त्यो मोरो काइते । काम न काजसँग खुलामञ्चमा गयो उफ्रियो । जिन्दावाद र मुर्दावाद भन्दै बदाम खायो फोहोर बनायो अनि फेरि करायो ! यस्तै गर्दा गर्दै काइते माननीय भएछ । अब माननीय भएपछि त सिंहदरबार पनि छ छिर्नुपर्यो ।
कहिले खुलामञ्चको छाप्रोमा त कहिले रत्नपार्कको चौतारोमा बसेर दिनभरि बेरोजगारहरुलाई अल्मल्याइरहेको काइते एकैपटक सिंहदरबार छिर्न परेपछि त अलिअलि होसहवास उड्नु ठिकै पनि हो । सिंहदरबार नाममात्र सुनेको काइतेलाई अब सधैंभरि त्यही जानुपर्ने भए पनि इन्तु न चिन्तु त भएकै थियो । किनकि, जनताले माननीय बनाइदिएका छन् । खुलामञ्चमा जे मन लाग्यो त्यो बोलेजस्तो सिंहदरबारभित्र के बोल्न पाइन्थ्यो र !
माननीय भएपछि मर्यादाको पनि ख्याल गर्नुपर्ने ! निकै चिन्ताले सतायो काइतेलाई जे भए पनि काइते सिंहदरबार छिर्नका लागि सबै ढोका खुला थियो । बल्लबल्ल पहिलोपटक सिंहदरबार छिर्न पाएको काइते सिंहदरबारको ढोकैमा बन्दुक ठड्याएर बसेका सिपाहीहरु देखेपछि त अलमलमा पर्यो । विचरा सिपाही ड्युटी त हो । काइते अलमलिएको देखेर देब्रे हातमा च्याप्प समातेको बन्दुक माथि जुरुक्क उचालेर कालो छाला जुत्ता पट्काएर सलाम ठोकिदियो । सिपाहीको जुत्ता पड्काइले नै काइतेको शरीर नै सिरिंग बनाएर झट्कायो । विचरा, बन्दुक बोेकको सिपाही त्यत्ति नजिक अहिलेसम्म नपरेकाले डरायो ।
तर मुसुक्क मुस्कुरायो अनि सिंहदरबारभित्र मुसोजस्तै लुसुक्क छिर्यो । सिंहदरबारभित्रको रहलपहल सुरक्षा अनि काइते माननीयलाई दिएको सम्मानले उसले त्यो खुलामञ्चको चौरीमा बसेर बदाम खाँदै भाषण ठोकेको अनि आफूलाई सहयोग गरेको सबै बिर्सन थाल्यो ।
काइते सिंहदरबार त छिर्यो । तर रत्नपार्क र खुलामञ्चमा बेरोजगार युवाहरुलाई भेला पारेर यो गर्छु र त्यो गर्छु भनेर चुनाउ जितेको काइतेले बोलेको कुरा त सम्झने कुरै भएन । काइतेका दिन फेरिए । उसले भाषण गर्ने खुलामञ्च र रत्नपार्क अनि त्यसको सहारामा जीवन गुजारा गर्नेहरुको जीवन फेरिएको थिएन । रत्नपार्कको एउटो कुनामा स्टोभमा पकाएको चिया र दुनोट खाने उसको बानीमा परिवर्तन भयो ।
काइतेले दरबारमार्गको कफी र टर्कीबाट ल्याएका कुखुराको तारेको साप्रा मन पराउन थाल्यो । रत्नपार्क टुँडिखेल अब चप्पल प्याऽट प्याऽट पड्काउँदै होइन सुविधाको प्राडो र पजेरोमा बानी पर्न थाल्यो । असन र बागबजारको गल्लीभित्रको एक गिलास होइन रसियन भोड्का र अमेरिकन ह्वीस्कीको जिब्रोले साथ लिन थाल्यो ।
काइते हिँड्ने बाटो उही, मान्छे उही । तर मान्छेको व्यवहार फरक, रहनसहन फरक अनि हिँडाइ र बोलाइ फरक हुन थाल्यो । उसले त्यो रत्नपार्क र खुलामञ्च बिर्सियो । खुलामञ्च खुल्लै थियो । कतै तारबार बेरिएको थिएन । सिमेण्टको भत्किएको खम्बाबाट टाउको छिराएर जहाँबाट मन लाग्यो त्यहीबाट छिर्न सकिन्थ्यो । अझ बल देखाउने हो भने माथि चढेर खुत्रुक्क हाम्फाल्न पनि सकिन्थ्यो ।
कालो सिसाको गाडीमा दरबारमार्गमा झानेको टर्कीको मुर्गा र कफी खाएर फर्कंदा जतिसुकै उज्यालो भए पनि उसले रत्नपार्क र खुलामञ्चलाई अँध्यारो देख्न थाल्यो । तर त्यही रत्नपार्क र खुलामञ्च काइतेहरुको पर्खाइमा हजारौं रात, हजारौं दिन कुरि नै रहेका थिए, र छ पनि । बर्र्खे भेल, आँधीहुरी, बारुद, गोली सबैको रङ र भेद खुट्याउने त्यो खुलामञ्च काइतेहरु आउलान् र अझै उफ्री–उफ्री भाषण गर्न दिउँला भनेर मनमनै सोच्दै होला !
सरकारका चित्त नबुझेका कुरा चिच्याइचिच्याइ सुनाउन एउटा थलो बनाइदिएका थिए खुलामञ्च, त्यो तानाशाह राजा महेन्द्रले ! तानाशाह र निरंकुशलाई पनि त जनताको समस्या सुन्न मन हुने रैछ नि ! त्यसैले बनाइदिएका होला है भनेर सैनिक मञ्चले प्रश्न सोध्दै थियो ।
अहिले सैनिक मञ्च र खुलामञ्चमा अन्तर छैन । किनकि, काइतेहरुलाई अब खुलामञ्च चाहिएको पनि छैन ! त्यसैले होला अब सहरबासीलाई आँखाको रमिताका लागि काम लाग्छ ! पहिले पो काठमाडौंबासीको मन फराकिलो थियो । पञ्चायत ढाल्यो, प्रजातन्त्र पनि ढाल्यो, लोकतन्त्रहुँदै गणतन्त्रको जग हल्लाउन थाल्यो । त्यही भएर पनि होला काइतेहरुलाई न त खुलामञ्च चाहिन्छ ? न त रत्नपार्क नै !
स्वार्थैस्वार्थमा विचार र भावना बेच्ने काइतेहरुलाई खुलामञ्च आफैंले साँघुरो बनादिएको छ । त्यही भएर नि होला सहरमा बस्ने हरेकको मन पनि साँघुरो बन्दै गएको छ । कहिले बजार व्यवस्थापनका नाममा, कहिले सुकुम्वासीका नाममा, कहिले भूकम्पका नाममा, कहिले यो वा त्यो नाममा खुलामञ्चलाई साँघुरो बनाइदिए काइतेहरुले !
आफ्नो स्वार्थका लागि काइतेहरुकै कारण न त बागमतीले धित मर्नेगरी बग्न पायो, न त विष्णुमतीले नै । सबैतिरबाट साँघुरो बनाइदिए । ठूलो सहर काठमाडौं खुम्चियो, गल्ली खुम्चिए, छातीजत्रो मुटु भएका मानिसहरुको मुटु खुम्चियो । वैरभाव र विचारविहीन हुन थालेपछि काइतेहरुका कारण सहरबासीको मुटुका भल्व पनि साँघुरियो ।
अहिले खुलामञ्च हाँसिरहेको छ । ङिच्च दाँत देखाएर काइतेहरुलाई घाइते बनाइरहेको छ ! खुच्चिङऽ खुच्चिङ अब भेउ पाउलास् । मेरो छातीमा आएर उफ्री-उफ्री तीन बित्ता उफ्रिएर बोल्थिस् । आफूलाई रैती मान्दिन भन्दै कोकोहोलो मच्याउँथिस् । अब त जुत्ता नबिकेपछि बिकोस् भनेर ठूलो ढ्वांग्रोमा सस्तोमाऽ सस्तोमा भनेर कराएजस्तै आफ्नो हैसियत देखाउन त्यही ठाउँमा पुगिस् ! चिल्लो गाडीमा टर्कीको कुखुराको साप्रा र कफी हसुरेर कुरुप बनिरहेको बसपार्कको टावरको छेउमा सवारी जाममा परेको काइतेलाई खुलामञ्चले जिस्काइरहेको थियो ।
ओइ काइते, देखिस् ? मेरो मान र मर्यादालाई जोगाउन नसक्दा नबिकेको जुत्ता बिकाउन ठाउँमा पुगेर फलाक्न पुगिस् नि ? बल्ल तेरो दिमाग भइराको छ घाइते, तँलाई काइते ! खुलामञ्च चिच्याउँदै थियो । तेरो हिम्मत छ भनेर एकपटक मलाई फर्किएर हेर त ! तानाशाह निरंकुश शासकले तँलाई चिच्याउन, कराउन बनाइदिएको ठाउँ हो म । कति आनन्दले सुखभोग गरिरहेको छु । जति सुखभोग तैँले गरिस् गरिस् अब सुखभोग गर्ने पालो मेरो ! कि कसो घाइते काइते ?