हरियो तन्नाले ढाकेको शय्यमा बिरामी छटपटिएर बसेको छ । अइयाऽ आऽथ्यु गर्दै छ । उता टेबलमा सेतो कपडा लगाएका चिकित्सकहरु अरू बिरामीका आफन्तलाई सम्झाउँदै छन् । सानो कागजको चिर्कटोमा पटक-पटक कहिले कुन औषधि, कहिले कुन औषधि खरिद गरेर ल्याउन भन्दै बिरामीलाई खुवाइरहेका छन् ।
चिकित्सकहरुले दिएको औषधिले बिरामीलाई काम गरिरहेको छैन । ऊ कहिले यता फर्कन्छ । कहिले उता फर्कन्छ । उसलाई उपचार गराउन आएका नजिकका मानिसहरु सेतो एप्रोन भिरेका चिकित्सहरुलाई तान्दै ल्याउँदै गरिरहेका छन् । जति चिकित्सक आउँछन्, बिरामीलाई हेर्छन् र कागजको चिर्कटोमा औषधि लेख्ने अनि प्रयोग गरिहाल्छन् ।
बिरामीको अनुहारमा दम छैन । आफन्त र नजिकका मानिसहरु ओहोरदोहोर गरिरहेका छन् । उनीहरु बिरामीको पीडालाई कम गर्न भन्दा पनि भेटिहालौं न भन्न उद्देश्यले आएका छन् । विचरा, बिरामी दीर्घरोगी भएको छ । जति नै राम्रो चिकित्सकलाई देखाएर उपचार गराए पनि रोग नै पहिचान गर्न नसकेर होला । विभिन्न खाले र विभिन्न देशमा बनेका औषधि पालैपाले प्रयोग गरिरहेका छन् ।
विचरा ! १७ वर्षको उमेरमा बिरामी परेको थियो । ३० वर्षसम्म झारफुक, धामीझाँक्री गर्दागर्दा ४७ वर्षको उमेरमा केही तंग्रिएको जस्तो भएको थियो । चार-पाँच वर्ष अलिअलि तडकभडक गरेर लम्कँदै थियो । फेरि ५२ तिर कानको जाली थर्कन थाल्यो भन्दै थिए बिरामी ।
त्यसपछि कहिले पूर्वबाट त कहिले पश्चिमबाट पालैपालो दायाँ हातबाट त कहिले बायाँ हातबाट स्लाइन चलाउन थालियो । स्लाइन चलाएर पनि नभएपछि कहिले ‘किलो शेरा टु’ को अप्रेसन गरियो । कहिले नाइटभिजनमा रोग पत्ता लगाउने प्रयास गरियो ।
बिरामीको शरीर चिराचिरा पर्न थाल्यो । थरीथरीका सुईले शरीरभरि प्वालै प्वाल ! कहिले युरोपियन, कहिले अमेरिकन पालैपालो डाक्टरहरु आए । बिरामीको सारा परीक्षण गरे अनि फर्किए । बिरामी ठीक हुने अवस्था देखिएन ।
त्यसपछि विदेशबाट पनि एप्रोनधारी अनमिनहरु आएर अस्पताल कब्जा नै जमाएका थिए । तर कसैले नि वास्तविक रोग नै पत्ता लगाउन सकेनन् । बिरामीको उपचार नगर्ने, बरू औषधिको डोजमात्र थप्नेगरी अस्पतालभित्रै आफ्नो अड्डा जमाउन खोजेपछि बल्लबल्ल बिरामीका आफन्तले त्यो एप्रोनधारी अनमिनलाई फिर्ता पठाए ।
बिरामी विचरा स्वदेशी देशी विदेशी विद्धान डाक्टरहरुको प्रयोग बन्यो । उसको शरीरलाई पालैपालो प्रयोगस्थल नै बनाए । थरीथरीका ‘ट्याबलेट’ पनि ख्वाए । तर कुनै पनि ट्याबलेटले काम गर्दै गरे । अस्पतालका काम गरिरहेका कर्मचारीहरु उमेरहद भन्दै ५८ वर्षमा धमाधम पेन्सनसहित घर फर्कंदै थिए । तर विचरो बिरामी, ५८ पछि झन् टेन्सन थपिन थाल्यो ।
बाथरोग, हर्निया, सुगर, प्रेसर के-के हो के-के रोग पनि । मिर्गौलादेखि मुटुका नसामासमेत प्वालै प्वाल परिसकेको डाक्टरका रिपोर्ट आउँथे । बिरामीका आफन्त रिपोर्ट हेर्दै औषधि ख्वाउँदै रित्तिँदै थिए । घरबारी बेचेर उपचार गराउँदा गराउँदै पनि रोग निको हुने छाटकाट देखिएन ।
बिरामीका छोराछोरी, नातिनातिना उपचार खर्च जुटाउने कामको खोजी गर्दै ‘सात समुद्रपारि’ पुग्न थाले । त्यहाँ पुगेर उपचार खर्च जुटाउने र रेमिट्यान्सका रुपमा पठाउन थाले । जति नै पठाए पनि बिरामीको उपचार हम्मेहम्मे नै भयो ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय ‘ट्याबलेट’ले पनि काम नगरेपछि थन्किएर बसेका धामी झाँक्रीहरुको भर पर्न थाले । विचरा, उमेर पाकेर ‘घरले जाऽ जा, वनले आइजाऽ आइजा’ भन्ने बेलाका धामीहरु के पो उफ्रिन सक्थे र ! न ढयांग्रो बजाउन सके । न त बिरामीलाई उठाउन नै सके । बरू छोराछोरी नातिनातिनाले पठाएको रेमिट्यान्सले मिर्गौला फेर्ने, रगत परिवर्तन गर्ने अनेक गर्न थाले । तैपनि बिरामी तंग्रिन सकेन । बिरामी क्रमशः झन्झन् शिथिल हुन थाल्यो ।
उमेर ६२ पुगेर ६३ लाग्दै गर्दा बिरामीलाई फेरि विदेशी डाक्टरहरुले नयाँ ‘ट्यावलेट’ ख्वाउन सल्लाह दिए । सरकारी संविधानसभा अस्पतालमा उपचार हुन थाल्यो । दुईपटक अप्रेसन फेल भयो । बिरामीको अप्रेसन फेल भएपछि बिरामीका आफन्त अस्पतालमै तोडफोड गर्न थाले । अस्पताल तोडफोड गरेर बिरामी निको हुने त हुँदै होइन । तर पनि धेरै वर्षदेखि बिरामी थला परेको पर्यै । उपचार गरेको गर्यै । अर्बौं सकियो । त्यही कमाउन छोराछोरीले गाउँ छाडे, सहर छाडे, देशै छाडे । कतैबाट केही उपाय लागेन ।
संविधानसभा नाम गरेको अस्पतालमा ६०१ डाक्टरलाई झिकाइयो । बिरामीलाई उपचार गर्न खोजियो । अहँ ! डाक्टरले उपचार नै गर्न सकेनन् । आफू जुन-जुन देशबाट पढेर आएका हुन् उतैका मात्र कुरा गर्न थाले । त्यही भाषामा बिरामीसँग कुरा गर्न थाले । विचरो, सास फेर्न नै हम्मेहम्मे परेको बिरामीले न भाषा बुझ्यो । न भेष नै बुझ्यो । उपचारको त कुरै छाडौं ! बिहान-दिउँसो-बेलुका भन्दै साइज साइजका ‘ट्याबलेट’ पनि खाइ नै रह्यो ।
हुन त उमेर पनि ढल्कँदै गएको थियो । अब बाँच्दिन कि भन्ने बिरामीलाई परेरै होला ७४ बाट सबैलाई अंशबण्डा गरिदिन सुरु गरे । आफूलाई उपचार गर्नेदेखि वास्तै नगरेर छाडेर विदेश भासिएकालाई पनि ७९ सम्म अंश दिए । विदेशीसँग बिहे गरेकालाई पनि स्लाइन ख्वाएरै भए पनि जिम्मेवारी सुम्पिदिए ।
अब त उमेरले पनि नेटो काटिसक्यो बाबु हो । अब उपचार गर्नु पर्दैन, बरु ८४ सम्म गरेर दानपान गरी देहत्याग गर्न पाए हुन्थ्यो भन्दै छोराछोरी नातिनातिनीलाई सम्झाउँदै थिए । जोशिला पोसिला नातिनातिना भएका बिरामीलाई के को चौरासी बयासीमा नै अग्निदहन गरिदिए ।
विदेशमा पढेलेखेका काम गरेका विद्धान भनिएका छोरानातिबाटै अग्निदहनमा परेपछि बिरामी छटपटिरहेको छ । जताततै आगोले पोलेका घाउ नै घाउ छन् । शरीरमा पानी सुकिसकेको छ । त्यही भएर छटपटिरहेको बिरामी त्यही छोराछोरी-नातिनातिनाबाट स्लाइन पानी खोजिरहेको छ ? तर खै को भेटिएला बिरामीलाई स्लाइन पानी दिने ?