काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६०५ रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको चार हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।