आजको नेपाल बनाउन कयौं शताब्दी बितेका छन्, भलै धेरैलाई योभन्दा कैयन राम्रो नेपाल बनाउन सकिन्थ्यो भन्ने लाग्छ । त्यो बहसकै विषय हो, तर आज हाम्रा अगाडि जे–जस्तो नेपाल छ, त्यो समयको प्रतिफलमात्रै होइन, पुर्खाहरूको पौरखको उपलब्धि हो । अब यसलाई भत्काउने होइन, सिँगार्नेहरूको खाँचो छ । सबैको अपनत्व र सबैका लागि अवसर भएको नेपाल आजको आवश्यकता हो । त्यस्तो अवस्था बनाउन सकिएमामात्रै बलिदानको मूल्य सुरक्षित रहन्छ । लोकतन्त्रको भविष्य उज्यालो हुन्छ । काठमाडौंका सडक र मञ्चमा पोखिने आवाजमात्रै होइन, ‘समग्र नेपाल’ को आवाज सुरक्षित भएमात्रै त्यस्तो नेपाल बन्नसक्छ ।
सडकमा उर्लिएको ‘जेन–जी’ प्रदर्शनले निम्त्याएका परिणामहरू हाम्रा अगाडि नै छन् । त्यसको ‘रापताप’ केही सेलाउँदै छ, तर नेपाली राजनीति र समाजलाई सोधेका कठोर प्रश्न अझै तातै छन् । आक्रोश र निराशाको ‘ज्वालामुखी’ किन फुट्यो ? हामी यो प्रश्नभन्दा पर पुगिसकेका छौं । अब त्यसले उत्सर्जन गरेका ‘विषय’ कसरी सम्बोधन हुन्छन् ? यो प्रश्न हाम्रा अगाडि छ । यसको तत्कालको उत्तर हो– गोलीले दागेका ‘घाउ’ मा मल्हम लगाउँदै आगामी फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको सुनिश्चित गर्नु । दीर्घकालीन उत्तर भने भ्रष्टाचार, कुशासन, दण्डहीनताको अन्त्य गर्दै सुशासन र समावेशी लोकतन्त्र उन्नत बनाउन आवश्यक वातावरण बनाउनु ।
अहिले समाजमा आशा र निराशा दुवै मडारिरहेका छन् । कसैले बादलभित्र ‘चाँदीको घेरा’ देखिरहेका छन् भने कसैले ‘कालो बादल’ । यी दुई मनोविज्ञानबाट ग्रस्त र त्रस्त हुने अवस्था छ । गलत सूचनाको बाढीले समाजलाई दोबाटोमा उभ्याइरहेको छ । एकातर्फ सुदृढ लोकतन्त्र, सुधारिएको दलीय व्यवस्था, सबैको विकास र सबैको अपनत्व भएको नेपाल । अर्कोतर्फ उत्तेजना र निराशाको आवरणमा भय सिर्जना गरेर ‘राष्ट्र’ र ‘राष्ट्रिय हित’ रक्षाको नाममा एउटा ‘नायकत्व’ भेट्ने बाटो । नेपाली समाजले पहिलो बाटोतर्फको यात्रालाई सुरक्षित देख्छ तर युवा आक्रोशको सही बैठान गर्न सकिएन भने विपरीत मार्ग फराकिलो बन्न सक्छ ।
युवा आक्रोश
असन्तोष नेपाली समाजको स्थायी प्रवृत्तिजस्तै भइसकेको छ । यसको जरा भ्रष्टाचार, असमानता, बेरोजगारी र दण्डहीनतासँग जोडिएको छ । राज्य स्रोतको अस्वाभाविक दोहन गर्ने ‘सम्भ्रान्त’ प्रवृत्तिले यसमा मलजल गरिरहेको छ । यस्ता प्रवृत्तिविरुद्ध इतिहासमा पटक–पटक यसरी आक्रोश पोखिएका छन् । कहिले भद्र, त कहिले उग्ररूपमा, तर जब सुधारको आवाजलाई सुनिँदैन र बेवास्ता गरिन्छ, तब आक्रोशले घृणाको रूप लिन्छ । यसले करिब करिब मोहभंगको अवस्था निम्त्याउँछ र विध्वंस त्यसको अभिन्न पक्ष बन्छ । ‘जेन–जी’ प्रदर्शन यही घृणाको विस्तारित रुप हो भन्नेहरू धेरै छन् ।

स्वयं जेन–जीका प्रतिनिधिले नै परिवर्तनको तीव्र चाहना, शक्ति र सत्ता पुस्तान्तरणको अपिल, स्वदेशमै रोजगारी र असमानता अन्त्य गरिनुपर्छ भन्ने आवाजलाई बेवास्ता गरेपछि यो तहको ‘घृणा’ उत्पन्न भएको भनिरहेका छन् । फेरि पनि यो आवाज सुन्ने समय छ । यसको समाधान एकै छ– जवाफदेहिता, सुशासन र समान अवसरसहितको समुन्नत नेपाल । सूचना प्रविधिसँगै भइरहेको अभूतपूर्व विकासको गतिसँग गति मिलाउने अवस्था । जेन–जीभित्रका अधिकांश समूहले चेतावनी दिँदै भनिरहेका छन्, सामाजिक, राजनीतिक र संरचनागत असफलताले संस्थागत गरेका पुराना समस्याको अन्त्य गर ।
इतिहासको मूल्य
नेपालसँग परिवर्तनका खातिर भएका सशस्त्र र निःशस्त्र दुवैखाले विद्रोहको अनुभव छ । विभिन्न समयमा भएका सशस्त्र आन्दोलनको नेतृत्व गर्ने शक्ति (दल) अझै क्रियाशील छन् । त्यहीभित्र ‘जेन–जी’ ले जस्तै सुधारको वकालत गरिरहेको र परिवर्तनका मुद्दा निरन्तर उठाइरहेको ठूलो ‘अग्रगामी’ हिस्सा छ । विडम्बना त्योभन्दा ठूलो राजनीतिक रूपमा ‘सम्भ्रान्त’ हिस्सा छ, जो सत्ताको चरम मदहोस्मा ‘भाव शून्य’ झैँ प्रस्तुत हुन्छ । त्यसले परिणाम दिने सामथय राख्दैन ।
निःशस्त्र विद्रोहको कुरा गर्दा लैंगिक समानताका लागि नारीवादी आन्दोलन, पहिचान र आत्मसम्मानका लागि आदिवासी जनजाति, मधेसी, थरुहटलगायत आन्दोलन, मानवोचित व्यवहार, सामाजिक न्याय र समानताका खातिर दलित, पिछडा वर्ग र सीमान्तकृतहरूका आन्दोलन भएका छन् । यी हरेक संघर्षले अगाडि धकेलेका छन्, समकालीन सामन्तवादी समाजलाई अग्रगामी र प्रगतिशील बाटोमा डो¥याएका छन् । तिनै आन्दोलनले रैतीलाई नागरिक र नागरिकलाई सार्वभौम बनाएका हुन् ।
यो इतिहासको प्रसंग घटनाहरूको विवरणमात्रै होइन, नेपाली समाजको स्मृति, संघर्ष र भविष्य निर्माणको गोरेटो पनि हो । यी इतिहाससँग स्वतन्त्रता, समानता र न्यायका मूल्य गाँसिएका छन् । कहिलेकाहीँ इतिहासका ‘गौरवगाथा’ स्मृतिमा राख्ने तर मूल्यहरू पन्छाउने प्रयत्न हुन्छन्, त्यसो गर्दा इतिहास केबल पुस्तकमामात्रै कैद हुन्छ, त्यसले समाज बदल्ने शक्ति बोक्दैन । यसलाई ख्याल गरिएन भने हाल सडकमा पोखिएको आक्रोशलाई पनि समाज बदल्ने शक्तिमा रूपान्तरण गर्न नसकिने खतरा रहन्छ । यसर्थ अब सावधानीपूर्वक इतिहास निर्माणको खाँचो छ । यसरी लेखिने इतिहास केवल घटना र पात्रमा सीमित हुनु हुँदैन, त्यससँग जोडिएका आदर्श र मूल्य पनि हेरिनुपर्छ । सोच्नुपर्छ–मूल्यविहीन इतिहास आत्माविहीन शरीरजस्तै हो, जसको अस्तित्व त हुन्छ तर जीवन हुँदैन ।
यसो भनिरहँदा यो पनि भुल्नु हुँदैन– हालको ‘जेन–जी’ विद्रोहभित्र काठमाडौंमात्रै होइन, देशभरका भावना मिसिएका छन् । देशको राजनीतिक भूगोलमात्रै होइन, त्योभन्दा बाहिर रहेका आमनेपाली सपना जोडिएका छन् । त्यसलाई चिन्न र सुन्न सक्नुपर्छ । अब लेखिने इतिहासले १४२ भन्दा बढी जातजाति, १२४ भन्दा बढी भाषाभाषी र १० भन्दा बढी धर्मका संवेदनालाई बोक्न सक्नुपर्छ ।
प्रदर्शनका क्रममा बलिदानी दिने र घाइते हुनेका पीडा त छँदै छन्, जनप्रतिनिधिको सर्वोच्च संस्था संसद्, न्यायको मन्दिर सर्वोच्च अदालत र सेवा प्रवाहको थलो सिंहदरबार जलाएपछिको ‘आत्मग्लानी’ लाई पनि बुझ्नुपर्छ । तिनले पुकारा गरिरहेका छन्–हामीलाई जीवन्त संविधान, अझ सबल र समावेशी राज्य प्रणाली, उन्नत लोकतन्त्र र सद्भावसहितको नेपाल चाहिएको छ । यसविपरीत कतिपयले संविधान फाल्ने, संघीयता मेटाउने, समावेशी प्रणाली खारेज गर्नेजस्ता अभिव्यक्ति दिइरहेका छन् । यस्ता अभिव्यक्ति र सोचले विगतका हजारौं सहिद र हालका ७६ जनाको बलिदानी तथा सयौंको रगतको उपहास गर्छ । यो संविधान कागजको दस्तावेजमात्रै होइन, यो हजारौंको बलिदानको उपज हो । यसमा जहाँनिया राणा शासनविरोधी जनक्रान्तिदेखि परिवर्तनका लागि हालसम्म भएका संघर्षका मूल्य र भावना अन्तरनिहीत छन् ।
संविधान र बलिदान
हाम्रो अगाडिका उपलब्धि हजारौं सहिद र लाखौं नागरिकका संघर्षका परिणाम हुन् । हाम्रो आकडाले नै यसमा १४ हजार ६०८ जना सहिद (२०८० पुस २४ मा घोषणा) को प्राण छ । लाखौंको रगत लत्पत्तिएको छ । माओवादी सशस्त्र द्वन्द्वमामात्र १७ हजार जनाले बलिदानी गरेको तथ्य राज्यको स्मृतिमै छ । त्यसबाहेक सामाजिक, सांस्कृतिक, लैंगिक र जातीय उत्पीडनविरुद्ध भएका संघर्षका थुप्रै कथा इतिहासका पानामा सुरक्षित छन् । यी उदाहरणले आजको नेपाल थुप्रै वीर विरंगनाको त्याग र बलिदानीमाथि उभिएको प्रस्ट देखाउँछ । ती सबै भावना संविधानसभामार्फत निर्मित नेपालको संविधानमा समेट्ने प्रयास भएका छन् । यसको आत्मा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र र नागरिक सर्वोच्चता हो । भलै यसविरुद्ध र यसलाई अझ समृद्ध बनाउने चाहनासहित विभिन्न समूहले असन्तुष्टि पोखिरहेका छन् । उदारवादी लोकतन्त्रको चरित्र, समाजवादको यात्रा, बहुलवादको सिद्धान्त र सम्पत्तिमाथि व्यक्तिको अधिकार तथा सामाजिक न्याय स्थापनाको संकल्प गरिएकाले ती विरोध यसैभित्र बाँधिएका छन् ।
हो, ती संकल्प कार्यान्वयन गर्न राज्यको क्षमता र नेतृत्वको अक्षमताले केही व्यवधान उत्पन्न भएका छन् । यी व्यवधान हटाउँछु भन्ने चाहना भएका हरेक सार्वभौम नागरिकलाई ‘नेतृत्व’ गर्ने अवसर यसै संविधानले सुरक्षित गरेको छ । यसका लागि राज्यको २९ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । अनौपचारिक क्षेत्र र गैरसरकारी संघसंस्थाले गरेको हिसाब जोड्ने हो भने यो आकडा करिब ५० अर्ब रुपैयाँ पुग्ने अर्थविज्ञले नै भन्छन् । आकडाको कुरामात्रै होइन, त्यो रकम र समयभित्र अन्तर्निहित मूल्य चानचुने छैन ।
त्यसैले ‘फलाम तातिएको छ यहीबेला हिर्काउने’ भन्ने सोच भएकाहरूको अतिरञ्जनाबाट माथि उठौं । संविधान र व्यवस्थामा कमजोरी छन्, तर सुधार गर्न सकिने प्रशस्त गुञ्जायस पनि छन् । सुधारको बाटो फराकिलो बनाउनु अहिलेको आवश्यकता हो । अहिलेका समस्या संविधान र व्यवस्थाभन्दा बढी समयको गति पक्रिन नसक्ने, युगको आवाज सुन्न नचाहने नेतृत्व प्रवृत्तिले निम्त्याएका हुन् । यसैविरुद्ध निर्मम चेतावनी दिन ‘जेन–जी’ का नाममा सबै सडकमा आएका हुन् । त्यसैले स्मृत्तिमै राखौं, सार्वभौम नागरिक अधिकार खोसिने अवस्था आउँदा र हजारौंको बलिदानीपछिका उपलब्धिमाथि धावा बोल्दा नेपाली आत्माहरू बौरिन्छन् । शालीन लाग्ने ‘मान्छे’ हरूले मौनता भंग गर्छन् । हिजो गरे, आज पनि गर्छन् ।
सम्हालिँदै अगाडि बढौं
आजको नेपाल बनाउन कयौं शताब्दी बितेका छन्, भलै धेरैलाई योभन्दा कैयन राम्रो नेपाल बनाउन सकिन्थ्यो भन्ने लाग्छ । त्यो बहसकै विषय हो, तर आज हाम्रा अगाडि जे–जस्तो नेपाल छ, त्यो समयको प्रतिफलमात्रै होइन, पुर्खाहरूको पौरखको उपलब्धि हो । अब यसलाई भत्काउने होइन, सिँगार्नेहरूको खाँचो छ । सबैको अपनत्व र सबैका लागि अवसर भएको नेपाल आजको आवश्यकता हो । त्यस्तो अवस्था बनाउन सकिएमामात्रै बलिदानको मूल्य सुरक्षित रहन्छ । लोकतन्त्रको भविष्य उज्यालो हुन्छ । काठमाडौंका सडक र मञ्चमा पोखिने आवाजमात्रै होइन, ‘समग्र नेपाल’ को आवाज सुरक्षित भएमात्रै त्यस्तो नेपाल बन्नसक्छ ।
सुन्दर नेपालको सपना देख्दा केही दशकयतामात्रै आत्मसम्मान महसुस गर्न थालेको मधेस (करिब २१ प्रतिशत) को मनोभावना बिर्सन मिल्दैन । समान अवसरको वकालत गर्दा संविधानले सुनिश्चित गरेको सकारात्मक विभेद्पछि राज्य मेरो पनि हो भनेर अपनत्व महसुस गर्न थालेको दलित (१३.४ प्रतिशत) को मलिन आवाजलाई पनि बुझ्नुपर्छ । गणतन्त्र र संविधानपछि राज्यको सर्वोच्च पदमा आफ्नो अनुहार देखेका महिला (५१.१३ प्रतिशत) को भावनालाई ठेस पु¥याउन मिल्दैन । यही संविधानपछि आफ्नो भाषा, संस्कृति र पहिचानमा गौरव गरिरहेको आदिवासी जानजाति (३४.८७ प्रतिशत) लगायतको भावनालाई नजरअन्दाज गरिनु हुँदैन । विकट भूगोलकै कारण अवसरबाट पर परेका जनता पिछडिएको भूगोलका आवाज र सबै प्रकारका सामन्तवादी सोचको बर्खिलापमा रहेका बहुसंख्यक खस आर्यको मौनतालाई कमजोर आँक्नु हुँदैन ।
यी सबैसँगै भएको सद्भावसहितको नेपालले मात्रै सुन्दर भविष्यको गोरेटो कोर्न सक्छ । यी सबैलाई एकताको सूत्रमा बाँधेर हिँड्ने सोचसहित लेखिएको इतिहासमात्रै दिगो हुन्छ । अन्यथा भएका उपलब्धि मेटेर योभन्दा धेरै राम्रो गर्न सकिन्छ भन्ने भ्रम पालेमा ‘भूइँको टिप्दा पोल्टाको गुम्ने’ अवस्था आउन सक्छ । नेपालको विविधता कमजोरी होइन, यो शक्ति हो । यही विविधताले नेपाललाई विशेष बनाएको छ । संविधान, संघीयता र समावेशी व्यवस्थाले त्यही विविधतालाई संस्थागत गर्ने अठोट बोकेको छ । त्यसलाई गोडमेल गर्दै समुन्नत नेपाल निर्माण गर्ने प्रशस्त ठाउँ छ । सबैलाई जोड्ने सोचसहितको आक्रोशले मात्रै वैधता पाउँछ । त्यस्तो सोचले इतिहास निर्माणको शक्ति आर्जन गर्छ । यसर्थ, सहमति र समन्वयको बाटोबाट युवा पुस्ताले देखेको नेपाल बनाउन हातेमालो गरौं ।