- सोमबार साँझसम्ममा २८ जिल्लामा अधिवेशन सकाएको देउवा समूहले मंसिर ४ मा प्रदेश अधिवेशन गर्दै
- देशभर अधिवेशनमा उत्साहजनकरुपमा अधिवेशन सुरु भएको दाबी
काठमाडौं– आधिकारिता दाबी गर्दै नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सुरु गरेको जिल्ला अधिवेशन सोमबारसम्म २८ जिल्लामा सम्पन्न भएको छ । १५औं महाधिवेशन तयारी सचिवालय संयोजक दिपकप्रसाद कुइँकेलले आइतबारदेखि देशभर सुरु भएको जिल्ला अधिवेशन उत्साहजनक रुपमा भइरहेको बताए ।
अर्नब चक्रवातका कारण आएको वर्षाको प्रभाव पर्ने देखेर धेरै जिल्लामा मिति परिवर्तन भए पनि अधिवेशन धमाधम हुन थालेको कुइँकेलले बताए । ‘हामीले सोमबार साँझसम्म २८ जिल्लामा अधिवेशन सकाएका छौं,’ उनले भने, ‘प्रदेश अधिवेशन मंसिर ४ गतेका लागि तोकिएको छ । उक्त समयसम्ममा ७७ जिल्लाकै अधिवेशन सकिन्छ ।’
देउवा समूहको कार्यतालिकामा आइतबार अर्थात् कात्तिक १५ गते देशभर जिल्ला अधिवेशन तोकेको थियो । क्षेत्रीय अधिवेशन भने दसैंअघि नै असोज २३ गतेसम्म गर्न भनिएको थियो । यद्यपि कतिपय स्थानमा वडा अधिवेशनसमेत हुन सकेको छैन । देउवा समूहका महाधिवेशन संयोजक डा. शशांक कोइराला हुन् । यस महाधिवेशन निर्वाचन समितिका संयोजक एकराज पोखरेलका अनुसार मंसिर ४ सम्ममा जिल्ला अधिवेशन गर्न सकिने बताए । ‘कात्तिक १५ गते जिल्ला अधिवेशन हो । उक्त दिन नसके म्याद थप हुन्छ,’ पोखरेलले भने ।
कहाँ को भए जिल्ला सभापति ?
बैतडीको जिल्ला सभापति वीरबहादुर विष्ट चयन भएका छन् । विष्ट कांग्रेस सभापति गगननिकट पात्र हुन् । संखुवासभामा रामकुमार जिमी, भोजपुरमा धर्मराज राई र झापामा कृष्ण हुमागाईं जिल्ला सभापतिमा चयन भएका छन् ।
हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, रुकुम पश्चिममा नन्दबहादुर विष्ट, कालिकोटमा नगेन्द्र विष्ट, डोटीमा बाजीसिंह खड्का जिल्ला सभापति बनेका छन् ।
यसैगरी दैलेखमा दिनेशकुमार हमाल, दार्चुलामा सुरेन्द्र अवस्थी, सल्यानमा दीपक चन्द, बारामा राजेश राय यादव, धनुषामा कोमलकान्त झा जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
बागमतीको चितवनमा मिलनबाबु श्रेष्ठ, सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत निर्वाचित भएका छन् । प्युठानमा देवेन्द्र बर्मा, कपिलवस्तुमा राजेश सिंह, पर्वतमा यमबहादुर (रामकृष्ण) मल्ल, म्याग्दीमा हिराबहादुर पुन, रोल्पामा मानबहादुर खत्री निर्वाचित भएका छन् ।
कास्कीमा ऋषिलाल काफ्ले जिल्ला सभापति हुँदा बझाङमा हर्कजंगबहादुर सिंह कांग्रेस देउवा समूहका सभाति बनेका छन् । त्यसैगरी दाङमा गोपालराज शर्मा सर्वसम्मत सभापति बनेका छन् ।
देउवा फेरि सभापति बन्ने दाबी
कांग्रेस नेता मोहनबहादुर बस्नेतले कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । सोमबार सिन्धुपाल्चोकको बाह्रबिसेमा जिल्ला अधिवेशन उद्घाटनका क्रममा बस्नेतले गगन थापाका कारण देउवा फेरि प्रधानमन्त्री बन्ने योग आएको बताएका हुन् ।
सभापतिमा विधानतः लड्न नपाउने देउवालाई तीन महिनामात्र पर्खेको भए गगन स्वतः सभापति बन्नेमा विशेष महाधिवेशन गरेर बाटो बन्द गरेको बस्नेतको आरोप थियो । ‘निर्वाचनअघि महाधिवेशन नगरौं भन्दाभन्दै विशेष महाधिवेशन गरेर, तीन महिना कुर्न नसकेर चटके सभापति भएका छन् । अब देउवा ब्याक भइसकेका छन् । फेरि प्रधानमन्त्री भए अचम्म नमाने हुन्छ,’ बस्नेतले भने । बाह्रबिसेमा देउवा समूहले शक्ति प्रदर्शन गरेको थियो । सोमबार नै देउवा समूहले दाङ, बाजुरालगायत जिल्लामा पनि अधिवेशनअघि शक्ति प्रदर्शन गरेको थियो ।
महाधिवेशन खुल्लामञ्चमै
देउवापक्षले पनि १५औं महाधिवेशन काठमाडौंको खुलामञ्चमै गर्ने भएको छ । देउवापक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृतवमा १५औं महाधिवेशन तयारी समिति गठन गरेको छ । तयारी समितिको सचिवालयका प्रमुख दीपक कुइँकेलले खुलामञ्चमै उद्घाटन समारोह गर्ने तय भएको बताए ।
देउवापक्षले आउँदो मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तय गरेको छ । मंसिर २१ गते खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह हुने भएको छ । यसअघि विशेष महाधिवेशनबाट आएको गगन नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिले खुलामञ्चमा महाधिवेशन उद्घाटन गरेको थियो ।
महाविधेशन प्रतिनिधिलाई खानाको व्यवस्था भृकुटीमण्डपमा गर्ने तय भएको कुइँकेलले जानकारी दिए । त्यस्तै, निर्वाचनलगायत कार्यक्रम राष्ट्रिय सभागृहमा हुने छन् ।