चौतारामा एक हुल उमेर छिप्पेका मानिसहरु गफ लडाउँदै थिए । गफ लडाउनेमध्ये एकले भन्यो, ‘अबचाहिँ केही हुन्छ !’ अर्कोले भन्यो, ‘केही हुन्न ।’अर्कोले थप्यो, ‘हेर्दै जाओ न के–के हुन्छ अब हुनुसम्म हुन्छ ।’यस्तै के हुन्छ के हुँदैन भन्नेहरुकै बोलवाला थियो । छेउमा भांग्रे काका उनीहरुका कुरा सुनेर बसिरहेका थिए । उनीहरुको कुराले दिक्क भएर होला काकाले भने, ‘तोरीलाहुरेहरु ! के हुन्छ, के हुँदैन भनेर बसिरहेका छन् । कामसाम छैन, यो हुन्छ र त्यो हुन्छ भन्छन् । त्यसै तिमीहरूलाई झोले भन्या हो र ?’
‘काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै देखेनौं नाइकेहरुको दरबारमा तरबार ! सबका सब खरानी । अप्ठेरो पर्दा त कोही पनि पुगेनौं त ? सबैको भागाभाग । अहिलेचाहिँ यो र त्यो, कति जानेको हो तिमीहरुले ?’एउटाले भन्यो, ‘अब त्यस्तो आगोको भुंग्रामा को जान्छ त ? त्यस्तो नाइके जोगाउन थाल्यो भने आफैं गइन्छ काका । त्यही भएर जता हावा लाग्छ उतै हो । बेकारमा टाउको दुखाउनुपर्यो र ?’
‘तिमीहरु त ‘दही चिउरे’ रै’छौ । आफ्नो नाइकेलाई अप्ठेरो परेपछि सहयोग गर्नु पर्दैन ? गास छाड, साथ नछाड भन्ने कहिल्यै सुनेनौ ?,’ भांग्रे काकाले भने ।अर्कोले जवाफ फर्कायो, ‘त्यस्तो दिन गए काका, हामीलाई पनि त छाड्नु भएन नि । हामीलाई त प्रयोगमात्र गर्ने त हो । त्यही भएर आको झ्याप पार्दिने हो ।’ सान्त्वना दिने शैलीमा भांग्रे काकाले भने, ‘विचरा ! त्यो देउवालाई यो उमेरमा आएर टाउको फुटाए । त्यो सान त्यो मान, हैट ! सम्झिँदा पनि जीउ सिरिङ !’
‘त्यस्तो हुन्छ काका, यो त सुरुआतमात्र हो,’ समूहको अर्को भन्यो । ल तपाईं भन्नुस् त, ‘३० वर्षसम्म सत्ताको पेरिफेरि बसेर के चाहिँ गरे ? उनीहरुको सन्तान, नाता, आसेपासेबाहेक अरुले के पाए ? हामी भनेको त बेला मौकामा भ्याइदिने हो ?’‘त्यो त तिमीहरुले भन्दा मैले नै भोगेको हुँला नि ?,’ भांग्रे काकाले थपे, ‘१७ सालदेखि मैले हेरिराको छु । सब आ–आफ्नो दुनो सोझ्याउने हुन् । हेर्दै जाओ न अब पनि हुनेवाला केही छैन । विचरा मर्ने त मरेर गए गए । तिनीहरुकै नाममा उही कुर्सी खोसाखोस हो । मलाई यो चाहियो र त्यो चाहियो भन्ने हुन !’
‘होइन हो काका ल भन्नुस् यो भाकोचाहिँ के हो ? यस्तो पनि हुन्छ एकैपटक सबै सखाप ?’‘हुन्छ । सेटिङ भएपछि एकैपटक हुन्छ । यो सब ‘आफू ताक्छ मुडो बञ्चरो ताक्छ घुँडो’ भनेजस्तै हो । जे गर्न खोजेको त्यसको ठ्याक्कै उल्टो भयो कि भएन । मौका पाएपछि कसैले छाड्दो रैछ त ? कसका घर बाँकी रहे ? कसैले जोगाउन सक्यो । रिसको झोकमा के जे पनि हुन सक्छ भनेको यही हो ?’ ‘अझै के–के हुन बाँकी नै छ,’ भांग्रे काकाले उनीहरुलाई भन्दै गए ।
होइन हो काका त्यसो भए चुनाउ हुन्छ कि हुँदैन हो ? चुनाव भैदिए त हाम्रा लागि राम्रै हुन्थ्यो क्यार, दुई–चार दिनको गर्जो हुन्थ्यो नि !,’ अर्कोले जिज्ञासा राख्यो ।‘कसरी हुन्छ ? कसले गर्छ ? अब मन्त्री बनाउनलाई छ चोक–चोकमा बसेर, सडकमा कराउँदा त अहिलेसम्म भने जस्तो, गतिलो मान्छे पाको छैन । यस्तो नि हुन्छ परिवर्तन । त्यत्रा मान्छे मरेको, त्यत्रा सम्पत्ति खरानी भएको यसकै लागि हो र ? मेरो त मनले मानेको छैन है बाबु हो । त्यही उमेर खुस्केका र बुद्धि भड्केकाहरुलाई मन्त्री बनाउन हो र ?’टाउको कन्याउँदै केही बुझेजस्तै गरी अर्को भन्यो, ‘हो काका, म पनि तीनछक्क परेको छु भन्या ! हामीले पनि त रिस उठेको नाइकेको घरमा आगो झोसेकै हो । यत्रा घर खरानी त्यसै भाको हो र ? सबै रिसै रिसको झोकमा त हो नि ।’
‘हो, मैले भनेको पनि त्यही हो । रिस खा आफू बुद्धि खा अर्को ! ज्यान फाल्ने एउटा पद पाउने अर्को ? यसो मोबाइलमा हेर्यो । सबका सब मन्त्री । सडकमा मन्त्री, चौतारामा मन्त्री । अस्पतालमा मन्त्री ! होटलमा मन्त्री ! जहाँ पनि जो पनि मन्त्री ? विचरा, केटाहरुले त्यसकै लागि ज्यान फालेका हुन् ? ज्यान फाल्नेका परिवारलाई कस्तो भाको होला ? अस्पतालाँ बसेर गोली अझै पनि निकाल्न बाँकी भाकाको मनमा के आइरहेको होला ? सडक बसेर मन्त्रीको माग फाराम भर्न हो र ?’
‘तपाईं मन्त्री बन्दिनुपर्यो । उहाँलाई मन्त्री बनाइदिनुपर्यो । यो त उहाँसँग नजिकको मान्छे, उहाँ उचित मान्छे । उहाँ फलानो एम्बेसीको मान्छे, उहाँ फलानो डोनरको संस्थाको मान्छे । खास मन्त्री बन्नका लागि चाहिनेचाहिँ के हो त ? फुटबल खेल्न त नियम चाहिन्छ । देशमा मन्त्री बन्न केही नचाहिने ? योगदान हुनै नपर्ने ? धन्न छ मेरो देश !,’ भांग्रे काका आफैं चिन्तामा परे, ‘म पनि त यो देशको मन्त्री बन्न लायक हो नि ? म चाहिँ किन नहुने उनीहरुचाहिँ किन हुने ?’
‘हो काका । तपाईंले भन्नुभएको कुरा ठीक हो । अन्तरिम मन्त्रिपरिषद् अन्तरिम नै मन्त्री खसोखास भन्ने हो भने यो सहिदहरुमाथिको अन्याय नै हो । बालाई फालेर आमा ल्याउने आन्दोलन थियो र ? दाइलाई फालेर भाइलाई सत्ता सुम्पनका लागि जेन–जी आन्दोलन हो र ?,’ अर्कोले गुनासो गर्यो । ‘हो, मैले भनेको नै त्यही हो । घरले जाऽजा, वनले आऽआऽ भन्ने उमेरका अल्जाइमर भाका मान्छेलाई देश सुम्पेर कसरी अवस्था परिवर्तन हुन्छ ? जे भइरहेको छ गलत भइरहेको छ । सब चलेका होइनन् । चलाइएका हुन् । यो वा त्यो नाममा त्यसैले मन्त्री बन्ने धोको छ भने चोकमा गएर बसे हुन्छ सामाजिक सञ्जालमा प्रचार गरे हुन्छ । सके नाम चलेकालाई भनेर प्रचार गर्न नै लगाए हुन्छ । आखिर देश बनाउने हो र मन्त्री बनाउने आन्दोलनमा पो परिणत भएछ हाम्रा नाति पुस्ताको आन्दोलन जय होस् । मर्ने र मार्ने दुवैको । नवरात्रमा दुर्गा माताले सबैको कल्याण गरुन् ।
जय नेपाल !!’