- अध्यागमन विभागले भन्यो-श्रम स्वीकृतिपत्रबाहेक कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु पर्दैन
काठमाडौं- वैदेशिक रोजगारीमा जाने श्रमिकले विमानस्थलमा रसिद देखाउनुपर्ने व्यवस्था कार्यान्वयन नहुने भएको छ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृतिपत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको हो ।
नयाँ सरकार गठन भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका दीपककुमार साहले ‘फ्रि भिसा, फ्रि टिकट’ को प्रावधान कार्यान्वयनमा कडाइ गर्ने भन्दै विमानस्थलमा अनिवार्य म्यानपावरलाई बुझाएको रकमको रसिद देखाउनुपर्ने व्यवस्था आज (चैत २९) देखि लागू गर्ने तयारी गरेको थियो । मन्त्रालयको निर्देशनबमोजिम अध्यागमन विभागले चैत २९ गतेबाट टिकट र म्यानपावरलाई भुक्तानी गरेको रसिद पनि बोक्न सूचना जारी गरेको थियो ।
उक्त निर्णय कार्यान्वयन गर्न नपाउँदै मन्त्री साह बर्खास्तीमा परे । शुक्रबार नयाँ श्रममन्त्रीमा रामजी यादव नियुक्त भएका छन् । नयाँ मन्त्रीले कार्यभार सम्हाल्नुअघि नै विभागले शनिबार सूचना जारी गरी त्यस्तो कुनै रसिद आवश्यक नपर्ने जनाएको छ । त्यसो त उक्त व्यवस्था लागू गर्न लागिएकोप्रति विरोधका आवाज उठेका थिए । वैदेशिक रोजगार व्यवसायीहरुले रसिद देखाउने व्यवस्था कार्यान्वयन गर्न नसकिने बताएका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रममन्त्रीसमक्ष ज्ञापनपत्र नै बुझाएर रसिद देखाउनुपर्ने व्यवस्था कार्यान्वयन नगर्न दबाब दिएको थियो । सोही दबाब र विरोधपछि मन्त्रालय पछि हटेको हो ।
तर, अध्यागमन विभागले शनिबार जारी गरेको सूचनामा भने चैत २३ गते प्रकाशित सूचनाबारे गलत समाचार प्रवाह हुँदा त्यसले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल पैदा गरेको भन्दै आफ्नै सूचनाको बचाऊ गरिएको छ । जबकि, २३ गतेको सूचनामा प्रस्ट रुपमा रसिद बोकेर आउन आह्वान गरिएको छ ।
‘वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकहरूले नेपालबाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ विभागद्वारा शनिबार जारी सूचनामा भनिएको छ । विभागले विदेश यात्रा गर्ने नेपाली नागरिक कुनै पनि किसिमको भ्रममा नपरी गन्तव्य मुलुक र यात्राका बारेमा पूर्णरूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ ।
‘भिजिट भिसा’मा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकले कम्तीमा छ महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुक प्रवेशको अनुमति (भिसा) भएमा स्वघोषणासहित विदेश जान पाउने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा रहेको विभागले जनाएको छ ।