पछिल्लो तीन दशक नेपाली राजनीति तीन शीर्ष नेताको वरपर घुमिरह्यो । पहिलो कांग्रेस सभापति शेरबहादुर देउवा, दोस्रो एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । २०५२ बाट सुरु भएको जनयुद्ध रोकिएसँगै सबैभन्दा पहिले शक्तिमा आएका व्यक्ति हुन् माओवादी अध्यक्ष दाहाल । संविधानसभाको निर्वाचनपछि सबैभन्दा शक्तिशाली बनेका दाहाल लगातार तीनपटक प्रधानमन्त्री बनिसके । २०७९ को निर्वाचनपछि उनी कांग्रेस र एमालेको काँधमा चढेर पटक-पटक प्रधानमन्त्री बने ।
राजतन्त्र छँदै कांग्रेसबाट विद्रोह गरी प्रधानमन्त्री बनेका देउवा सबैभन्दा पाका नेताका रुपमा चिनिन्छन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका कारण कमजोर बनेको कांग्रेसलाई देउवाले माओवादीसँग तालमेल गरी विघटित प्रतिनिधिसभामा पहिलो बनाउन सफल भए । उनी पाँचपटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । ओली यसरी नै चारपटक प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् । तीनै नेताले आफ्नो दल र शासनमा चरम शक्ति प्रयोग गरिसकेका छन् । उनीहरुले जनताबाट पाउनुपर्ने आदर पनि पाइसकेका छन् । यद्यपि, यही शक्तिको उन्मादमा पार्टीभित्रैका दोस्रो पुस्ताका नेताहरुले उनीहरुलाई विश्राम लिन आग्रह झक्झकाएकै हुन् ।
तर दोस्रो पुस्ताका नेताहरुको स्वर उनीहरुले सुन्नै चाहेनन् । अहिले यही स्वर जेन-जी पुस्ताले बुलन्द पारेका छन् । तीन नेताको ‘म्युजिकल चियर’ बनेको सत्ता खोस्ने प्रयास गरेका छन् । तीन नेताको रजगजका कारण संघीय लोकतान्त्रिक गणतन्त्रसमेत खतरामा पर्न थालेको छ । राजावादीहरु राजतन्त्रको पक्षमा उत्रिन सुरु गरेका छन् । अतिवादी धार्मिक अभियन्ताहरुको माग उस्तै छ । महँगी बढेका कारण देशको अर्थतन्त्र संकटमा फस्दै गएको छ । उत्पादन बढाउन सकेको छैन । युवाहरु रोजगारीका लागि विदेश जाने शिवाय देशमा आयातमात्र बढ्दो छ । यही युवाले भित्र्याउने रेमिट्यान्समा रमाएर बस्ने बानी पर्दा देशको हाल बेहाल भएको छ ।
यही कारण बेथिति मौलाएको छ । भ्रष्टाचार बढ्दो छ । नीतिगत भ्रष्टाचारदेखि चरम असन्तुष्टि फैलिएको छ । वैज्ञानिक विकासकै कारण संसारका अरु देशहरुले प्रगति गर्दा नेपाल गफको केन्द्र बनेको छ । यसको श्रेय पक्कै तीन नेतामा जान्छ नै । यसैले अहिले आक्रोश बढेको हो । अब शीर्ष दलका तीन शीर्ष नेताले यो कुरालाई मध्यनजर गर्दै विश्राम लिनु नै आजको पहिलो र उत्तम विकल्प हो ।