हातमा आइफोन अनि भित्तामा टाँगिएको टेलिभिजनमा समाचार हेर्दै आशामान दाइ चिया पिउँदै छ । फोनको स्क्रिनमा तातोतातो खबर भन्दै निकै विपद् परेजस्तै गरी चिच्याउँदै समाचार वाचक बोलिरहेका छन् । अब यस्तो हुने छ... यस्तो हुने खुलासा भयो । मानौं सामाजिक सञ्जालमा चिच्याउँदा चिच्याउँदा उनी नामूद ज्योतिष नै बनिसके ।
आफ्नो मोबाइलमा एकोहोरो आँखा डुलाइरहेका आशामान दाइ खितित्त हाँस्छन् । गज्जब छ देशको अवस्था । सब ज्योतिष ! सबलाई भविष्यवाणी गर्न हतार । ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तो । एक्लै भतभताउँदै गरेका आशामान दाइको मोबाइलमा कसैले कान काटेर फाल्ने ! कसैले घाँटी रेटिएर मर्छु ! फलाना जित्छ फलाना हार्छ ! यस्तै यस्तै गन्थन । यसो भयो भने त्यसो गर्छु खै के-के हो के-के !
समाचार भनौं भने समाचार होइन । विश्लेषण भनौं भने छाटकाट नै देखिँदैन । हास्यव्यंग्य हो भनौ भने पनि व्यंग्य छैन । बजारको मेलामा एउटी नर्तकीले मोटा तिघ्रा देखाएर स्त... हल्लाउँदै उफ्रिँदा गज्जबको नृत्य भएजस्तै ! अनि विदेशबाट आफन्तले पठाइदिएको आइफोनबाट भिडियो खिच्दै ‘वान्स मोर’ भन्ने अधबैँशेको धुनजस्तै ! आशामान दाइको आइफोनमा पनि त्यस्तै त्यस्तै दृश्यले आकर्षण गरिरहेको छ ।
‘टिङरिङ टिङरिङ’ भित्तामा राखिएको चिनियाँ घण्टी बजेको आशामान दाइले भेउ नै पाएका छैनन् । किनकि, उनी त्यही आइफोनको श्रव्यदृश्यले दंग परेका छन् । भाउजुले बिहान सबेरै पकाएर दिएको चिया पनि सायद दुई घुट्कीपछि खान बाँकी नै होला ! चिया नै सेलाइसकेको छ । उनलाई पत्तै छैन । केटाकेटीलाई ‘डोरमन’ देखाएर भात खुवाएजस्तो !
घरको गेटमा होचो कदकी, गहुँगोरी भनौं कि काली... । स्विच दबाएको दबाइ गरिरहेकी छन् । कोठामा रहेको चिनियाँ घण्टी टिङरिङ टिङरिङ बजिरहेको छ । तल ढोकामा उभिएका कृति एक्लै भतभताउँदै छिन्, ‘हैन यी आशामान अंकल कता गएछन् ? आण्टी त पक्कै पनि हुनुपर्ने हो !’
उनी फेरि स्विच दबाइरहन्छिन् । एकोहोरो स्विच दबाइरहेपछि घण्टी पनि बजिरहने भयो । एकोहोरो घण्टी टिङरिङ टिङरिङ, टिङरिङ टिङरिङ गरेपछि बल्ल आशामान दाइको कानले चाल पाएछ । उनी हत्त न पत्त उठेर आँखा मोबाइलबाट यताउती पनि नगरी झ्याल खोलेर बोले- ‘होइन, को हो तल ?’
तल फलामे ढोकाबाट कृति कराउँछिन्, ‘म हो आशामान अंकल । कस्तो हेर्दै नहेरी को हो भनेर सोधेको ?’ कृतिको आवाज सुनेपछि आशामानले बल्ल तल हेरे । ‘ए नानी पो ! के कति कामले आयौं ? माथि नै आऊ न । म त यो मोबाइल हेरेर यसमै भुलेछु ।’
‘कसरी आउने हो अंकल ? भित्रबाट ढोकामा चुकुल लगाएको छ,’ कृति बोल्छिन् ।
‘ए ! हो त नि, ल ल पख म आएँ ।’ आशामान तल ओर्लन्छ । ढोकाको चुकुल खोल्दै भन्छन्, ‘अनि के कति कामले बिहानै आयौं त नानी ?’ ‘ल ! अंकल पनि, अब चुनाउ लाग्या छ नि ! त्यही भएर म त अंकलसँग भोट माग्न आको नि,’ कृतिले भनिन् । ‘एऽएऽ, भैहाल्छ नि । भोट त माग्नैप¥यो नि,’ आशामानले दयालु पारामा भने, र सोधे, ‘अनि भोटचाहिँ केमा हो नि ?’
‘अब अंकललाई के भनिरहनुपर्छ र ? यत्रा विध्न मान्छेहरु जता लागेका छन् त्यतै नि ! हामी जेन-जी साथीहरुको माग जसले बुझ्छ त्यसैलाई नि । उही त हो, ‘टिङरिङ टिङरिङ’ ।’ ‘ए ! नानी पनि ? नजिस्क न हो, तिम्रा बाचाहिँ समृद्ध नेपाल बनाउन हिँडेका छन् उदाउँदो सूर्जे भन्दै । तिमी भने मलाई आएर ‘टिङरिङ टिङरिङ’ भन्छौं ?,’ आशामान दाइले नानीको बाका कुरा निकाले ।
आशामान दाइको कुराले कृतिले आँखा छड्के पार्दै भनिन्, ‘ठिकै हो नि अंकल, परिवर्तन भनेकै यही त हो । मेरा बा समृद्ध नेपाल बनाउन भन्दै उदाउँदो सूर्जे भन्दै बिहान मन्दिरमा बसेर ‘टिङरिङ टिङरिङ’ भन्दै हुनुहुन्छ । त्यही भएर म पनि अंकलको भोट ‘टिङरिङ टिङरिङ ट्वाङ’ भन्न आको नि !’
‘हुँदैन नानी त्यसमा त ! हाम्रो त बाका पालादेखि नै जे मा हो त्यहीमा दिने हो भोट,’ आशामानले भने । कृतिले फकाउँदै भनिन्, ‘ठीक छ त अंकल, हजुरले बाका पालादेखि जे गर्नुभएको छ, त्यही गर्नुस् । मैले पार्टी नै फेर्नु कहाँ भनेको छु त ? मेरा बा उदाउँदो सूर्जे भन्दै ‘टिङरिङ टिङरिङ’ गोप्य मतदानमा लागिसक्नुभो । अब यो पटकलाई हजुरले पनि चुपचाप छोरानाति सम्झेर ‘टिङरिङ टिङरिङ’ मा छाप !’
‘कस्तो मथिंगल नै गुमाउनेगरी कुरा गरिन् हो यी नानीले ! उता अस्ट्रेलियामा भाको छोरीज्वाइँले पनि त्यही भन्छन् । अमेरिकामा पुगेर ग्रिनकार्ड छोराबुहारी पनि त्यही भन्छन् । क्यानडामा पिआर लिएका भाञ्जाभाञ्जी पनि त्यही भन्दै छन् । हुँदाहुँदा तिमी पनि यस्तै भनेपछि कसको कुरा सुन्नु हो ?,’ आशामानले अलमलिएझैं गरे । उनी अलमलिएको चाल पाएकी कृतिले मौका हिरा फोरिहालिन् । ‘अब यो वा त्यो होइन अंकल, दल होइन मत फेर्ने हो यो पटक ‘टिङरिङ टिङरिङ ट्वाङ’ ।’
‘होइन तिमीहरु के बुझेर यसरी ज्यान फालेर लागेका छौं के ? मैले त कुरै बुझिन । मान्छे हेर्नुप¥यो । उसको योगदान हेर्नुप¥यो अनि पो हुन्छ त । त्यत्तिका चुपचाप ‘टिङरिङ टिङरिङ’मा छाप भनेर हुन्छ ?,’ उनले फेरि सम्झाउने कोसिस गरे । कृतिले फेरि भनिन्, ‘भने नि अंकल यो पटकलाई जे सुकै होस् । एउटै मान्छे देख्नुभाको छ नि होइन ? त्यही भएर ‘टिङरिङ टिङरिङ ट्वाङ’ ! कुरो बुझ्नु भो नि ?’
आशामान फेरि अलमलिए, ‘खै के बुझेँ के बुझिन ।’ ‘ल अंकल म यो टोलभरि भेट्नु छ, अहिलेलाई दाइ जय नेपाल भन्ने, ओहो, कमरेड भन्ने झण्डा बोक्ने दिनभरि कुद्ने नाइनुइ छोराछोरीले यो भने त्यो भने केही नभन्ने चुपचाप ‘टिङरिङ टिङरिङ’ छाप है त ! म गएँ ।’
कृति पल्लो घरतिर लागिन् । आशामानले फेरि मोबाइलमा आँखा डुलाए । आँखाले मोबाइलमा फेरि देख्यो, मथिंगलले के सोच्यो सोच्यो ‘टिङरिङ टिङरिङ’ ट्वाँ !