अहंकारले मैमत्त महारानी ! मैले जस्तो जानेको र बुझेको कसैले पनि छैन । तर छेउटुप्पो केही पनि थाहा छैन ! यो पनि हो जस्तो लाग्ने, त्यो पनि ठ्याक्कै मिलेजस्तो लाग्ने । त्यही भएर पनि महारानीमा मैमत्ताको भूत सवार भएको छ ।
सायद म कसरी बलवान् भएँ भन्ने कुराको पनि होस गुमिसकेको हुनुपर्छ । म के थिएँ र अहिले के छु भन्ने कुरा पनि त्यही मैमत्ताले त ‘खलास’ बनाइदिइसकेको छ । ‘भेज’ लाई ‘ननभेज’ को झोल मिसाइदिएपछि केही न केही गडबड त भई नै हाल्छ । क्रमशः हप्तौं त्यसै गरिदिने हो भने ‘ननभेज’ भइसक्छ, विचरा ! पत्तै पाउँदैन । सायद ‘ननभेज’ भइसकेकाले पनि होला महारानीमा भगवान् देब्रे हात परेको छ । समय बलवान् भयो । ‘... देशमा ...तन्नेरी’ भनेजस्तै । कम्तीमा हिंग नभए पनि हिंग बाँधेको टालो छ भन्ने भाष्य पनि महारानीले ओकल्नै सक्नु भएन । अरुले चोरी औंलाले देखाइदिएको बाटोबाट हिँड्न थालेपछि अलि परसम्म त पुग्न सकिन्छ तर गन्तव्यमा कहाँ पुगिएला र ?  
तर भाग्यले साथ दिएपछि कसको बाउको के लाग्छ र ! गन्तव्य नजिकै पुग्न सकिन्छ । ‘हात्ती छिर्यो, पुच्छर अड्क्यो’ भनेजस्तै । साम्यवाद भन्नेले द्धारे, हुक्के, चुलेको वरपरभन्दा बाहिर निस्कन सकेनन् । खुकुरीको धारमा टेकेर हिँड्नेले पनि दृष्टिभ्रम बनाइदिएपछि महारानीहरु मैमत्त हुनु कुन ठूलो कुरा भयो ? जन्मँदै महारानी हुनेको पनि अन्तिममा गति देखियो त ! धेरै फुरफुर गर्नु हुन्न भन्थे उसबेला बूढापाकाले । मुखबाट जे बोलिन्छ मनभित्रबाट गर्ने पनि त्यही हो नि, होइन र महारानी ?
‘आइस्योस्’, ‘खाइस्योस्’, ‘भनिबक्स्योस्’... खोज्या होला । सबैको ओठमा त्यो कहाँ आउला र ? भुइँमान्छेहरुको संगतमा लागेर, साँइदुवा ठेट्नाहरुको लतमा फसेपछि त कुरो सक्किगो । महाराजलाई नढाँटिबक्स्योस् न महारानी ! हुक्केले पक्कै भनेकै हुनुपर्छ । पर्दा पछाडिको पात्र धेरै बलियो हुन्छ । त्यो हुक्के त्यही पर्दा पछाडिको पात्र हो भन्ने कुरा त महारानीलाई थाहै थियो ।  आँखा चिम्म गरेर निदाएको भान गरिरहँदा कहिलेकाहीँ गोरुको चोट सहनुपर्छ है महारानी । द्धारेको पनि त कुरो सही थियो । भाइभारदारहरुले मौका मिल्दा सबै धोती खोलिदिन्छन् नि ! इतिहासले देखाएको छ । दरबारमा तरबार चलाउनु पनि त राम्रो होइन नि होइन र महारानी ?

 
हुन त भैपरी आउँदा कहिलेकाहीँ सिस्नोको पोलाइ पनि मिठै हुन्छ । दरबार खरानी हुँदा पनि ताली ठोक्दा रमाइलै मान्नुपर्छ । दरबार जलिरहँदा घिन्ताङ घिन्ताङ मादलुको तालमा कम्मर मर्काइमर्काइ रमाउँदा भित्रै महाराज खरानी भएको पत्तै नपाउने महारानीको के दोष हुन्छ ? महारानी महाराजलाई त्यही आगोको झिल्कोमा खरानी बनाउने योजनामै हुनुहुन्थ्यो त । सायद महाराजले मैमत्त र उन्मत्त महारानीको भेउ नै पाउनुभएन । महारानीले जसरी ताली बजायो त्यसैमा रमायो । जसो अह्रायो त्यसै गरायो । त्यही भएर महाराज दरबारमा दन्किएको आगोमा आफैं पर्नुभो । महारानीलाई के भो ?
महाराज–महारानीलाई अपुतालीमा आइपरेको हो ! ऊ खुस्किनु र फुस्किनुमा कुनै सन्देह नै छैन । बरु दंग छ । महारानीलाई ‘ननभेज’ बनाइदिइसकेका छन् । जेन–जी जस्तै । पाइलापाइला विद्रोहको विरुद्धका प्रमाणहरु छन् । जसरी महाराजको अस्तित्व खरानी भयो । त्यसरी नै महारानी पनि खरानी हुने छिन् । पद, शक्ति, पैसा र नारीको रुप सधैं टिकिरहँदैन । एउटा समयमा सबै जेन–जी हुन्छन् । जोश हुन्छ, हुँकार आउँछ । त्यही हुँकारका तररऽरऽर ताली पनि आउँछ ।
उल्टो बाटो हिँड्दै गर्दा  तररऽरऽर ताली बज्छ अनि वआ मै पो हुँ त ‘सुपर पावर’ भन्ने मस्तिष्कले सोचेपछि पलायन त सत्य नै हो । त्यही सत्यले मैमत्त महारानीलाई उन्मत्त बनाएर ढुंगामा पछार्छ । ओहो ! कठैबर ! महारानीको यो अवस्था ! चुँऽचुँऽ गर्नेबाहेक को नै हुन्छ र ? जित सधैं सत्यको हुन्छ । ढिलो हुन्छ तर परिणाम उत्कृष्ट हुन्छ । मैमत्त महारानीलाई महाराजको गतिले उन्मत्त बनाउन खोज्छ । आखिर अपुतालीको जो कुरा छ ! सारीको सप्कोले लाज ढाक्न खोजेर कहाँ ढाकिन्छ र ? नाइटैमा फुली लगाएर पारदर्शी ब्लाउज देखाइदिएपछि !
द्धारेले स्वाद त लिएका होला । भाइभारदारहरु कहाँ खुसी देखिएका छन् र ? भैगो, महारानी नकुरा गरौं भन्दै पन्छिन खोज्छन् । उहाँ महारानी महाराजसँगै दरबार त खरानी भयो तर महारानीको सौन्दर्यमा आएको रापले खै कहाँ–कहाँ के–के पो हुने हो !
महाराज त खरानी भए । अपुतालीमा आएको ‘महारानी’ सम्हाल्न पो धौधौ हुने हो कि ? सिलावरको डेक्चीमा पकाएर पातमा खाएको नजरअन्दाज कहिले हुनेहोला र ? महारानीको मैमत्त स्वभावले कुन दरबार पो गर्वित भएको होला र ? उही आसेपासे, हुक्के, द्धारेबाहेक... ।  ‘आखिर रहेछ श्रीकृष्ण एक’ भनेजस्तै ती द्रोपदीले के नै पो बिगार गरेकी थिइन् र दुर्योधनहरुको पञ्जामा पर्नु परेको थियो ? ‘भेज’ महारानीलाई ‘ननभेज’ त उही द्धारे, हुक्के र भाइभारदारहरुले नै बनाएका होलान् ।
रिसानी माफ पाऊँ महारानी ! हजुरको मैमत्ताले भुइँ छाड्यो । डोली, पालकी, बग्गीले केही नलाग्ने भो । जसको पसिना र रगतबाट महारानी बन्नुभयो नि त्यसैको आँसुले सराप्ने भो । घर जल्यो, दरबार जल्यो, धेरैका मन जले तर पनि महारानीको मैमत्त जल्नै सकेन । काखका छोराछोरीले घर छाडे, ती कहिले फर्केलान् ? यस्तो मौनतामा पनि त्यही मैमत्तमा उन्मत्त भएर महारानीको उन्माद किन बढिरहेको छ । कहिलेसम्म उन्मत्त भएर बसिरहने हो र ?
जलेको दरबारको खरानी कसले टकटक्याउँला ? रगतले लिपिएका बलेसीमा कसले फेरि पुरानै गोबर माटोले पोतिदेला । छियाछिया परेको घरमा कसले कमेरोले पोतेर उज्यालो बनाउँला ? अब पनि महारानी मैमत्त बनिरहने ?