कोही भिरबाट लडे, कोही बसको छतबाट लडे । कोही घरकै छतबाट लडे अनि मरे । कोही भ्रष्टाचारको आरोप लागेपछि सोच्दासोच्दै बाथरुमभित्रै चिप्लिएर लडे । कोही घोडचढीमा लडे, कोही रुख चढ्दा लडे । कोही भर्याङ चढ्दा लडे । जो जसरी जहाँ लडे पनि लड्नचाहिँ लडे ।
अहिले युवा पुस्ताले फेरि लडाउन खोजेका छन् । सामाजिक सञ्जालदेखि समाचारसम्म लड्ने कुरामात्र आइरा’को छ । अब त म पनि लड्छु । मट्यांग्रो भन्छ- कोही पनि नलडून् । लडिएपछि चोटपटक लाग्ला अंगभंग भइएला । ज्यान नै पो जाने हो कि यसै भन्न सकिन्न । त्यसै लड्नु भनेर पनि नहुने ! चिप्लेर लडे त ठिकै हो करङसरङ भाँचिएला ! भिरबाट लडे ज्यानै जान सक्छ । त्यही भएर यो लड्ने कुरा उचित हुँदै होइन ।
पहिले पो भिरबाट लडे पनि, कान्लाबाट लडे पनि सहिद हुन पाइन्थ्यो । अहिले त आतंककारी भइएला भन्ने डर छ । त्यही भएर उता साइँली पनि लड्ने अरे । काइँलो पनि लड्ने अरे । चिया पसले पनि लड्नु परो भन्दै छन् । पानी बेच्नेको त कुरै छाडौं । उ त लडेको लड्यै छ ।
त्यही लड्ने भनेर उहाँ आइजिपी हुन नपाका पोख्रेल पनि पूजा कोठामा बसेर घण्टी बजाउँदै छन् । यो भन्दा अगाडिका खऽनाल, खऽरेल पनि लडेका थिए । विचराहरु उठ्नै नसक्नेगरी लडेको लड्यै भए । यसरी उठ्नै नसक्ने भए पनि किन लड्नु भन्ने मट्यांग्राको सल्लाह कसैले मान्दैनन् ।
लड्नाको पनि भाँती हुन्छ नि । कसरी लड्ने किन लड्ने केका लागि लड्ने भन्ने पनि त होला नि । लड्ने त लड्छ हातखुट्टा कर्याककुरुक्क बनाउँला अनि लडाउनेचाहिँ । हुन त अहिले दुई-चार अरब कर्यापकुरुम्प पार्नेकै दिन छ क्यार ! जसरी जहाँ लडे पनि भो ।
त्यही भए त्यो ‘निक्लोस्’ पनि उता माइतीघरतिर गएर लडेको छ रे ! अस्तिउँदितिर केटाहरु लडेका थिए । उता घण्टीका दाजै पनि झ्यालखानाबाट लड्न आका छन् अरे । लेनदेन तिरोतारो सबै मिलाउँदा मिलाउँदा कति लड्नु भन्दै छन् उता सुकी हजुरआमाको जेठो छोरो ।
विचरा ! कम पिर पर्या छ र भन्या ! प्लेनै नउड्ने एयरपोर्ट बनाउने अधिन नभएको अधिकारीलाई छुटाइदिने दुई-चार ‘कन्तुर’ कागजका खोस्टो च्यापेको हल्लाले फेरि कसलाई लडाउने हो ? जुन हेरे जुन राम्रो, तारा हेरे तारा राम्रो भनेजस्तो पो भाका छ बाबै !
हुन त चित्रबहादुर काकाले भन्थे, ‘जुन जोगी आए पनि कानै चिरेका ।’ नयाँ जोगीको पनि पारा उहिल्यै देखिएको हो । त्यही भएर लड्नेलाई ढन्यासो भाँचिनेगरी नै लडाइदिनुपर्छ ।
‘कंगाल भए जनता नांगो पारेर,
यो देशको काट्टो खानेहरुले’
त्यो पापीले त्यसै कहाँ भन्या हो र ! आज देश त कंगाले भयो भयो । अर्को बीसौं वर्षसम्म नउठ्नेगरी देश लड्या बेला अरु लड्नु कुन ठूलो कुरा भयो र ? कम्तीमा पनि ‘एक घर, एक नेता’ बनाउनुपर्छ । सकेसम्म हरेक पालिकामा एउटा ‘हिटलर’ जन्माउनुपर्छ । अब रामराज्यको काम छैन, दुशासन, रावण जन्माउनुपर्दछ । किनभने, यो सत्य युग होइन ! कलियुग हो ! कलियुगमा रामराज्य कसरी चल्ला र ? चित्रबहादुर काका भन्दै छन् ।
मैले वर्षौंदेखि भन्दै आकै हो । उ बेला भन्या बोली अहिले गोलीजस्तै लाग्या छ । चित्रबहादुर काका मट्यांग्रालाई सुनाउँदै थिए । यो संघी यता न उता हो । भनेर गिलासाँ मनतातो पानी खन्याएकै हो नि त ? ‘पश्चिमकाले त्यो सिसाको गिलास त जुनसुकै बेला पनि फुट्न सक्छ भन्दै स्टिलको गिलास किनिदिएकै हुन् । त्यही भएर अहिले स्टिलको गिलासले पोलेको पोल्यै छ ।’ चित्रबहादुर काका अगाडिको फुक्लिएको दाँतसहित ङिच्च हाँसे ।
मट्यांग्रोले पनि काकाको कुरामा सही थाप्यो । अनि काका पोलेकोमात्रै हो कि डढाएकै हो ? अब के भनेर भन्दा खेरी पोलेको र डढाको उस्तैउस्तै हो । कतै पोलेको जस्तै गरे । कतै डढाएर खरानी नै बनाइदिए नि ! पश्चिमतिरको वायु त निकै तातो पो हुन्छ त ! सिंह नभएको दरबार पनि पोलेकै हो । न्याय नभएको सर्वोऽउच्च पनि पोलेकै हो । अब ती काला मान्छे बस्ने सेताघरको त कुरै छाड्दे बाबु ‘खली’ नै ख्वाए नि बाबु !
मट्यांग्रो शब्द बुझेन कि अर्थको भेउ पाएन । चित्रकाकालाई सोध्यो, ‘होइन होऊ काका, यो खली भनेकोचाहिँ फेरि के हो नि ?’ ‘ल हेर यस्ताका मोटो बुद्धि ! तेरा गाउँमा वायु पन्छाउनका लागि आगोको गोलामाथि उफ्रिएर भूतप्रेत मन्साउँन्छन् नि, हो त्यही हो खली भनेको । अहिले पश्चिमाहरुको वायुले त्यही भूतप्रेत सबै भगाउन सिंह नभएको दरबारदेखि काला मान्छे बस्ने सेतो घरबारसम्म आगोको रापले मन्छिएका हुन् । त्यस्सै लडेको छ ?,’ बूढा हाँस्छन् ।
‘ए भनेपछि त्यही भएर पो अहिले सबै जना लड्छु लड्छु भनेका रैछन् ! हैन काका ? भदौ २३ र २४ मा त्यत्रा केटाकेटी लडे ७६ जना त कहिल्यै नफर्कने गरी लडे । तर खै त ? तिनकै नाममा अरु फेरि लडेका लड्यै छन् ।’
‘यो सबै स्वार्थी जमाना हो बाबु । आफ्नो स्वार्थ पूरा नभएसम्म पाउ मोल्छन् अनि स्वार्थ पूरा भएपछि उत्तानो पारिदिन्छन् । हेर्दै जान न ! अहिले जतिजति उधाराँ काम भइरहेको छ नि हो सबै स्वार्थ पूरा गर्न हो । कसैलाई के स्वार्थ, कसैलाई के स्वार्थ छ । तपाईं होइन मपाईं भन्ने होडबाजीमा लडेका छन् । यसरी लड्नेहरु उठ्नै नसकिनेगरी पछारिन्छन् । यसो भन्यो चित्रेकाकाले भनेर भन्लान्,’ टेबुलमा भाको गिलासको पानी स्वाट्टै घुँट्काए बूढाले ।
अनि मन मन मट्यांग्रोले सोच्यो- हो, लड्ने बेला होइन । यो त उठ्ने बेला र उठाउने बेला हो । भूकम्पले सबै लडायो । सबै मिलेर उठाए । अहिले जेन-जीका नाममा धेरैले खरानी बनाएर लडाए । अब युवाहरुले उठाउने बेला आएको छ ।
‘ल काका त्यो भए अरु लड्दै जाऊन् । म भने लड्ने होइन उठ्छु । ढलेको यो सभ्यता संस्कृति र देशलाई फेरि उठाउँछु ।’ मट्यांग्रोले बोल्दै थियो चित्रकाकाको भित्तामा झुण्ड्याइरहेको रेडियोमा बज्दै थियो ।
‘उठ उठ नेपाली हो,
अब उठ्ने बेला भयो ।
जुट जुट नेपाली हो,
अब जुट्ने बेला भयो ।’