मुलुकका लागि महत्वपूर्ण पदक जितिसकेका कयौं खेलाडीहरु पनि अहिले विभिन्न देशमा गई कार्यरत छन् । यसरी अनुभवी खेलाडीहरु मुलुकबाहिर जाने क्रम बढदै गएमा भोलिको दिनमा नेपाली खेलकुद क्षेत्रलाई पनि समस्या पर्ने अवस्था देखिएको छ । विश्वजगतमा राष्ट्रको छवि बढाउने खेलाडीहरुलाई उचित प्रोत्साहन गरी नेपालमा खेलेर पनि बाँच्न सक्ने अवस्थाको सिर्जना गर्नका लागि सरकार तथा सम्बन्धित निकायको सक्रियता अपेक्षित मानिएको छ । खेलकुदलाई रोजगारमूलक व्यवसायको रुपमा स्थापित गर्न स्थानीय तहदेखि नै कार्यक्रम सञ्चालन गरी सबैको लागि खेलकुद भन्ने अभियानलाई अघि बढाउनुपर्ने आवश्यकता महसुस गरिएको छ ।
नेपालको संविधान २०७२ मा खेलकुदलाई राष्ट्रिय एकताको माध्यम र अन्तर्राष्ट्रिय सम्मान अभिवृद्धिको आधार बनाउने व्यवस्था गरिएको छ । मुलुकमा गणतन्त्रको बहाली भएपछि जारी भएको संविधानको भाग ४ को दफा ५१ मा सामाजिक न्याय र समावशीकरणसम्बन्धी नीतिमा खेलसम्बन्धी व्यवस्था गरिएको हो ।
मुलुकमा स्वस्थ र अनुशासित नागरिक सृजना गर्नका लागि खेलकुद महत्वपूर्ण माध्यम मान्न सकिन्छ । राष्ट्रिय एकता प्रवर्द्धनका लागि खेलकुदले यथोचित् भूमिका खेल्ने गर्दछ । नेपालमा गणतान्त्रिक राजनीतिक व्यवस्था लागू भइसकेपछि नेपाली खेलकुद क्षेत्रलाई समयसापेक्ष अघि बढाउने प्रयास भएका छन् भने नेपाली खेलकुद क्षेत्रका सांगठनिक ढाँचामा पनि सापेक्ष सुधार गरिएका छन् ।
सातै प्रदेशमा खेलकुद परिषद्
विगतमा केन्द्रमा रहेको राष्ट्रिय खेलकुद परिषद्लाई नेपालमा गणतन्त्र लागू भएपछि प्रदेशस्तरमासमेत व्यवस्था गरिएको छ । सातै प्रदेशमा रहेका प्रदेश खेलकुद परिषद्ले आफ्नो प्रदेशमा खेलकुद क्षेत्रको समग्र विकासका लागि कार्य गर्दै आइरहेका छन् । विगत १० वर्षमा विभिन्न प्रदेशमा स्थानीय, जिल्ला, प्रदेशका साथै राष्ट्रिय र कुनै प्रदेशमा त अन्तर्राष्ट्रियस्तरका प्रतियोगितासमेत आयोजना भएका छन् ।
यस्तै खेलकुद पूर्वाधार निर्माणका सन्दर्भमा पनि विभिन्न प्रदेशमा केही उल्लेखनीय कार्य भएका छन् । सातै प्रदेशमा युवा तथा खेलकुद मन्त्रालयको व्यवस्था भएको हुनाले प्रदेशमा खेलकुदका गतिविधिका लागि आवश्यक योजना तर्जुमा तथा बजेट विनियोजनका लागि सहज भएको छ । प्रत्येक प्रदेशअन्तर्गत जिल्लास्तरमा जिल्ला खेलकुद विकास समितिको व्यवस्था गरिएको छ । प्रदेशस्तरमा खेलकुद परिषद् विस्तार गरिएपछि खेलकुद गतिविधिमा विस्तार भएका भई स्थानीय प्रतिभाशाली खेलाडीको सहभागिता बढ्दै गएको छ ।
भौतिक उपलब्धि
नेपालमा १० वर्षको अवधिमा खेलकुद क्षेत्रमा विभिन्न भौतिक पूर्वाधारको निर्माण भएका छन् । पछिल्लोपटक काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट रंगशालाको स्तरोन्नतिले मैदानस्तरीय हुनुका साथै दर्शकको सिट क्षमता बढ्ने तथा राति पनि फ्लडलाइटको प्रकाशमा क्रिकेट प्रतियोगिता हुनसक्ने भएको छ । मूलपानीमा बनेको क्रिकेट मैदानमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितासमेत आयोजना भइसकेको छ । राजधानीबाहिर पोखरा, विराटनगरलगायत स्थानमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना भएका छन् । बहुप्रतिक्षित १०औं राष्ट्रिय खेलकुद आयोजनाका लागि कर्णाली प्रदेशका विभिन्न जिल्लामा रंगशाला तथा कभर्डहलको मर्मतसम्भार गरी तयारी अवस्थामा राखिएको छ ।
यसबाहेक अन्य विभिन्न स्थानमा फुटबल, क्रिकेटलगायतका खेलका लागि रंगशाला तथा कभर्डहल निर्माण तथा मर्मतसम्भारका लागि सरकारले लगानी गरेको छ । तर सरकारको वार्षिक बजेटमा खेलकुदको भौतिक क्षेत्रका लागि लगानी यथोचित् मात्रामा हुन सकेको छैन । नेपालका पुराना रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन आवश्यक पहल हुनु जरुरी देखिएको छ । सातै प्रदेशमा प्रादेशिक रंगशालाको अवधारणा पनि आजको आवश्यकता महसुस गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत मुलुकका विभिन्न रहेका हजारौं रोपनी जमिनको संरक्षणका लागि पनि खेलकुदका निकायको सक्रियता अपेक्षित मानिएको छ ।
२०० पदक
एउटै प्रतियोगितामा २०० भन्दा बढी पदक ! यो आश्चर्यजनक प्रसंग हो । नेपालले यो १० वर्षकै अवधिमा एकै प्रतियोगितामा प्रतिस्पर्धा गरेर कूल २०६ पदक जितेको थियो । सन् २०१९ मा काठमाडौं र पोखरामा आयोजित १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ वटा स्वर्णपदक जितेर पदक तालिकामा दोस्रो बन्न सफल भएको थियो । नेपालले ६० रजत तथा ९७ वटा कास्यपदक पनि जितेको थियो । नेपालले एउटै प्रतियोगितामा यसरी यति धेरै संख्यामा पदक यसअघि जितेको थिएन ।
नेपालले हालसम्म दक्षिण एसियाली खेलकुद प्रतियोगिता तीनपटक आयोजना गरिसकेको छ । सन् १९८४ मा नेपालबाटै सुरु भएको उक्त खेलकुद सन् १९९९ मा दोस्रोपटक आयोजना गरिएको थियो । सन् २०१९ मा काठमाडौं तथा पोखरामा आयोजित १३औं दक्षिण एसियाली खेलकुद नेपालको तेस्रो आयोजना थियो ।
ओलम्पिकको पहिलो पदक
नेपालको खेलकुद इतिहासमा सबैभन्दा महत्वपूर्ण पदक तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले जित्न सफल भएकी थिइन् । उनले पहिलोपटक पारा ओलम्पिकमा ऐतिहासिक कास्यपदक प्राप्त गरी सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएकी थिइन् । फ्रान्सको राजधानी पेरिसमा सन्् २०२४ मा सम्पन्न पारा ओलम्पिकमा पलेशाले मुलुकका लागि उक्त महत्वपूर्ण पदक जितेकी थिइन् ।
सन् १९६४ देखि नेपालले ओलम्पिकमा सहभागिता जनाउँदै आएको भएता पनि हालसम्म कुनै पदक प्राप्त भएको थिएन । सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा भएको ओलम्पिकमा नेपालका तर्फबाट तेक्वान्दो खेलाडी विधान लामाले कास्यपदक जिते तापनि त्यतिखेर उक्त खेल प्रदर्शन खेलका रुपमा समावेश गरिएकाले नेपाल पदक तालिकामा अंकित हुनबाट बञ्चित हुन पुगेको थियो । तर नेपालको ओलम्पिकमा छ दशकको सहभागिता तथा पारा ओलम्पिकमा दुई दशकको यात्रापछि पेरिसमा पदक जितेर पलेशाले नेपालमा सरकारद्वारा व्यवस्था गरिएको ६५ लाख रुपैयाँको पुरस्कारसमेत पहिलोपटक प्राप्त गर्न सफल भएकी थिइन् । यसअघि चीनको होङझावमा सन् २०२२ भएको चौथो एसियाली पारा खेलकुदमा पनि पलेशाले कास्यपदक जितेकी थिइन् ।
करातेको कमाल
नेपालकी कराते खेलाडी एरिका गुरुङले चीनको होङझावमा भएको १९औं एसियाली खेलकुदमा जितेको रजत पदक गणतान्त्रिक नेपालको उपलब्धि बन्न पुगेको थियो । उक्त पदक नेपालले एसियाली खेलकुदको करातेमा जितेको पहिलो रजत पदक थियो । यसअघि सन् १९९८ मा थाइल्याण्डको राजधानी बैंककमा नेपाली तेक्वान्दो खेलाडी सविता राजभण्डारीले एसियाली खेलकुदमा पहिलो रजत पदक जितेकी थिइन् । एरिकाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि मुलुकका लागि विभिन्न पदक दिलाएर गौरवान्वित बनाउँदै आएकी छन् ।
कराते, तेक्वान्दो, उसुलगायतका मार्सल आर्टलगायत अन्य विभिन्न खेलमा प्राप्त भएका अन्तर्राष्ट्रिय पदक पनि उपलब्धिमूलक मानिएको छ । होङझाव एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले जितेको पहिलो कास्य पदक पनि ठूलै उपलब्धि मान्न सकिन्छ । नेपालले भारतको नयाँदिल्लीमा आयोजित खोखो खेलको विश्वकपको महिला तथा पुरुष दुवै इभेन्टस्मा उपविजेताको उपाधि उचालेर कीर्तिमान कायम गरेको थियो ।
क्रिकेटको करामत
मुलुकमा गणतन्त्रको आगमनपछि नेपालले क्रिकेट खेलमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै आइरहेको छ । नेपाललाई छोटै समयमा विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरुले प्रशंसनीय योगदान गरेका छन् । १० वर्षको उपलब्धिको चर्चा गर्दा नेपालको पुरुष टिमले सन् २०१४ मा बंगलादेशमा आइसिसी विश्व टि ट्वान्टी क्रिकेटमा पहिलोपटक सहभागिता जनाएको थियो भने त्यसपछि नेपाली क्रिकेट खेलाडीहरुले अन्य विभिन्न महत्वपूर्ण प्रतियोगिताहरु खेलेर मुलुकको उपस्थिति बलियो बनाउँदै आएका छन् । नेपालले सन् २०१८ मा आइसिसी वल्डकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेर ओडिआईको मान्यता पाएको थियो ।
नेपाली टिमले सन् २०२३ जिम्बाबेमा भएको आइसिसी विश्वकप क्वालिफायर्समा आफ्नो सशक्त उपस्थिति देखाएको थियो । एसियास्तरको उपलब्धि नियाल्दा नेपालले सन् २०२३ को एसिया कपमा पहिलोपटक छनोट भएर भारत र पाकिस्तानजस्ता टेस्ट म्याच खेल्ने राष्ट्रसँग खेलेर इतिहास रचेको थियो । नेपालले आइसिसी क्रिकेट विश्वकप लिग दुईमा उत्कृष्ट प्रदर्शन गरेर ओडिआई दर्जा सुरक्षित गर्न सफल भएको थियो । नेपाली क्रिकेट टिम अहिले दक्षिण एसियाको उदाउँदो टिम मानिएको छ । सन्् २०२४ मा टी–ट्वान्टी विश्वकप खेलेको नेपाल अब सन्् २०२६ मा तेस्रोपटक विश्वकपमा प्रतिस्पर्धा गर्न यही अक्टोबरमा हुने छनोटका लागि प्रतिस्पर्धा गर्दै छ ।
महिला टिमको सफलता
नेपाली महिला क्रिकेट टिमले पहिलोपटक ट्वान्टी–ट्वान्टी विश्वकप छनोटमा स्थान बनाउनु पनि मुलुकका लागि ठूलो उपलब्धि हो । नेपालले थाइल्याण्डको राजधानी बैंककमा एसियाको क्षेत्रीय छनोटअन्तर्गत सुपर थ्रीमा नेपालले यो महत्वपूर्ण अवसर हासिल गरेको थियो । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मुलुकलाई विभिन्न पटक सफलता दिलाउँदै आइरहेको छ । एसिसी प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्न सफल नेपाली महिला टिमले दक्षिण एसियाली खेलकुदअन्तर्गत सन् २०१९ मा रजत पदक पाएको थियो । नेपाल महिला टिमले टि–ट्वान्टी विश्वकप छनोटमा सहभागिता जनाउँदै आइरहेको छ ।
फुटबलको गोल
नेपालले १० वर्षको अवधिमा फुटबल खेलमा पनि केही महत्वपूर्ण सफलता हासिल गरेको थियो । सन् २०१५ मा साफ यु नाइन्टिन च्याम्पियनसीप, बंगबन्धुकप, एएफसी सोलिड्यारिटीकप, सन् २०१६ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक हासिल गरेको थियो । सन् २०१९ को एएफसी एसियाकप छनोटमा नेपालले फिलिपिन्स र यमनसँग बराबरीको खेल खेलेको थियो । सन् २०२१ को साफ च्यापियनसीपमा नेपाल दोस्रो भएको थियो । सन् २०२२ को फिफा विश्वकप छनोट प्रतिस्पर्धामा नेपालले चाइनिज ताइपेईलाई शून्यकाविरुद्ध दुई गोलले पराजित गरेको थियो ।
सन् २०२३ मा नेपालले सन् २०२६ को फिफा विश्वकप छनोटको पहिलो चरणमा लाओसविरुद्ध पहिलो खेल बराबरीमा रोक्नु तथा दोस्रो खेलमा शून्यकाविरुद्ध एक गोलले पराजित गर्नु नेपाली फुटबलको सफलता मान्न सकिन्छ । महिला फुटबलतर्फ नेपालले उल्लेखनीय प्रगति गर्दै गएको देखिएको छ । साफ महिला च्याम्पियनसीपमा नेपाल सातपटक उपविजेता भइसकेको छ । नेपाल लगातार सेमिफाइनलमा प्रवेश गरे पनि उपाधि जित्न भने असफल हुँदै आएको छ । नेपाली महिला टिम दक्षिण एसियाली खेलकुदमा तीन पटक रजत पदक विजेता बनेको छ ।
राष्ट्रिय खेल भलिबल
नेपालमा गणतन्त्र आएपछि खेलकुदमा भएका उपलब्धिमध्ये राष्ट्रिय खेलको घोषणा हुनु पनि हो । विगतमा कुन खेल राष्ट्रिय खेल हो भनेर अन्योल परिरहेको अवस्थामा नेपालको जुनसुकै भूभागमा पनि खेल्न सकिने भलिबललाई २०७४ सालमा राष्ट्रिय खेल घोषणा गरिएपछि यो खेलमा विभिन्न सफलता प्राप्त भइरहेका छन् । नेपालका पुरुष तथा महिला खेलाडीहरुले भलिबलमा प्रशंसनीय खेल प्रदर्शन गर्दै आइरहेका छन् । नेपालमा विदेशबाटसमेत भलिबल खेलाडी आएर व्यावसायिक खेल खेल्नु सानो उपलब्धि होइन । नेपाली महिला भलिबल टिमले दक्षिण एसियाली खेलकुदमा दुईपटक रजत तथा तीनपटक कास्य पदक जितिसकेको छ ।
विदेशी टिममा पनि नेपाली
नेपालका विभिन्न क्रिकेट खेलाडी व्यावसायिकरुपमा विदेशका टिममा आबद्ध भएर खेल्नुलाई पनि मुलुकको खेलकुदको उपलब्धि मान्न सकिन्छ । क्रिकेटर सन्दिप लामिछाने भारतमा इण्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन्दिपले विश्वका विभिन्न फ्रेञ्चाइज लिग खेल्ने मौका पाए । सोमपाल कामी, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी जस्ता खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय टिमका तर्फबाट खेलेर आफ्नो खेल कौशल देखाएका थिए ।
यसपालि एक्कै याममा थुप्रै नेपाली फुटबल खेलाडी बंगलादेशमा व्यावसायिक खेलाडीका रुपमा खेल्दै छन् । नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ बंगलादेशको पुलिस टिममा अनुबन्धित छन् । सोही क्लबमा नेपालमा आयुष घलान पनि आबद्ध भएका छन् । यस्तै अन्य छ नेपाली खेलाडीलाई पनि बंगलादेशमा अनुबन्धित गरिएको छ । नेपाली फुटबल खेलाडी रोहित चन्द इण्डोनेसियाको लिगमा पेरिसा जकार्ता फुटबल क्लबका तर्फबाट लामो अवधिसम्म चर्चित भएका थिए ।
नेपाली महिला फुटबलर सावित्रा भण्डारी साम्बा फ्रान्सको व्यावसायिक यात्रापछि हाल न्युजिल्याण्डको वेलिङटनको फोनिक्स क्लबसँग आबद्ध भएकी छन् । अञ्जिला तुम्बापो सुब्बा, प्रीति राई, रेखा पौडेललगायतका खेलाडीको विदेशी क्लबको अनुभव मुलुकको टिमका लागि अनुभव हासिल गर्ने राम्रो अवसर भएको महसुस गरिएको छ ।
अन्त्यमा
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत हाल सयौं खेल संघ भएता पनि कयौं संघ निस्क्रिय अवस्थामा रहेका छन् । यस्तो अवस्थामा नेपालको खेलकुदको महŒवपूर्ण हिस्सा विभागीय टिमहरुले धानिरहेका छन् । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले राम्रा खेलाडीहरुलाई रोजगारीको अवसर दिएर खेल्ने मौका प्रदान गरिरहेका छन् । तर नेपालमा खेलाडीहरुका लागि रोजगारका अन्य अवसर अत्यन्त सीमित रहेका छन् ।
नेपालभर रहेका स्कुलहरुमासमेत खेलकुद शिक्षक अनिवार्य गर्न सकिएको छैन । मुलुकबाट दिनहुँ हजारौं युवाहरु अध्ययन, रोजगारी तथा अन्य प्रयोजनका लागि विदेश गइरहेको सन्दर्भमा नेपालको खेलकुद क्षेत्रमा पनि अनुभवी खेलाडीहरुको कमी हुँदै गइरहेको महसुस गरिएको छ । मुलुकका लागि महत्वपूर्ण पदक जितिसकेका कयौं खेलाडीहरु पनि अहिले विभिन्न देशमा गई कार्यरत छन् । यसरी अनुभवी खेलाडीहरु मुलुकबाहिर जाने क्रम बढदै गएमा भोलिको दिनमा नेपाली खेलकुद क्षेत्रलाई पनि समस्या पर्ने अवस्था देखिएको छ । विश्वजगतमा राष्ट्रको छवि बढाउने खेलाडीहरुलाई उचित प्रोत्साहन गरी नेपालमा खेलेर पनि बाँच्न सक्ने अवस्थाको सिर्जना गर्नका लागि सरकार तथा सम्बन्धित निकायको सक्रियता अपेक्षित मानिएको छ ।
खेलकुदलाई रोजगारमूलक व्यवसायको रुपमा स्थापित गर्न स्थानीय तहदेखि नै कार्यक्रम सञ्चालन गरी सबैको लागि खेलकुद भन्ने अभियानलाई अघि बढाउनुपर्ने आवश्यकता महसुस गरिएको छ । विशेषगरी सरकारी तथा गैरसरकारी एवं निजी क्षेत्रबीच समन्वय, सहकार्य तथा साझेदारीको विकास गरी खेलकुदको विकास तथा विस्तार कार्यलाई जोड दिनुपर्ने देखिन्छ ।