- रिटर्नी माइग्रेन्ट्सको अध्ययनले भन्छ- सन् २०२४ मा वैदेशिक रोजगारीबाट फर्किएका ७८.४ प्रतिशत पुरुष र ६५.८ प्रतिशत महिला बेरोजगार, ५० प्रतिशत पुरुष र ५६.२ प्रतिशत महिला लगानीको अभावमा
- विदेशबाट फर्किएर व्यवसायमा लगानी गर्ने तीन प्रतिशतभन्दा न्यून
काठमाडौं- १० वर्ष कुवेतमा रोजगारी गरेर फर्किएकी सुनसरी, रामधुनी-१ की शकुन्तला अधिकारीले आफूलाई परिवारले फरक तरिकाले व्यवहार गरेको पाइन् । विदेशमा धेरै दुःख गरेर कमाएपछि घर फर्किएकी शकुन्तलालाई समाजले नस्वीकारेको महसुस हुन थाल्यो । जसकारण उनी मानसिक समस्याबाट गुज्रनुपर्यो ।
रोजगारीबाट फर्किएकाहरुलाई पुनस्र्थापना गराउने व्यक्तिसँग भेट नभएको भए ठूलो दुर्घटनामा परिने हुने उनले सुनाइन् । ‘त्यतिखेर विदेशबाट फर्किएको भनेपछि घरमा पनि राम्रो सम्बन्ध नभएपछि म डिप्रेसनमा पुगिसकेकी थिएँ । यसरी बोल्न पनि सक्दिनथेँ । यो भन्दा त सुसाइड गर्छु जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘त्यसपछि वडाबाट एक जना म्याडमलाई भेटेपछि यस्तो यस्तो गर भन्नुभयो । तालिमहरु दिनुभयो । अहिले पानीपुरी, चटपटे पसल चलाएर बसिरहेको छु ।’
सर्लाही बरहथवाका नन्दु यादव पनि करिब एक दशक विदेशमा रोजगारी गरेर फर्किंदा यहाँ के गर्ने अलमलमा थिए । राम्रै कमाएर फर्किए पनि कसरी यहाँ व्यवसाय सुरु गर्ने जानकारी नहुँदा उनी केही समय तनावमा परे । अन्त्यमा विगतमा गरेको कृषि पेसा नै रोजे । ‘१२ वर्ष कतार बसेर आएँ । त्यहाँ पनि दुई वर्ष त काम नै पाएन । त्यसपछि राम्रो कमायो,’ यादवले भने, ‘यहाँ फर्किएर आएपछि कति महिनासम्म त के गर्ने के थाहै थिएन । धेरैतिर बुझे । त्यसपछि अन्तमा तालिम लिएर पहिलादेखि गरेको कृषि नै गरेँ ।’
यी दुई घटनाले वैदेशिक रोजगारीबाट फर्किएकाहरु कुनै न कुनै समस्यामा पर्ने गरेको देखाउँछ । रोजगारीबाट फर्किने धेरै महिलाहरुलाई कतिपय परिवार तथा समाजले नस्वीकार्दा उनीहरु मानसिक पीडामा पर्ने गरेका छन् । अझ परिस्थितिबस पैसा नै नकमाई फर्किने महिलाहरु झन् बढी समस्यामा पर्ने देखिएको छ ।
वैदेशिक रोजगारीमा गएकाहरु निर्माण, हस्पिटालिटी, उत्पादनजस्ता क्षेत्रको सीप र अनुभव लिएर फर्किने गर्छन् । रिटर्नी माइग्रेन्ट्स (रेमी) परियोजनाको अध्ययनअनुसार स्वदेश फर्किएकाहरु कि त खेती किसानी र ज्याला मजदुरी गर्ने या बेरोजगार भएर बस्नुपरेको पाइएको छ । कतिपयले फेरि विदेश नै जाने सोच बनाउने गरेको बताइन्छ ।
विभिन्न समस्यामध्ये फर्किएपछि सबैभन्दा बढी बेरोजगार हुनुपर्ने समस्या देखिने गरेको छ । रेमीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा वैदेशिक रोजगारीबाट फर्किएका ७८.४ प्रतिशत पुरुष र ६५.८ प्रतिशत महिला बेरोजगार छन् । त्यसपछि, दोस्रोमा ५० प्रतिशत पुरुष र ५६.२ प्रतिशत महिला लगानीको अभावमा छन् । त्यसैगरी, ऋणको अभावमा ४५.७ प्रतिशत पुरुष र ३२.९ प्रतिशत महिला रहेको पाइएको छ । साथै, सीपमा बेमेल, घरपायक काम नभेटिनेलगायतका समस्या रहेका छन् ।
सेफर माइग्रेसन प्रोग्राम, २०२४ को अध्ययनअनुसार विदेशबाट फर्किएका तीन प्रतिशतभन्दा कमलेमात्र व्यापारिक क्षेत्रमा लगानी गरेका छन् । यसमा पनि अपर्याप्त लगानी, व्यवसायका लागि दिइने ऋणमा चर्को ब्याजदर, प्रशासनिक जटिलता र तयारी वस्तुको बजार अभावजस्ता समस्या झेल्नपरेको उनीहरुले बताएका थिए । नेपालमा केही गर्छु भनेर आएकाहरु पर्याप्त पुँजीको अभाव र लामो समयसम्म सबै सामाजिक निकायसँगको सम्बन्धविच्छेद्ले समस्यामा पर्ने गरेको देखिएको छ ।
नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२४ का अनुसार सन् २०२२÷२३ मा पाँच लाख ४६ हजार ७२१ र २०२३÷२४ मा पाँच लाख ३८ हजार ६०४ जना त्रिभुवन विमानस्थलहुँदै स्वदेश फर्किएका थिए । अन्य माध्यमबाट फर्किएकाहरुको तथ्यांक नभएको बताइन्छ । उनीहरु विभिन्न कारणले फर्किने गरेका छन् ।
सबैभन्दा बढी २७.५ प्रतिशत पुरुष करार अवधि सकिएर फर्किएको पाइएको छ । यसरी फर्किने महिलाहरु १९.८ प्रतिशत छन् । सबैभन्दा बढी ३६.० प्रतिशत महिला भने व्यक्तिगत निर्णयले फर्किएका छन् । यसरी २३.३ प्रतिशत पुरुष फर्किएका छन् । यसबाहेक भिसा सकिएर, स्वास्थ्यमा समस्या आएर, करारअनुसारको काम तथा पारिश्रमिक नपाएर, रोजगारी गुमेर, कामको चाप, घरायसी समस्या, ज्यालामा ठगी, देश निकालालगायतका कारणले कामदारहरु फर्किने गरेका छन् ।