काठमाडौं- लेखक तथा पत्रकार हिक्मत डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा डंगोलको उपन्यास सार्वजनिकीकरणसँगै कृतिमाथिको विमर्श गरिएको थियो । सोही कार्यक्रममा तीन जना सर्जकलाई अभिनन्दन गरियो ।
अमेरिकामा लामो समय बसोबास गरेका डंगोलले अमेरिकाको सामाजिक परिवेश, आप्रवासी नेपालीहरूको जीवन, सम्बन्ध र बदलिँदो समयका यथार्थलाई समेटेर उपन्यास तयार पारेका हुन् । साहित्यकार अञ्जु मैनालीले उपन्यासको समीक्षा गर्दै विषयवस्तु, शैली, पात्र निर्माण र जीवनदृष्टिमाथि प्रकाश पारिन् । पत्रकार कपिल काफ्लेले उपन्यासमा लेखकले उठाएका सामाजिक, मनोवैज्ञानिक तथा प्रवासी जीवनका विविध आयाममाथि आफ्नो धारणा व्यक्त गरे । साहित्यकार ओमशंकर श्रेष्ठले ‘बदलिएको आकाश’ विश्वदृष्टिकोण, समय-परिवेश र समकालीन सामाजिक यथार्थको गहन अध्ययनपछि सिर्जना गरिएको कृति भएको उल्लेख गरे । यसले नेपाली डायस्पोराको अनुभवलाई फरक दृष्टिबाट प्रस्तुत गरेको उनको भनाइ थियो ।
विमर्शपछि आयोजित अन्तरक्रियामा सहभागीहरूले उपन्यासका विविध पक्षबारे जिज्ञासा राखेका थिए । कवयित्री लक्ष्मी रूम्बाले उपन्यास पढ्दै जाँदा यसको अन्त्य वियोगान्त हुने अपेक्षा गरे पनि सुखान्त भएकोप्रति प्रश्न उठाइन् । केही प्रसंगमा महिलालाई अलि होच्याइएको अनुभूति भएको धारणासमेत उनले व्यक्त गरिन् । अर्का सहभागीले उपन्यासको कथा लेखककै निजी अनुभवमा आधारित हो वा होइन भन्ने जिज्ञासा राखे ।
प्रश्नहरुको जवाफ दिँदै लेखक डंगोलले भने उपन्यासका पात्रहरू आफ्नो जीवनसँग मेल खाने बताए । ‘त्यो मेरो अनुभव हो, नमिल्ने पक्ष अरू पात्रहरूको जीवन हो । वास्तवमा यो उपन्यास दुःखान्त हुनुपर्ने थियो, तर मैले सुखान्त अन्त्य रोजेँ । कतै पाठकलाई अत्यधिक पीडा नहोस् भन्ने सोच पनि थियो,’ उनले भने ।