीतिक घटक र अग्रजहरूको योगदानप्रति आभार प्रकट गरे।
समितिमा सहभागी संस्थाहरूको स्वतन्त्र अस्तित्व र स्वायत्तता कायम रहने साझा मञ्चका रूपमा संघर्ष समिति सञ्चालन हुने बताइएको छ। प्रस्तावित संरचनामा नेपाल तामाङ घेदुङबाट संस्थागत प्रतिनिधि सदस्यसचिव रहने तथा सहभागी राजनीतिक घटक र तामाङ संघसंस्थाको सचिवालयमा प्रतिनिधित्व रहने व्यवस्था छ। विस्तृत कार्यविधि र जिम्मेवारी सामूहिक निर्णयबाट टुंग्याइने जानकारी दिइएको छ।
दृष्टिकोण-२०३५: “पहिचानबाट नेतृत्वसम्म”
नयाँ नेतृत्वले सन् २०३५ सम्मका लागि तामाङ समुदायको दीर्घकालीन प्रगतिसम्बन्धी आकांक्षा प्रस्तुत गरेको छ। जसमा सक्षम, समावेशी र जवाफदेही नेतृत्वको विकासमार्फत नेपालको लोकतान्त्रिक शासन र सार्वजनिक नीति निर्माणमा प्रभावकारी योगदान गर्ने, शिक्षा, सीप, रोजगारी, कृषि, उद्यम र प्रविधिमा अवसर विस्तार गर्दै परिवार तथा समुदायको आर्थिक क्षमता बलियो बनाउने तथा तामाङ भाषा, ज्ञान, कला र जीवित सम्पदाको संरक्षण तथा पुस्तान्तरणसँगै समुदायको सहभागिता र लाभ सुनिश्चित हुने जिम्मेवार सांस्कृतिक पर्यटन विकासमा योगदान गर्ने उल्लेख गरिएको छ।
उक्त दृष्टिकोणलाई दीर्घकालीन दिशाका रूपमा प्रस्तुत गरिएको छ। यसअन्तर्गतका कार्यक्रम, स्रोत र मापनयोग्य लक्ष्य सामूहिक छलफल तथा अनुमोदनबाट निर्धारण गरिने बताइएको छ।
नयाँ कार्यकालका प्राथमिकतामा शिक्षा र सीपमा पहुँच, सार्वजनिक सेवामा समान व्यवहार, जलवायु अनुकूलन र विपद् पूर्वतयारी पनि समावेश छन्। महिला, युवा, अपांगता भएका व्यक्ति तथा आर्थिकरूपमा पछाडि परेका सहभागीलाई संस्थागत काम र निर्णय प्रक्रियामा अर्थपूर्ण अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।
ऐतिहासिक विभेद तथा वर्तमान अवसरको अवस्थाबारे प्रमाणमा आधारित अध्ययनलाई प्राथमिकता दिइने, विशेषतः समावेशी तथा आरक्षण व्यवस्थाबाट तामाङ समुदायले प्राप्त गरेको लाभ र पहुँचमा देखिएका अवरोधको तथ्यगत समीक्षा गर्ने प्रस्ताव अघि सारिएको छ।
सांस्कृतिक अभिलेखनमा तामाङ भाषा, ह्रुईसम्बन्धी ज्ञान, गीत, कथा, संस्कार र पुस्तान्तरण हुँदै आएको सीप समेट्दा सम्बन्धित समुदाय तथा ज्ञानधनीको सूचित सहमति, श्रेय र गोपनीयतालाई सम्मान गरिने उल्लेख छ। पहिलो सय दिनमा कार्यविधि र जिम्मेवारी स्पष्ट गर्ने, प्राथमिक आवश्यकताको अध्ययन सुरु गर्ने तथा सीप–रोजगारी र विपद् पूर्वतयारीसम्बन्धी सम्भावित साझेदारी अघि बढाउने प्रस्ताव छ। यी काम उपलब्ध स्रोत र सामूहिक अनुमोदनअनुसार कार्यान्वयन गरिने बताइएको छ।