ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारलाई सम्मान गर्दै सुशासन कायम गर्न सकिने बताएका हुन्।
“सरकारलाई जवाफदेही बनाउनु र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताको संरक्षण गर्नु प्रतिपक्षको दायित्व हो, कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ, लोकतन्त्र, नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रताको विषयमा सरकारले ध्यान दिनुपर्छ, हामी सरकारलाई जवाफदेही बनाउन तथा लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं,” सभापति थापाले भने।
सभापति थापाले सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै सञ्चारगृहमा प्रहरी प्रवेश हुनु सकारात्मक नभएको धारणा राखे। सञ्चारमाध्यममा प्रहरी परिचालन र पत्रकार पक्राउको घटनाले प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको भन्दै उनले त्यसमा प्रहरीका तर्फबाट आएका फरकफरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक गरिएका धारणाले झन अन्योल सिर्जना गरेको बताए।
सभापति थापाले घटनालाई सामान्य वक्तव्य जारी गरेर टुंग्याउन नहुने भन्दै त्यसको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरे। उनले सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्ने भन्दै राज्य सञ्चालनमा व्यक्तिगत इच्छा र आदेशलाई कानुनभन्दा माथि राख्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक हुने बताए। कानुनी शासनमा राज्यका सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उनले शक्तिको स्वेच्छाचारी प्रयोग स्वीकार्य नहुने बताए।
“सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्छ, सरकारमा बसेका व्यक्तिको इच्छा नै कानुन हो भन्ने सोच लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन। राज्यका निकाय कसैका निजी आदेश पालना गर्ने संस्था होइनन्,” सभापति थापाले भने। उनले सरकारको कामकारबाहीमा कानुनी प्रक्रिया, संस्थागत मर्यादा र नागरिक अधिकारको सम्मान अनिवार्य हुनुपर्ने बताए।
कानुनी शासनमा कसैले पनि कानुनभन्दा माथि रहेर काम गर्न नपाउने उल्लेख गर्दै सभापति थापाले सरकारका हरेक गतिविधि विधि र प्रक्रियासम्मत हुनुपर्नेमा जोड दिए।