काठमाडौं - मंगलबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा लगानीकर्ताले खासै कुनै परिवर्तन र बजारलाई टेवा पुग्ने नीति नदेखेपछि बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । मौद्रिक नीतिपछि नेप्से परिसूचक बढ्ने अपेक्षा थियो। तर त्यसो नभई नेप्से बुधबार ३०.०९ अंक घटेर २ हजार ६२१.५९ विन्दुमा झरेको छ ।
त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.९३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४२ अंकले घटेको छ। आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । कारोबारमा आएका ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता सेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।
हिजाे ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । केही कम्पनीको सेयर ६ प्रतिशतले वृद्धि भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १३.४१ प्रतिशत घटेको छ ।