काठमाडौं- २०८२ साल वैदेशिक रोजगार क्षेत्रका लागि उतारचढावपूर्ण रह्यो । एक वर्षभित्र चार जना श्रममन्त्री फेरिनु, जेन-जी आन्दोलन र गत फागुनबाट सुरु भएको पश्चिम एसियाको द्वन्द्वको असर यस क्षेत्रमा देखिने क्रम जारी छ ।
गत वैशाखदेखि फागुनसम्म व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर सात लाख ६२ हजार ५१७ जना विभिन्न मुलुक पुगे । यसै अवधिमा वैदेशिक रोजगारीबाट १९ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँभन्दा बढी विप्रेषण भित्रियो । वर्ष २०८२ मा यस क्षेत्रमा भएका प्रमुख घटना यस्ता छन्ः
वैशाख १ः वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण । भुवनसिंह गुरुङ नेतृत्वको प्यानलले २०८१ चैत ३१ गते संघको चुनाव जितेको थियो ।
वैशाख ९ः तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलद्वारा वैदेशिक रोजगारीबाट फर्किएकाको स्वास्थ्य परीक्षणका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निःशुल्क ओपिडी वार्ड स्थापना गर्ने निर्णय ।
वैशाख १२ः तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र बोस्निया एण्ड हर्जगोभिना दूतावासका मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबीच श्रम सम्झौता गर्ने विषयमा छलफल ।
वैशाख १२ः मलेसियामा सेवा क्षेत्रतर्फ होलसेल तथा रिटेल, सेक्युरिटी गार्ड, वेयरहाउजिङ, गोल्डस्मिथ्स, टेक्सटाइल, पर्यटन, कृषि क्षेत्रतर्फ फिसेरिज र लाइभस्टक तथा प्लान्टेसन र कन्स्ट्रक्सन क्षेत्रको मागपत्र खुला ।
वैशाख १६ः ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतले पारित । योसँगै वैदेशिक रोजगार व्यवसायीको इजाजत नवीकरणका लागि अनिवार्यरुपमा वार्षिक १०० जना कामदारको श्रम स्वीकृति लिनुपर्ने प्रावधान खारेज ।
वैशाख १८ः १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम मन्त्रालयद्वारा ‘श्रम संसार’ पोर्टलको सुरुआत ।
जेठ १५ः आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटमा श्रम मन्त्रालयको बजेट झण्डै आधाले कटौती । आर्थिक वर्ष २०८१/८२ मा आठ अर्ब १० करोड विनियोजन भएकोमा २०८२/८३ लाई चार अर्ब २८ करोड विनियोजन ।
जेठ २७ः तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबीच सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी तत्काल दुईवटा सम्झौता गर्ने सहमति ।
जेठ ३०ः द्विपक्षीय श्रम सम्झौता भएको युएईमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा अध्ययन गर्न तीनवटा संसदीय उपसमिति गठन ।
जेठ ३०ः इजरायल र इरानबीच द्वन्द्व सुरु हुँदा दुवै मुलुकमा रहेका नेपालीको सुरक्षा चिन्ता ।
असार १०ः युएईमा नेपाली कामदारको न्यूनतम तलब एक हजार दिराम हुने निर्णय कार्यान्वयनमा ।
असार १७ः श्रम मन्त्रालयमा वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र पुँजी प्रयोग गरी स्वदेशमा उद्यमशीलता गरिरहेका आठ युवा सम्मानित ।
साउन १४ः राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै १०० संख्याको प्रावधान हट्यो ।
साउन अन्तिममाः विषाक्त मदिरा सेवनबाट कुवेतमा १६ जना नेपाली कामदारको मृत्यु ।
भदौ १५ः वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) राष्ट्रिय परिचयपत्र प्रणाली (एनआइडी)मा जोडियो ।
भदौ ३१ः निजी क्षेत्रबाट ई-७ भिसामार्फत दक्षिण कोरियामा कामदार पठाउने कार्य रद्द गरेको वैदेशिक रोजगार विभागको सूचना ।
असोज १ः भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै युएईद्वारा नेपाली नागरिकको भिसा रोक्का ।
कात्तिक ११ः मलेसियाको परराष्ट्र मन्त्रालयले नेपालबाट कामदार पठाउने म्यानपावर कम्पनीका लागि १० वटा मापदण्ड तोक्यो । सरकार परिवर्तनसँगै सिण्डिकेटले शिर उठाएको भन्दै व्यवसायीको विरोध ।
कात्तिक १३ः वैदेशिक रोजगार विभागले सञ्चालन गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआइडी)मा जोडियो ।
कात्तिक २१ः मलेसिया सरकारले नेपाललगायत पाँच देशका लक्षित म्यानपावर कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड स्वीकार गर्न नसकिने भन्दै परराष्ट्र मन्त्रालयले मलेसिया सरकारलाई कूटनीतिक नोट पठायो ।
मंसिर १०ः वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर नौ हजार ५०० पु¥याइयो । श्रम मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १७१ वटा स्वास्थ्य संस्थालाई सूचीकरण गर्दै परीक्षणको शुल्क बढायो ।
मंसिर २६ः नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीलाई श्रममन्त्री नियुक्त । जेन-जी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले तीन महिनापछि श्रममन्त्री पायो ।
पुस ३ः स्पेसल टास्क फोर्स बनाएर ठगविरुद्ध कारबाहीमा उत्रिने श्रममन्त्री भण्डारीको उद्घोष ।
पुस ४ः वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको शुल्क बढाउने निर्णय खारेज ।
पुस ९ः वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव मीरा आचार्यलाई जिम्मेवारी ।
पुस ११ः वैदेशिक रोजगारीका लागि इराक पुगेका नेपाली कामदारलाई श्रम स्वीकृति दिने निर्णय ।
माघ ११ः नेपाल र साउदी अरबबीच पहिलोपटक श्रम सम्झौता ।
फागुन १४-१५ः नेपाल सरकारको प्रतिनिधिमण्डल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस)समस्याबारे छलफल । नेपालसँगको इपिएससम्बन्धी द्विपक्षीय समझदारी नवीकरण गर्न कोरिया तयार ।
फागुन १६ः अमेरिका र इजरायलले इरानमाथि संयुक्तरूपमा सैन्य आक्रमण गरेपछि पश्चिम एसियामा तनाव । पश्चिम एसियाका १२ मुलुकको श्रम स्वीकृति स्थगन ।
फागुन १८ः युएईको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्दा गोरखाको भीनसेन थापा गाउँपालिका-७ ठाटीबजारका दिवस श्रेष्ठको मृत्यु ।
चैत १३ः श्रममन्त्रीमा रास्वपाबाट प्रतिनिधिसभा निर्वाचन जितेका दीपककुमार साह नियुक्त ।
चैत १६ः श्रम मन्त्रालयद्वारा श्रमिकको स्वास्थ्य परीक्षणका लागि थप सरकारी तथा स्वीकृत अस्पताललाई अनुमति दिने निर्णय ।
चैत २१ः कामदारसँग १० हजार रुपैयाँभन्दा बढी नउठाउन श्रममन्त्री साहद्वारा भिडियो सन्देशमार्फत निर्देशन ।
चैत २६ः बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई बिमा बोर्डको सदस्यका रूपमा नियमित गराएको भन्दै श्रममन्त्री साह १३ दिनमै पदमुक्त ।
चैत २७ः नयाँ श्रममन्त्रीमा रास्वपा सांसद रामजी यादव नियुक्त ।