काठमाडौं - साउदी अरेबिया सरकारले अवैध रूपमा बसेका ६२ जना नेपालीलाई स्वदेश फर्कन ‘एक्जिट भिसा’ दिएको छ । वर्किङ भिसाको अवधि सकिएपछि पनि अवैध रूपमा रहेका उनीहरूलाई रियादस्थित नेपाली दूतावासको पहलमा साउदी सरकारले एक्जिट भिसा प्रदान गरेको हो ।
रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै एक्जिट भिसा आएका नेपालीलाई यथाशीघ्र नेपाल फर्कन अनुरोध गरेको छ । “यदि मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने राजदूतावासमा सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ,” नेपाली दूतावासले भनेको छ ।
एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको बताइएको छ । विमानस्थमा त्यही म्यासेज देखाउँदा हुने र एक्जिट पेपर लिन दूतावास आइरहनुनपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । “एक्जिट भिसा प्रक्रिया निःशुल्क हुनेछ । एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाइ टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ,” दूतावासले भनेको छ ।
एक्जिट भिसामा भएको राहदानी वा ट्राभल डकुमेन्ट नम्बर र आफूसँग भएको राहदानी वा ट्राभल डकुमेन्ट नम्बर एउटै छ/छैन हेरेर मात्र हवाई टिकट खरिद गर्न दूतावासले अनुरोध गरेको छ ।