देशलाई आत्मनिर्भर नबनाई स्वदेशमै युवालाई रोजगारी र आर्थिक अवसर सिर्जना नगरी भूमण्डलीकृत विश्वमा नेपालजस्ता देशहरुले यस्ता घटनाहरुको प्रताडना खेप्नुको कुनै गुञ्जायस छैन । युद्धका असरहरु बहुआयामिक छन् । जति धनीहरुलाई असर छ, त्यो भन्दा कयौं गुणा असर गरिब देशलाई पर्दछ । यस युद्धले नेपालको आर्थिक तथा सामाजिक अवस्थामा नै असर गर्ने देखिन्छ । युद्ध सुरु भएयता नेपालकै पनि अनगिन्ती अन्तर्राष्ट्रिय अडान रद्द भएका छन् । मध्यपूर्वको युद्धले हाम्रो जस्तो श्रम निर्यातक एवं रेमिट्यान्समा निर्भर देशहरुलाई ठूलै झड्का लाग्ने सम्भावना छ
पश्चिम एसियाको इस्लामिक गणतान्त्रिक देश इरानमा फेबु्रअरी २८, २०२६ का दिनबाट सुरु भएको युद्धको क्रममा अहिलेसम्म एक हजार २५० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार अमेरिका, इजरायल र इरानबीच भएको युद्धका क्रममा बुधबारसम्म एक हजार ३०० जनाको मृत्यु भएको छ । युद्ध इरान र इजरायलमामात्र सीमित नरहेर खाडीका सबैजसो देशहरुमा फैलिसकेको छ । मध्यपूर्वमा फैलिएको युद्धलाई लिएर अहिले विश्वभर चिन्ता बढिरहेको छ । खासगरी अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा प्राकृतिक ग्यासको भाउ बढ्दा अरु सबै उपभोग्य वस्तुहरुमा महँगी बढ्न थालेको छ ।
युद्ध सुरु भएको पहिलो दिनमै धार्मिक कट्टरपन्थी तथा इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीसहित इरानका ४० बरिष्ठ अधिकारीहरु मारिएका थिए । अहंकारी तथा युद्धको पक्षपोषक भनेर चिनिए पनि कुनै अर्को देशको आन्तरिक मामलामा हस्तक्षेप गरेर राष्ट्रप्रमुखलाई नै हत्या गरिएपछि त्यसको विश्वभर अनेक टिप्पणी भइरहेका छन् ।
खासगरी उदयीमान तथा अमेरिकापछिको शक्तिशाली देश चीन तथा रसियाले त्यसको कडा आलोचना गरेका छन् । यद्यपि, आलोचना शान्ति भडकाउने नभई कूटनीतिक एवं सौम्य देखिन्छ । उनीहरुले सो युद्धमा आफैं सहभागी हुनेगरी चेतावनी भने दिएका छैनन् । भारत तथा चीनलगायत देशहरु मध्यपूर्वमा भएको युद्धमा सहभागी देशहरुलाई सम्झाउने र बार्तामार्फत हल गर्ने भूमिकामा छन् ।
इरानमाथि इजरायल तथा अमेरिकाले कडा सैन्य कारबाही थालेपछि त्यसको बाछिटा साउदी अरेबिया, संयुक्त अरब इमिरेटस् (युएई), कतार, बहराइन, कुबेत र जोर्डनसम्म फैलिएको छ । खासगरी ती देशहरुमा रहेका अमेरिकी सैन्य अड्डाहरुमा इरानले हमला गरेका समाचार छन् । इजरायल तथा इरानबीचको द्वन्द्वमा अहिले लेबनान, अमेरिका, साउदी अरेबिया, युएई, कतार, बहराइन, कुबेत र जोर्डन गरी १० वटा देश प्रत्यक्ष रुपमा प्रभावित छन् ।
खासगरी इरानले घुँडा नटेकी, सक्ता परिवर्तन नभई तथा आणविक भट्टीहरु ध्वस्त नगरी युद्ध नछोड्ने खालका संकेत अमेरिकी राष्ट्रपतिले दिइसकेका छन् । उनले युद्ध अझै केही दिनसम्म लम्बिनसक्ने संकेतसमेत गरेका छन् । संसारमा अहिले साना तथा गरिब देशहरु युद्धबाट बढी प्रताडित छन् । एकातिर युद्धका कारण धनी देशहरुबाट उनीहरुले पाइरहेका अनुदान तथा सहयोग घटिरहेको छ भने अर्कोतिर व्यापक महँगी, अभाव र विश्वव्यापी आर्थिक असन्तुलनको मार उनीहरुले नै खेपिरहेका छन् ।
त्यसमाथि यस्ता खालका क्षेत्रीय तथा विश्व युद्धहरुमा गरिब तथा विपन्न देशका मानिसहरु युद्धमा प्रयोग भइरहेका छन् । व्यापक आर्थिक प्रलोभन र प्रभावमा धनी देशका युद्ध उन्मादको सिकार भइरहेका छन् । जस्तो विगत चार वर्षयतादेखि चलिरहेको रुस र युक्रेन युद्धमा सहभागी थुप्रै नेपालीले अकालमै ज्यान गुमाएका छन् । नेपालीमात्र होइन, कयौं त्यस्ता गरिब देशका नागरिकहरु युद्धमा सिपाही भएर होमिएका छन् । मारिने उनीहरु नै बढ्ता छन् । धनी देशहरुको पैसामात्र मरिरहेको छ तर युद्ध र अशान्तिमा मारिनेहरु पनि गरिबहरु नै धेरै छन् ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइजिआरसी) ले जनाएअनुसार उसको ‘टुथफुल प्रोसिस ४’ अभियानअन्तर्गत अमेरिका–इजरायल आक्रमणको प्रतिकारस्वरुप खाडी देशहरुमा रहेका अमेरिकी सैन्य अड्डा र सम्पत्तिमाथि प्रहार गरिएको छ । अमेरिका तथा इजरायलको लगातारको प्रहारपछि आत्मरक्षाका लागि सबै सैन्य उपायहरुको प्रयोग गरिएको इरानी विदेश मन्त्रालयको दाबी छ । युद्ध रोकिने वा रोक्नेभन्दा चर्कने तथा चर्काउने खालका गतिविधिहरु व्यापक भइरहेका छन् । यसले विश्वव्यापीरुपमा गरिब तथा श्रम निर्यातक देशहरु बढी प्रताडित हुने देखिएको छ ।
नेपाललाई असर
विश्वव्यापी महँगी, अभाव तथा आर्थिक असन्तुलनमा मध्यपूर्वको युद्धले कुन हदसम्म असर गर्ने हो यकीन छैन । खासगरी नेपालजस्ता श्रम निर्यातक देशहरु त्यसको प्रत्यक्ष मारमा पर्ने देखिन्छ । अहिले नै युएईमा कार्यरत एक नेपालीले त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा ज्यान गुमाइसकेका छन् । भोलिका दिनहरुमा त्यस्ता घटनाहरु नदोहोरिएला भन्न सकिन्न ।
यदि कथंकदाचित युद्ध लम्बिँदै गयो र ती देशहरु पनि युद्धमा सहभागी हुन थाले भने खाडीमा कार्यरत धेरै नेपालीले रोजगारीसमेत गुमाउनुपर्ने अवस्था सिर्जना हुनसक्छ । खाडी देशहरुमा १९ लाख हाराहारी नेपाली रोजगार छन् । उनीहरुले पठाएको रेमिट्यान्सको कारण देशको अर्थतन्त्र चलिरहेको छ । नेपालमा पछिल्ला दशक जे जति गरिबी घटेको छ, जे जति आर्थिक उन्नति भएको छ, त्यसमा खाडीमा कार्यरत नेपालीहरुको योगदान धेरै छ । अहिले नेपालमा वार्षिक १७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रन थालेको छ । त्यसमा ५० प्रतिशतभन्दा बढी खाडीमा पसिना बगाउनेहरुको योगदान रहेको छ । त्यसकारण मध्यपूर्वमा युद्ध फैलँदा र त्यो लामो समयसम्म जारी रहने अवस्था रहँदा त्यसको असर नेपालीको भान्सासम्म आइपुग्ने निश्चित छ ।
फेरि युद्धको प्रकृति बढो डरलाग्दो पनि हुन्छ । युद्ध सुरु हुन गाह्रो हो, फैलन गाह्रो हुन्न । फेरि युद्ध नशा पनि हो, एकाथरी बलशाली एवं शासक देशहरुका लागि । ती देशहरुको अत्यधिक ध्यान आणविक भट्टी, हतियार, आधुनिक हतियार, बम तथा बारुद बनाउनेमा केन्द्रित रहने गर्दछ । त्यसकारण युद्ध न सजिलै सुरु हुन्छ न त सजिलै बिदा हुन्छ । यो तथ्यलाई बुझी हाम्रोजस्तो विपन्न देशहरुले कदम चाल्नुपर्छ ।
युद्धमा कसैको पनि पक्षधरता लिन जायज छैन । बरु शान्तिका लागि सकेको प्रयास गर्न सकिन्छ । त्यसभन्दा बढी आफ्ना नागरिकहरु जो खाडीमा अथवा परदेशमा अथवा घरदेशमा छन्, तिनको रोजगारी, जिउ धनको सुरक्षा कसरी गर्न सकिन्छ, त्यसतर्फ हालै चुनावमार्फत नयाँ जनादेश पाएर बन्दै गरेको नयाँ सरकारले ख्याल गर्न जरुरी छ ।
खासगरी खाडीमा मडारिएको युद्धले विश्वयुद्धको रुप नलिओस् । त्यसैको कामना हाम्रोजस्तो देशले गर्न जरुरी छ । मूलतः चीन तथा अमेरिका गरी दुई ध्रुवमा उन्मुख विश्व व्यवस्थामा चीनले शान्तिको लिक नछोडेसम्म क्षेत्रीय युद्धहरु भइरहे पनि विश्वयुद्ध हुने सम्भावना कम छ । यी देशहरुमा फैलने र चर्कने युद्धले त्यहाँ कार्यरत श्रमशक्तिहरुलाई मात्र असर गर्दैन । युद्ध जारी रहेको अवस्थामा कच्चा तेलको निर्यातमा ठूलो गिरावट आउँदा हाम्रो जस्तो इन्धनसहित धेरै कुरामा परनिर्भर देशहरुका लागि कठिनाइ पर्ने छ । अहिले नै इरानले साउदी अरेबियाको सबैभन्दा ठूलो कम्पनी ‘साउदी आराम्को’को रिफाइनरीमा हमला गर्दा सो रिफाइनरी बन्द भएको छ । त्यहाँ रहेका सबैभन्दा ठूला तेल डिपोहरु समेत युद्धमा खरानी भएका समाचारमा आएका छन् ।
इरानमा युद्ध चर्कंदै गएपछि विश्वबजारमा कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यसमेत अचाक्ली बढिसकेको छ । गत सोमबार (मार्च ९) तारिकमा नै कच्चा तेलको मूल्यमा २४ प्रतिशत वृद्धि भई अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ११५ डलर माथि पुगेको छ । दैनिक करिब १६ लाख ब्यारेल तेल निर्यात गर्ने इरानले निर्यात प्रभावित हुँदा विश्व अर्थतन्त्रमै असर गर्ने देखिन्छ । त्यसको बाछिटा नेपाल जस्तो परनिर्भर देशहरुमा झन् बढी पर्ने छ । विश्लेषकहरुले नै तेलको मूल्य लामो समयसम्म १०० डलरभन्दा माथि रहँदा विश्व अर्थतन्त्रमा गम्भीर दबाब पर्ने बताएका छन् । यस्तो अवस्थामा सबै उद्देश्य पूरा नहुँदासम्म युद्ध कायम रहने अमेरिकी राष्ट्रपतिले बताएका छन् ।
देशलाई आत्मनिर्भर नबनाई स्वदेशमै युवालाई रोजगारी र आर्थिक अवसर सिर्जना नगरी भूमण्डलीकृत विश्वमा नेपालजस्ता देशहरुले यस्ता घटनाहरुको प्रताडना खेप्नुको कुनै गुञ्जायस छैन । युद्धका असरहरु बहुआयामिक छन् । जति धनीहरुलाई असर छ, त्यो भन्दा कयौं गुणा असर गरिब देशलाई पर्दछ । यस युद्धले नेपालको आर्थिक तथा सामाजिक अवस्थामा नै असर गर्ने देखिन्छ । युद्ध सुरु भएयता नेपालकै पनि अनगिन्ती अन्तर्राष्ट्रिय अडान रद्द भएका छन् । मध्यपूर्वको युद्धले हाम्रो जस्तो श्रम निर्यातक एवं रेमिट्यान्समा निर्भर देशहरुलाई ठूलै झड्का लाग्ने सम्भावना छ । यसतर्फ सरकारले बढो सतर्कताका साथ आफ्ना नागरिकको सुरक्षा तथा उनीहरुको रोजगारीको सुनिश्चितका लागि विशेष योजना र नीति अख्तियार गर्नुपर्ने समय आएको छ ।