आँखाबाट आँसु सुक्न सकेको छैन । बलिन्द्र धारा बगिरहेको छ । एकैछिन् मुर्छा पर्ने अनि एकै छिनमा कराउने भइरहेको छ । पीडामा गाउँका अरु महिलाहरु पनि गहभरि आँसु पारेर उनलाई सम्झाउने प्रयास गरिरहेका छन् । जो सम्झाउन खोजिरहेका छन्, उनीहरु पनि कहाँ नभक्कानिएको हो र ! उनीहरुको मनले पनि मान्दै मानेको छैन । फलैंचामा सेताम्यै कपाल फुलेका हजुरबा घुँडामा चिउँडो पारेर एकोहोरो तुलसाको मठतिर हेरिरहेका छन् । हातको कुहिनोको भरमा मुठ्ठी बटारेर नशा फुलाउँदै अहिले नै पाएदेखि भकुर्नसम्म भकुर्न सक्थेजस्तो क्रोधका भावले हिउँजस्तो कपालले निधार छोपिएको छ ।
आँगनभरि गाउँका मानिसहरु जम्मा भएका छन् । उनकी आमाको त्यो भावविह्वल अवस्था अनि उसको त्यो बालापनलाई स्मरण गर्दै पूरै गाउँ शोकमा छ । कठैबरा ! त्यो कलिलो मुनालाई कसरी निमोठ्न सकेको होला ? ड्याङ–ड्याङ हान्न आँट पनि कसरी आएको होला ? त्यसले ती बच्चाहरुलाई गोली बर्साउन आफ्नो घरको बच्चाहरुलाई किन नसम्झिएको होला ? छिमेकीहरुबीच यस्तै यस्तै कुरा भइरहेको थियो । सबका आँखा रसाइरहेका थिए । फलैंचामा टुक्रुक्क बसेका हजुरबा ओर्लेर आँगनको डिलमा पुगे । दक्षिणतिर बगिरहेको नदीलाई हेरे । लामो सास फेरे अनि आँखाबाट बगेको आँसु अरुले देख्लान् कि भनेर हत्केला पुछे । अघिल्लो दिनसम्म निकै खुसी उत्साहले भरिएको त्यो घर एकै दिनमा शोकमा डुबिरहेको थियो । हजुरबाले आफ्नो आँखाबाट झरेका आँसु पुछे । हजुरबासँगै रहेका भतिजले हजुरबाको हात समातिरहेका थिए । हजुरबाको बोली बल्ल फुट्यो– ‘ऊ त गयो माया मारेर !’
उसले केही महिना अघिमात्र स्नातक सकेको थियो । अर्को महिना जापान जाने अन्तिम तयारीमा थियो । हजुरबालाई अर्को वर्ष जापान घुमाउने लैजाने वाचा पनि गरेको थियो । तर त्यो वाचा प्रहरीको एक गोलीले खरानी बनाइदियो । जेन-जी प्रदर्शनमा ऊ साथीहरुकै लहैलहैमा लागेर पुगेका थिए । केही हप्तादेखि नै विद्यार्थीहरुलाई प्रदर्शनमा भाग लिनका लागि सामाजिक सञ्जालमा अपिल गरिएको थियो । सकेसम्म विद्यालयको पोसाकमा नै शान्तिपूर्णरुपमा प्रदर्शन गर्ने योजना थियो । त्यसैले उसलाई पनि आफ्नो युवा पुस्ताले देश विकासका लागि आह्वान गरेको प्रदर्शनमा साथीभाइहरुले जाउँ भनेपछि नजान मनले कहाँ मान्थ्यो र ! ऊ पनि माइतीघर पुगे । आफूभन्दा ‘जुनिएर’ भाइबहिनीहरु विद्यालयकै पोसाकमा सहभागी भएका थिए । एक-दुई जनाले प्रदर्शनमा गर्न नहुने कार्यका बारेमा सचेत गराइरहेका थिए । गाडीमाथि बसेर उनीहरुले सबै सहभागी विद्यार्थीहरुलाई जथाभावी फोहोर नफाल्ने, कुनै पनि सार्वजनिक वस्तुहरुको तोडफोड नगर्ने, कसैलाई पनि अपशब्द बोल्न वा नारा लगाउन नपाइने नियम बताएका थिए ।

माइतीघरमा जेन-जी पुस्ताको यति ठूलो भीड लाग्यो, क्रमशः थपिँदै गइरहेको थियो । त्यो शान्त भीडले केही वर्षअघि गुठी विधेयकको विरोधमा काठमाडौंबासीले निकालेको प्रदर्शनको झझल्को दिएको थियो । सवै जेन-जी युवा पुस्ता सहभागी भई क्रमशः नयाँ बानेश्वरतर्फ लम्किरहेका थिए । ठाउँ-ठाउँमा को-को भीडमा पस्यो पत्तो पाएनन् । ‘भ्रष्टाचार अन्त्य गर’ भन्ने नाराका बीचमा राजनीतिक नारा घन्किन थाल्यो । युवा पुस्ता त हुन्-‘...चोर देश छोड’ लगायतका नारा लगाउँदै अगाडि बढे । त्यो जुलुसले निषेधित क्षेत्रमा आफ्नो चर्को नारा धन्कायो । निषेधित क्षेत्रमा रहेका सुरक्षाकर्मीसँग धकेलाधकेल पनि भयो । प्रहरीले पानीको फोहोरा हानेको जस्तो पनि नगरेको होइन । त्यही पानीको फोहोरासँगै भीड उत्तेजित हुँदै गयो । प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल हुँदै भीडले निधेषित क्षेत्र तोड्यो । बानेश्वरको निषेधित क्षेत्र तोड्दै भीड संसद् भवनतिर जुर्मुरायो । माइतीघरमा हुँदा सभ्य रहेको जेन-जी युवा पुस्ताको प्रदर्शनभित्र को-को सहभागी भए, पत्तै भएन । भीडले संसद् भवन प्रवेश गर्ने प्रयास गर्यो । जेन-जीको प्रदर्शनको फाइदा उठाउँदै केही व्यक्तिले आफूलाई ल्याएको विभिन्न किसिमका साधनले संसद्को पर्खाल भत्काउन सुरु गरे ।
संसद् भवनको वरपर भीड यति धेरै बढ्यो कि सायद संसद् भवनको सुरक्षामा खटिएकाहरुले सम्हाल्नै सकेनन् । त्यो स्थिति पनि थिएन । त्यही भएर होला प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार भइनै रह्यो । त्यहाँ अश्रुग्यासमात्र प्रहार भएन । प्रदर्शनको केही समयमा नै सुरक्षाकर्मीहरुले अनियन्त्रितरुपमा गोली प्रहार गर्न थाले । भीड तितरवितर हुँदै फेरि जम्मा हुँदै प्रहरीको ज्यादतीविरुद्ध खनियो । ढुंगामुढा प्रहार रोक्न अश्रुग्यासले मात्र सम्भव भएन । प्रहरीबाट बर्बर रुपमा नै गोली प्रहार भयो । ताली बजाउँदै हिँडेका स्कुले विद्यार्थी प्रहरीको गोलीबाट त्यहीँ ढले । सँगैका अरुले भन्दै थिए- ‘लौन भाइलाई गोली लाग्यो अस्पताल पुर्याऊ’ । प्रदर्शनकारीहरुले गोली लागेको टाउँको समाउँदै कसैले हातमा कसैले खुट्टा समाएर अस्पताल पुर्याए । संसद् अगाडि एकजनालाई मात्र गोली लागेको थिएन । प्रहरीले आकाशको चरा ढालेजस्तै जेन-जी प्रदर्शनमा आएकाहरुलाई गोलीको निशाना बनाएर सडकमा ढालिसकेको थियो । दुई घण्टाकै अवधिमा करिब १९ जनालाई गोलीले सिध्याइसकेको थियो । सयौं प्रदर्शनकारी घाइते भइसकेका थिए । केही समयमा नै कफ्र्यु लागिसकेको थियो । प्रहरीले आकाशमा उडेको चरा ढालेजस्तै आफ्ना साथीभाइहरुलाई गोली हानेपछि युवा पुस्ता पछि हटेन । बरु चर्को प्रतिवाद सहित प्रहरी माथि खनिए । प्रहरी र प्रदर्शनकारबीच निकै लामो संघर्ष चल्यो । केही घण्टामा नै १९ जनाले ज्यान गुमाइसकेका घटना ‘एक कान, दुई कान, मैदान’ भयो । सरकारको तर्फबाट जेन-जी आन्दोलनमा भएको नरसंहार विश्वभर फैलियो । अँध्यारो हुँदै गयो । प्राकृतिकरुपमा मात्र अँध्यारो होइन एकै दिनमा १९ जनाको घरपरिवारमा बादल मडारियो । धेरैका काख रित्तिए ।
सरकारले दिउँसैदेखि अनिश्चित्कालीन कफ्र्यु लगाएपछि भोलिपल्ट युवाहरुले विद्रोह गरे । त्यसैले सत्ता ढाल्यो । संसद् भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत, शितलनिवास, बालुवाटारलगायत धेरै संरचनाहरु जले । ती भवनमात्र जलेनन् । त्यहाँभित्र रहेका इतिहासका साक्षी पनि जले । घर जले, मन जले धेरै कुरा जले । ‘ऊ त गयो, गयो माया मारेर’ । घर रित्तियो, आमाको काख रित्तियो, परिवारको सपना रित्तियो । अब हेरौं के पो भित्रिन्छ । सेतै फुलेका हजुरबाले भने, ‘मर्ने त मरेर गयो, त्यही मर्नेको नामबाट देश नमरोस् । आशा, विश्वास र भरोसा नमरोस् ।’