बिपीले अवलम्बन गरेको राष्ट्रिय मेलमिलापको नीतिको महत्व र सान्दर्भिकता अहिलेको नेपालको तरल राजनीतिक अवस्थामा अझ सान्दर्भिक र महत्वको रहेको कुरामा राजनीतिक विश्लेषकहरुको एकमत रहेको छ । समसामयिक अवस्थामा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, राजनीतिक स्थायित्व तथा संस्कारको दिगोपनका दिशामा हाम्रासामु देखिएका अनगिन्ती समस्याहरुको समाधानका लागि सहकार्य र मेलमिलाप नै हो । राजनीतिक निर्णयले भोलिको नेपालले स्पष्ट दिशाबोध पाउने छ । केही सान्दर्भिक कुराहरु यहाँ उठान गरिनु सापेक्षिक नै रहला ।
लोकतन्त्र र लोकसम्मति आफैंमा परिपूरक हुन् । लोकसम्मतिका मान्यताको प्रस्थानबिन्दुमा विधिको शासन र राज्य सञ्चालन हो । यस मानेमा शासन प्रणाली र शासकीय स्वरुपको गत्यात्मकता विधिको शासनको मियोको सार हो । राजनीतिक विश्लेषकले असल शासक त्यही हो जो सबैभन्दा कम शासन गर्दछ भनेका छन् । असल शासन लोकसम्मतिको आधार हो । लोकसम्मतिको आधारशीलामा राज्यव्यवस्था सञ्चालन गर्ने उदाहरणीय शासकका रुपमा थोरै व्यक्तिले आफ्नो पहिचान बनाउन र भूमिकाको जनमानसमा अनुभूत गर्न सकेका छन् । तिनै व्यक्तिको नाम लिँदा बिपी कोइरालाको नाम आउँछ, जसले शासकभन्दा जनपथप्रदर्शकका रुपमा जननिर्वाचित सरकारको नेतृत्व गरेको उदाहरण हामीमाझ छ ।
समसामयिक परिवेशमा मुलुक राजनीतिक तथा वैचारिक धरातलीय यथार्थमा केही फरक वातावरणबाट अघि बढेको छ । विशेषतः जेन–जी आन्दोलनपछिको राजनीतिक वातावरण र राजनीतिक शक्तिकेन्द्रबीचको टकराव, ध्र्रुवीकरण, समान राजनीतिक वैचारिकताकाबीचमा सहकार्य र एकताका परिघटना चलिरहेका छन् । यस्तो अवस्थामा राष्ट्रिय एकता र मेलमिलापको सान्दर्भिकताले अझ महत्व राख्दछ । चुनावी परिवेशसँगै चुनावी वातावरणमा सुरक्षाको चुनौतीलाई ठूला दलले गम्भीर चासो र सरोकारको मूल विषय बनाएका छन् । शान्तिपूर्ण र भयरहित चुनावी वातावरणका लागि दलीय सहकार्य र मेलमिलापको मान्यता आधारभूत सर्त रहन्छ ।

लोकतन्त्रलाई जनताको आशाको मियो र अभिमतको सहमतिका रुपमा लिएर जनजीविकाका सवालमा लागिपर्ने नेता विरलै पाइन्छ । शासनको बागडोरलाई शक्ति आर्जन र उत्सर्जनको प्रदूषणबाट मुक्त राखेर जनसेवकका रुपमा उभ्याउन सक्ने राजनेताको खडेरी पुर्ने उदाहरणीय व्यक्तित्व बिपी विचार र आदर्शका पथप्रदर्शक हुन् । सन्दर्भ र घटनाक्रमले राजनीतिका परिदृश्यले कुशल निर्णय क्षमताको खोजी गदैं रहँदा राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको सान्दर्भिकतालाई अझ घनिभूत बनाएको छ । आमजनमानसले लोकतान्त्रिक गणतन्त्र र संघीयताको अक्षुण्णताको प्रत्याभूति चाहन्छन् । राजनीतिक संस्कृति र संस्कारको शालीनपन हाम्रो लोकतन्त्रको जड हुनुपर्दछ ।
सन्दर्भले राष्ट्रिय मेलमिलाप र एकताको सन्देश निकै हदसम्म राजनीतिक स्थायित्व, दिगोपन र जनजीविकाको सवालमा साझा धारणा र सहकार्य नै हो । जनताका आकांक्षा परिपूर्ति र जनजीविकालाई सम्बोधन गर्ने दिशामा युगान्तकारी हुन सक्नुपर्दछ । तब त वर्तमान परिप्रेक्ष्यमा हामीले राष्ट्रिय मेलमिलाप र एकताको दिवश मनाउनुको सार्थकता रहला । राष्ट्रिय सहमति र राजनीतिक संस्कारित परिचालनका पाटालाई सम्बोधन गर्न सकिएको खण्डमा समृद्ध र जनमुखी लोकतन्त्रले मलजल पाउने थियो । राष्ट्रिय साझा सवालमा सबै राजनीतिक हित समूहका विचार र लोकतन्त्रको मुलप्रवाहीकरणमा रहेका साना ठूला दलका विचारलाई मनन गर्ने वातावरण आजको आवश्यकता पनि हो ।
नेपालको राजनीतिक इतिहासमा २०३३ साल पुस १६ गतेको ऐतिहासिक दिनले विशेष महत्व राख्दछ । यसै दिन नेपाली राजनीतिकका शिखर व्यक्तित्व तथा प्रजातान्त्रिक समाजवादी विचारका प्रणेता जननायक बिपी कोइराला छिमेकी राष्ट्र भारतको आठ वर्ष लामो निर्वासनपश्चात् राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई जनता र नेपाली माटोको चाहना पैरवी गर्दै साहसिक निर्णयका साथ पार्टीका अन्य नेता तथा निष्ठावान् कार्यकर्ताहरुसहित स्वदेश फर्किए । त्यतिबेला भारतमा रहेका प्रबुद्ध राजनीतिक तथा अनन्य शुभचिन्तकहरुले परिस्थिति बिपीका लागि अनुकूल नभएकोले आफ्नो निर्णयमा पुनर्विचार गर्नसमेत नसुझाएका होइनन् । तथापि, बिपी आफ्नो निर्णयमा अडिग रहेर नेपाल फर्किए । यस ऐतिहासिक दिनको सम्झना र संस्मरणमा प्रत्येक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा नेपाली कांंग्रेसले देशव्यापीरुपमा नुमनाउँंदै आएको छ ।
तात्कालिक निरंकुश पञ्चायती शासन व्यवस्थामा दलमाथिको कडा प्रतिबन्ध, राजनीतिक दलका शान्तिपूर्ण कार्यक्रम तथा भेलामासमेत रोक तथा चरम धरपकडको अवस्थामा आफूमाथि करिब एक दर्जनजति राजद्रोह तथा राजकाजसम्बन्धी तात्कालिक पञ्चायती शासकको कथित मुद्दाका बावजुद् त्यो विषम् परिस्थितिमा निर्भीक, दृढ, निश्चयी तथा साहसिक राजनेताका रुपमा बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किए । लोकतन्त्रको प्रवद्र्धन अनि राजसंस्थाको हितमा पनि आफूले राष्ट्रिय मेलमिलापको नीति लिएर एकताको सन्देश प्रवाह गर्दै स्वदेश फर्किएको पैरवीप्रति उनको निश्चयता थियो ।
मेलमिलाप नीतिका सन्दर्भमा बिपी नेपाल फर्किसकेपछि एक ऐतिहासिक वक्तव्य जारी गरे । जसका केही अंश यहाँ उद्धृत गर्नु सान्दर्भिक रहला । ‘यस राष्ट्रिय संकटको घडीमा हामीले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्र्छ । राष्ट्र रहेन भने हामी रहन्नौं भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ । मलाई थाहा छैन, देशभित्र फर्किएर गएपछि म कुन परिस्थितिमा हुने छु । प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । हामीलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ । हाम्रा शुभचिन्तकहरुले हाम्रो नेपाल फर्कने इरादामा निहीत खतरालाई ध्यानमा राखेर नफर्कने सल्लाह दिएकोमा उनीहरुलाई हाम्रो यो भन्नु छ कि हामीमाथिको यो सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतराकोसामु नगन्य भन्ठानेर नै यो ऐतिहासिक निर्णय हामीले लिएका छौं । नेपाली कांग्रेसका कार्यकर्ताले पनि पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस र देशप्रेमको उदाहरण प्रस्तुत गरेका छन् ।’
राष्ट्रिय मेलमिलापको नीतिको सान्दर्भिकतासँग समकालिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थिति पनि कारक थिए । बिपीको सोचपूर्ण निर्णयशक्तिका पछाडि विशेषतः अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको कूटनीतिक चलखेल, दक्षिण एसिया क्षेत्रको तरल क्षेत्रीय राजनीतिक असन्तुलत तथा सामरिक महत्व र दक्षिण एसिया क्षेत्रको क्षेत्रीय मामलामा चासो राख्ने शक्ति राष्ट्र र शक्ति केन्द्रहरुको निहीत स्वार्थ थिए । यस्ता शक्तिको कुत्सित हित आर्जन गर्ने परिदृश्यले नेपालको राष्ट्रियता र अखण्डतामा चुनौती थियो । अन्ततः नेपालीजन माझ आफ्ना विचार, राजनीतिक चिन्तन र नीतिलाई उजागर गर्ने आशयका साथ फर्किएको हो भन्ने विश्लेषण सही हुनसक्छ ।
साँचै भन्ने हो भने उनीमाथि तात्कालिक पञ्चायती शासकले लगाएका कथित मुद्दाहरु पञ्चायती न्यायालयमा प्रमाणित भएका भए मृत्युदण्डको सजाय हुनसक्थो । त्यसैले त बिपीले लिएको साहसिक निर्णयलाई राजनीतिक विश्लेषणमा दूरगामी निर्णयका रुपमा लिन र बुझ्न सकिन्छ । समावेशी, प्रतिनिधिमूलक तथा समानुपातिक परिपाटीसहितको लोकतन्त्रको संस्थागत विकासमा अर्जुनदृष्टि अपरिहार्यता हो । हामीले आर्जन गरेका उपलब्धिलाई बिपीले विगतमा उठाएको राष्ट्रिय मेलमिलाप नीतिको यथार्थ विश्लेषण गर्दा अतिशयोक्ति नहोला ।
बिपीले अवलम्बन गरेको राष्ट्रिय मेलमिलापको नीतिको महत्व र सान्दर्भिकता अहिलेको नेपालको तरल राजनीतिक अवस्थामा अझ सान्दर्भिक र महत्वको रहेको कुरामा राजनीतिक विश्लेषकहरुको एकमत रहेको छ । समसामयिक अवस्थामा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, राजनीतिक स्थायित्व तथा संस्कारको दिगोपनका दिशामा हाम्रासामु देखिएका अनगिन्ती समस्याहरुको समाधानका लागि सहकार्य र मेलमिलाप नै हो । राजनीतिक निर्णयले भोलिको नेपालले स्पष्ट दिशाबोध पाउने छ । केही सान्दर्भिक कुराहरु यहाँ उठान गरिनु सापेक्षिक नै रहला ।
राष्ट्रिय मेलमिलाप नीतिको कुरा गर्दा बिपीकै पार्टी नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक व्यवस्थापन र पार्टीपंक्तिलाई हित गुटगत संस्कृतिबाट उठाएर सबल र लोकतान्त्रिक मियोको रुपमा स्थापित गर्नु नेपाली कांग्रेसको नेतृत्वको चुनौती र अवसर हो । कांग्रेसभित्रको आन्तरिक राजनीतिको तरलताले सिंगो पार्टीको दिशाबोध, पार्टी विचार र नीतिको कार्यान्वयन नेपाली कांग्रेसको जनमुखी भूमिकालाई कुशल व्यवस्थापनमा नेतृत्वपंक्ति सचेत र समन्वयकारी हुनुपर्दछ । मेलमिलाप र एकताको सन्देशलाई पार्टीको आन्तरिक राजनीतिमा अझ गतिशील र चुस्त बनाउनु सान्दर्भिक रहला । आम कांग्रेसीजन तथा लोकतान्त्रिक मूल्य र संस्कारलाई आत्मबोध गर्ने सबैकंो चासो र संस्कारित रहला ।
राष्ट्रिय मेलमिलापको नीतिको र एकताको सान्दर्भिकतालाई आत्मसात् गर्दै जननेता बिपीले राष्ट्रिय मेलमिलाप तथा एकताको नीतिको सवल व्याख्या र अभ्यास गरे । राजनीतिक शक्तिकेन्द्रहरुले दीर्घकालिक सोच र जनमतको प्रतिविम्बलाई मुखरित गर्ने दिशामा ठोस कार्यको विश्वास लिएका छन् । संघीयताको सफलताको प्रतिविम्ब तथा आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका दिशामा अघि बढाउन एकता र सहकार्य नै प्राथमिक तत्व हो । जनताका विकास तथा स्थायित्वको अभिलाषा मात्र जिजिविषामा परिणत नहोस् ।