काठमाडौं- पूर्वप्रधानमन्त्री सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ प्रकाशन हुने भएको छ । पूर्वप्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको नेतृत्व गरिरहेको सबैभन्दा चुनौतीपूर्ण समयमा यो पुस्तक सिर्जना गरेकी हुन्।
जेनजी आन्दोलनले तत्कालीन सरकारलाई विस्थापित गरेपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहँदा राष्ट्र अनिश्चितताको भूमरीमा परेको बेलामा आफ्नो कल्पनाशीलता र सिर्जनशीलता कायम राख्दै बालमनोविज्ञानलाई केन्द्रमा राखेर यो कृति लेखेको उनले बताइन् । नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्कीले आफ्ना नातिलाई समर्पित गरेकाे यस पुस्तकले अपार प्रेम, आशा र सकारात्मकताको सन्देश दिन्छ ।
चराचुरुङ्गी र जनावरहरूबीचको अन्तरक्रियामार्फत उपन्यासले समानुभूति, सहकार्य, प्रेम र पारस्परिक निर्भरताको सन्देश प्रवाह गरेको छ । कौतुहल र मनोरञ्जनले भरिपूर्ण भएकाले कथावस्तु रोचक बनेको छ । पूर्वप्रधानमन्त्री कार्कीका दुई कृति ‘न्याय’ (संस्मरण) र ‘कारा’ (उपन्यास) नेपाली भाषामा यसअघि बजारमा आइसकेका छन् । उनी ‘लैङ्गिक समानता’ र ‘महिलावाद’ (नारीवाद) को लेखक पनि हुन् ।
पूर्वप्रधानमन्त्री कार्कीले पुस्तक अन्योल र अनिश्चितताको युगमा हुर्किरहेका विश्वभरका बालबालिकाका लागि उपहार रूपमा आएको बताइन् ।