काठमाडौं- महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजीः सन्धान संग्रह’ को दोस्रो संस्करणको मंगलबार यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ।
यो पुस्तक द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैंगिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशन गरिएको हो।
त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. दुबीनन्द ढकाल, सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की, लैंगिक अध्ययन विभागकी प्रमुख जमुना शिवाकोटी, द स्टोरी किचेनका अध्यक्ष डा. जया लुईंटेललगायतले सो पुस्तकको संयुक्तरूपमा विमोचन गरेका थिए।
पच्चीस लेखकका आलेख समावेश सो पुस्तकमा नेपालका महिलाको अनुभव, संघर्ष तथा राजनीतिक सामाजिक आन्दोलनमा उनीहरूले पुर्याएको योगदान समेटिएको छ। सो कार्यक्रममा त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. ढकालले समाजमा बाहिर नल्याइएका धेरै विषयवस्तु सो पुस्तकमा समेटिएको उल्लेख गरे।
सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले सन्धान र पुस्तकको बाहिरी पृष्ठमा औँठाछापको प्रयोग गर्नुको अर्थ पहिल्याउँदै यस पुस्तकले हरेक महिलाको आफ्नै पहिचान प्रदान गरेको धारणा राखे। त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्यालले यस पुस्तकले नेपाली समाजभित्रका वैकल्पिक विषयको राम्ररी पहिचान र उठान गरेको स्पष्ट गरे।
समाजशास्त्री डा. मीना पौडेल, अधिवक्ता कुन्जनी परियार, महिला मानवअधिकारकर्मी श्यामकुमारी साह र जेन-जी अभियन्ता मोनिको निरौलाले पुस्तकले सामाजिक विविधताभित्रका विविध सवाल समेटेको बताए। त्रिवि लैंगिक अध्ययन केन्द्रीय विभागकी प्रमुख जमुना शिवाकोटी, द स्टोरी किचेनका अध्यक्ष डा. जया लुईंटेल, कार्यकारी सदस्य निर्मला ज्ञवालीले पनि सो पुस्तक र यसको प्रकाशन प्रक्रियाका बारेमा जानकारी गराएका थिए।